|

उदयपुर : जिल्लाको गाईघाट बजारस्थित सगरमाथा राजमार्ग अन्तर्गतको गाईघाट- दिक्तेल सडक खण्डमा कालोपत्रे गर्ने काम तीव्र गतिमा अगाडि बढेको छ। त्रियुगा नदीको पुलदेखि गाईघाट बजार मुख्य चोकसम्मको सडक कालोपत्रेको ८० प्रतिशत काम सम्पन्न भएको गाईघाट दिक्तेल सडक योजना शाखा प्रमुख पशुपति ज्ञवालीले थाहाखबरलाई जानकारी दिए।

ज्ञवालीका अनुसार गाईघाट बजारभित्र पर्ने ९४० मिटर लम्बाई र २५ मिटर चौडाई रहेको सडकको कालोपत्रे गर्ने काम  अन्तिम चरणमा पुगेको छ। संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बहुवर्षे योजनाअन्‍तर्गत १० करोड बजेटबाट सडक स्तरोन्नतिको काम सुरु भएको हो।

सूर्य कन्ट्रक्सनले २०७३ जेठमा ठेक्का लिएको सडक स्तरोन्नति तथा कालोपत्रेको काम सोही वर्षको कात्तिक महिनाबाट सुरु गरेको थियो। २ मिटर लम्बाइ २ मिटर उचाइसहित सडकको दुवै पट्टि नाली निर्माण गरिएको र २ मिटर ‘मिड स्ट्रिट’ सहितको सडक कालोपत्रेको काम द्रुत गतिमा भइरहेको सडक डिभिजन कार्यालय गाईघाटका सूचना अधिकारी निज्जन श्रेष्ठले बताए।

हाल सडकमा रोलिङ गर्ने काम भइरहेकाले मंसिर महिनाभित्र कालोपत्रेको काम सकिने डिभिजन कार्यालयले  जनाएको छ।  सडक समयमै कालोपत्रे हुन नसक्दा दैनिक बजार क्षेत्रमा आवतजावत गर्न सकस हुने गरेको त्रियुगा नगरपालिका ३ मोतिगडाका स्थानीय मनोन बुढाथोकीले बताए।

व्‍यवस्थित सडक, सवारीसाधनलाई सहज

गाईघाट बजार मुख्य चोकदेखि त्रियुगा नदीको पुलसम्मको सडक कालोपात्रेको काम तीव्रता पाएसँगै सवारीसाधनहरुलाई सहज भएको अटो चालक अमृत परियार बताए। सडक स्तरोन्नति भएसँगै सहज आवतजावत सहज हुने भएपछि स्थानीयवासीहरू हर्षित भएका छन्।

पूर्व(निर्धारित समयमा निर्माण कार्य सम्पन्न नहुँदा पानी पर्दा हिलो र घाम लाग्दा धुलोले असहज भएको  स्थानीय व्‍यापारी कुमार राईले गुनासो गरे। ठेकेदारले समयमै  काम नसकी बीचमै छोडेर भागेपछि सम्झौता १ वर्षका लागि थपिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.