घरभाडामै करोडौँ खर्च

|

गुल्मी : निर्वाचन भएको दुई वर्ष बितिसक्दा पनि गुल्मीका स्थानीय तहका कार्यालय भाडाकै भवनमा छन्। स्थानीय तहको करोडौँ रुपैयाँ खर्च घरभाडामै हुने गरेको छ।

जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन्। स्थानीय तहले घरभाडाबापत झण्डै डेढ करोड रुपैयाँ खर्च हुने गरेको छ। स्थापना भएदेखि ०७५ असार मसान्तसम्म यहाँका स्थानीय तहको कुल एक करोड ३७ लाख ५२ हजार १३५ रुपैयाँ घरभाडामै खर्च गरेको छ।

चन्द्रकोट गाउँपालिकाले हालसम्म घरभाडास्वरूप २२ लाख ६६ हजार ६ सय रुपैयाँ खर्च गरेको छ। यो रकम जिल्लाका सबै स्थानीय तहले बुझाउनेमध्येको सबैभन्दा धेरै हो। गाउँपालिकाको वडा नम्बर ६ समेत भाडामै संचालित छ। गाउँपालिकाको कार्यालय संचालनको लागि १६ कोठासहितको स्थानीय क्याम्पस भाडामा लिइएको छ भने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीसहितका केही कर्मचारी र गाउँपालिका उपाध्यक्ष राधिका अर्याल बस्ने कोठा पनि भाडामै लिइएको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०७३/७४ मा ६० हजार रुपैयाँ घरभाडामै बुझायो। त्यस्तै, आर्थिक वर्ष ०७४/७५ मा आठ लाख ९२ हजार रुपैयाँ र आव ०७५/७६ मा १३ लाख १४ हजार ६ सय रुपैयाँ भाडामा खर्च भएको लेखापाल बाबुराम भुसालले बताए।

मदाने गाउँपालिकाले ०७५ असार मसान्तसम्म कुल ६ लाख ४५ हजार रुपैयाँ घरभाडा बुझाएको छ। गाउँपालिकाका दुई वडासमेत भाडामै संचालित छन्। जसमध्ये आव ०७३/७४ मा तीन महिनाको ७५ हजार रुपैयाँ गाउँपालिकाको घरभाडा बुझाएको छ। ०७४/७५ मा मासिक २५ हजारका दरले तीन लाख रुपैयाँ र ०७५/७६ मा मासिक १५ हजारका दरले एक लाख ८० हजार रुपैयाँ घरभाडामा खर्च भएको सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए।

कालीगण्डकी गाउँपालिकाका वडा नम्बर ३, ४ र ७ का कार्यालय भाडामै संचालन भएका छन् भने गाउँपालिकाको कार्यालय पनि भाडामै संचालित छ। वडातर्फ आव ०७३/७४ मा एक लाख पाँच हजार रुपैयाँ घरभाडा बुझाएको पालिकाले आव ०७४/७५ मा दुई लाख ५२ हजार रुपैयाँ घरभाडा बापत रकम खर्च गरेको छ। त्यस्तै, आव ०७५/७६ मा दुई लाख ५२ हजार रुपैयाँ नै घरभाडा बुझाएको छ।

यता, गाउँपालिकाको भाडास्वरूप आव ०७३/७४ मा ४८ हजार रुपैयाँ बुझाएको थियो। त्यस्तै, आव ०७४/७५ मा एक लाख ४४ हजार रुपैयाँ र आव ७५/७६ मा पनि एक लाख ४४ हजार रुपैयाँ नै भाडाबापतको रकम खर्चिएको हो। गाउँपालिकाले ०७५ असार मसान्तसम्म वडा तथा गाउँपालिका कार्यालयको गरी कुल नौ लाख ४५ हजार रुपैयाँ बुझाएको गाउँपालिकाले जनाएको छ।

सत्यवती गाउँपालिकाले आव ०७३/७४ मा चार महिनाको घरभाडा तीन लाख १० हजार रुपैयाँ बुझाएको छ। आव ०७४/७५ मा सात लाख ९५ हजार र आव ०७५/७६ मा नौ लाख ४५ हजार रुपैयाँ बुझाएको सूचना अधिकारी नेत्रप्रसाद पाण्डेले जानकारी दिए। गाउँपालिका कार्यालय स्थापना भएदेखि ०७५ असार मसान्तसम्म कुल २० लाख ५० हजार रुपैयाँ घरभाडामै खर्च भएको पाण्डेले बताए।

छत्रकोट गाउँपालिकाका पनि गाउँपालिका कार्यालयसहित विषयगत सबै शाखा भाडाकै घरमा संचालित छन्। सबै विषयगत शाखासहित आव ०७४/७५ देखि मासिक ४८ हजार १ सय का दरले गाउँपालिकाले भाडा बुझाउँदै आएको छ। यसरी २४ महिनाको ११ लाख ५४ हजार चार सय रुपैयाँ घरभाडामै खर्च भएको सूचना अधिकारी विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए।

जिल्लाको रुरु गाउँपालिका-४ को स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्रलगायत अन्य विषयगत शाखाका कार्यालय पनि भाडामै संचालित छन्। गाउँपालिका कार्यालय वडामा संचालन गरिएको छ। यसभन्दा अगाडि संचालन गरिएको गाउँपालिका कार्यालयमा अहिले अध्यक्ष, उपाध्यक्षको कार्यकक्ष छन्। गाउँपालिकाले कुल १० लाख १० हजार ५३५ रुपैयाँ घरभाडामै खर्च गरेको स्वास्थ्य संयोजक छत्र अधिकारीले जानकारी दिए।

इस्मा गाउँपालिका गठन हुँदा सुरुमा इस्मा स्वास्थ्य चौकी भवनमा कार्यालय व्यवस्थापन गर्‍यो। त्यसपछि ०७४ असार १ गतेदेखि ०७५ मंसिर मसान्तसम्म प्रतिकोठा तीन हजारका दरले सात कोठाको मासिक २१ हजार रुपैयाँ बुझाउने गरी घर भाडामा लिएको सूचना अधिकारी नारायण महतले जानकारी दिए। ०७५ पुष १ गतेबाट तीन कोठा थप गरी भाडा बुझाउने सम्झौता भयो। जसअनुसार दुई आर्थिक वर्षमा कुल पाँच लाख ८८ हजार रुपैयाँ भाडामा खर्च भएको सूचना अधिकारी महतले बताए। 

मालिका गाउँपालिकाका वडा नम्बर ४ र ५ का कार्यालयसमेत भाडामै संचालित छन्। आव ०७३/७४ मा वडा कार्यालयको भाडास्वरूप २५ हजार र ०७४/७५ मा ७५ हजार रुपैयाँ खर्च भयो। आव ०७५/७६ मा ५ नम्बर वडा कार्यालयको मात्रै ३२ हजार तथा सोही आवमा गाउँपालिका कार्यालयको ८८ हजार रुपैयाँ भाडामा खर्च भयो। वडा तथा गाउँपालिकाको गरी मालिका गाउँपालिकामा दुई लाख २० हजार रुपैयाँ खर्च भएको सूचना अधिकारी जगत बहादुर पौडेलले जानकारी दिए। २०७६ वैशाख २५ गतेबाट गाउँपालिकाले बहुउद्देश्यीय सभाहलबाट कार्यालय संचालन गरेको पौडेलले बताए।

रेसुगां नगरपालिकाले सात वडासहित नगरपालिकाको भवनको घरभाडा बुझाउँदै आएको छ। भवन तथा वडासहितको ०७५ असार मसान्तसम्म कुल १४ लाख ५७ हजार ४० रुपैयाँ घरभाडा बुझाएको छ। नगरपालिका सुरुमा तम्घास बृहत खानेपानी आयोजनाको घर भाडामा लिएर बसेको थियो। त्यहाँ मासिक १४ हजार ६६५ का दरले १६ महिनाको कुल दुई लाख ३४ हजार  ६४० रुपैयाँ बुझाएको सूचना प्रविधि अधिकृत तपन पाण्डेले जानकारी दिए। पछि खानिगाउँको एक घरमा अहिले नगरपालिकाले मासिक ७६ हजार रुपैयाँ भाडा बुझाउछ।

एक वडासहित नगरपालिकाले हालसम्म घरभाडाबापत नौ लाख ९८ हजार ६४० रुपैयाँ खर्च भएको छ। योबाहेक नगरपालिकाका सात वडा भाडामा छन्। गत आर्थिक वर्षमा मात्रै नगरपालिकाका वडा कार्यालयको भाडा चार लाख ५८ हजार चार सय रुपैयाँ खर्च भएको छ। नगरपालिकाका सबै वडासहित हालसम्म कुल १४ लाख ५७ हजार ४० खर्च भएको सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए।

त्यस्तै, मुसिकोट नगरपालिकाले सात लाख ५० हजार र धुर्कोट गाउँपालिकाले सात लाख ८० हजार रुपैयाँ घरभाडामै खर्च गरेका छन्। जिल्लाका कुनै पनि स्थानीय तहले आफ्नै भवन बनाउन सकेका छैनन्। धुर्कोट गाउँपालिकाले तालिम केन्द्र भनेर बनाएको भवनमा अहिले गाउँपालिका कार्यालय संचालन गरेको छ। मदाने गाउँपालिका वडा कार्यालयमा बसेको छ भने मालिका गाउँपालिका बहुउद्देश्ययीय भवनबाट काम गरेको छ।

सबैभन्दा धेरै घरभाडा बुझाउने चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले आफूहरूले क्याम्पसलाई सहयोगस्वरूप रकम दिएको बताए। दुई महिनाभित्र जग्गाको टुंगो लगाउने र केन्द्रले रकम दिए भवन बनाउने खत्रीको भनाइ छ। रेसुङ्गा नगरपालिका केहि महिनापछि आफ्नै भवनमा जाँदै छ। अन्य स्थानीय तहको केन्द्र टुंगो लागे पनि जग्गाको पहिचान हुन नसक्दा भवन निर्माण कार्य सुरु हुन सकेको छैन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.