एकजना नर्स साथमै, ओलीले भने : म स्वस्थ भएँ

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा कति खर्च भयो होला? १० दिन लामो उपचारपछि प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएसँगै धेरैको मनमा उब्जिने प्रश्न हो। 

मिर्गौलाको समस्या भएपछि गत कात्तिकमा धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका प्रम ओली एपेन्डिसाइटिसको उपचारका लागि  महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। 

एपेन्डिक्स पाकेर एपेन्डिसाइटिस भएपछि गत मंसिर १० गते मंगलबार सेन्टरमा भर्ना भएका प्रधानमन्त्रीको उपचार खर्च पनि सार्वजनिक भएको छ। बिहीबार दिउँसो साढे ३ बजे प्रधानमन्त्री ओली डिस्चार्ज भएसँगै अस्पतालले उपचार खर्चबारे जानकारी दिएको हो।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले थाहाखबरलाई दिएको जानकारी अनुसार १० दिन लामो प्रधानमन्त्रीको उपचारका क्रममा २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको छ। सरकारी अस्पताल भएकाले प्रमको उपचारमा थोरै खर्च लागेको हो।

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अप्रेसन खर्च १५ हजार रुपैयाँ मात्रै रहेको मनमोहन सेन्टरले जानकारी दिएको छ। मंसिर १० गते मंगलबार अस्पताल भर्ना गरेर एपेन्डिसाइटिसको अपरेशन गरेपछि प्रम ओलीलाई दुई दिनसम्म भेन्टिलेटरमा राखिएको थियो। त्यसपछि प्रम ओलीलाई मनमहोन सेन्टरको पाँचौ तल्लास्थित आईसियुमा राखिएको थियो। 

नर्ससँगै पठाइयो 

प्रा.डा. श्रेष्ठका अनुसार प्रधानमन्त्रीलाई डिस्चार्ज गरेसँगै नियमित निगरानीका लागि  एकजना नर्स साथमै पठाइएको छ। 'एपेन्डिसाइटिसपछि उब्जिएको समस्या निदान भइसकेको छ। हामीले निगरानीका लागि एकजना नर्स पनि पठाएका छौँ', श्रेष्ठले भने, 'उहाँलाई आवश्यक परेका बेला फलोअप आउन सक्नुहुन्छ। केही परेमा हामी आफैँ बालुवाटार जान सक्छौँ।'

प्रा.डा. श्रेष्ठका अनुसार एपेन्डिसाइटिसपछि पेटको अपरेशनका क्रममा लगाइएको टाँका सबै खोलेर पठाइएको छ। 'एपेन्डिसाइटिसको समस्या सबै ठीक भइसकेको छ', श्रेष्ठले भने, 'हामीले टाँका खोलेर पठाएका छौँ। अहिलेलाई कुनै खालको समस्या छैन।'

ओलीले भने :  स्वस्थ भएँ

मनमोहन सेन्टरबाट बाहिरिने क्रममा प्रम ओलीले आफू ठीक भएको बताए। उनले उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद पनि दिए। 'अब म स्वस्थ भएँ', उनले भने, 'मेरो उपचारमा संलग्न सबैजना धन्यवादका पात्र हुनुहुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.