|

बैतडी : सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका स्थानीय तहका सात वडामा रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन सम्पन्न भएको छ।  मतपरिणाममा सात वडामध्ये पाँच वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) र दुई वडामा नेपाली कांग्रेस विजयी भएको छ। 

बैतडीको पुर्चौडी नगरपालिका–४, डोटीको आदर्श गाउँपालिका–२, अछामको मेल्लेख गाउँपालिका–५, बाजुराको त्रिवेणी नगरपालिका–१  र कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार भने दोगडाकेदार गाउँपालिका–४ र  सुर्नया गाउँपालिका–१ मा मात्रै विजयी भएका छन्।

पुर्चौडी नगरपालिका–४ को अध्यक्षमा नेकपाका शैलेन्द्र धानुक विजयी भएका छन्। कुल खसेको १ हजार ३३० मतमध्ये धानुकले ६६३ मत र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्दबहादुर धामीले ५५८ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर बोहराले ३५ मत प्राप्त गरेका छन्। ७५ मत बदर भएको छ।

डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका रामबहादुर बोहरा ६६८ ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका महादेव साउदले ६५६ मत प्राप्त गरेका छन्। त्यस्तै, राप्रपाका काशीराम ओझाले १५ र स्वतन्त्र उम्मेदवार भूमिसिंह खड्काले १९१ मत प्राप्त गरेका छन्। यस वडामा १ हजार ५९० मत खसेकोमा ६० मत बदर भएको छ।

अछामको मेल्लेख गाउँपालिका–५ मा नेकपाका रमेश खड्का ७७८ ल्याएर विजयी भएका छन्। कांग्रेसका वीरबहादुर बोहराले ५६३ मत प्राप्त गरेका छन्। कुल १ हजार ३५६ मत खसेकोमा १५ मत बदर भएको थियो।
  
बाजुराको त्रिवेणी नगरपालिका–१ मा नेकपाका मनराज बुढा ३६७ मतसहित विजयी भएका छन्। प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र चदाराले ३४७ मत प्राप्त गरेका छन्। यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका कृष्णबहादुर तामाङ ५२८ मत ल्याएर विजयी भएका छन्।  निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपबहादुर तामाङले ३१० मत प्राप्त गरेका छन्। यस्तै, समाजवादी पार्टी नेपालका भीम तामाङले ७५ मत प्राप्त गरेका छन्। कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो। जसमा चार मत बदर भएको छ।

कांग्रेसलाई बैतडीमा मात्र जित

सुदूरपश्चिमका सात वडामा भएको उपनिर्वाचनमा कांग्रेसले बैतडीका दुई वडामा मात्र जित हात पारेको छ। दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्।

दोगडाकेदार–४ मा सुरेन्द्रप्रसाद भट्टले ५८४ ल्याई विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपाका नरेन्द्रप्रसाद भट्टले ४८४ मत प्राप्त गरेका छन्। राप्रपा संयुक्तका देवसिंह खत्रीले ६ मत पाएका छन्। खसेको कुल १ हजार ९८ मतमध्ये २४ मत बदर भएको छ।

यस्तै,  सुर्नया गाँउपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द २१९ सहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत ल्याएका छन्। खसेको ४ ३८ मतमध्ये चार मत बदर भएको छ। 

सुदूरपश्चिममका पाँच जिल्लाका सात वडाअध्यक्ष पदको रिक्त पदका लागि २२ जना चुनावी मैदानमा रहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.