|

काठमाडौं  :दलित समुदायका अगुवाले नेपालको जनगणना २०७८ को प्रस्तावित ढाँचामा दलित समुदायको वास्तविक तथ्यांक नआउने भन्दै वास्तविक तथ्यांक संकलनको माग गरेका छन्। 

दलित गैरसरकारी संस्था महासंघ नेतृत्वको टोलीले शनिबार केन्द्रीय तथ्यांक विभागमा ज्ञापनपत्र बुझाउँदै दलित समुदायभित्र विभिन्न जातजाति रहेको र गणकलाई वास्तविक जात नभन्दा वा गणकले उचित समूहमा नराख्दा दलित समुदायको संख्या कम देखिएको दाबी गरेको छ।  

महासंघका कार्यवाहक अध्यक्ष भक्त विश्वकर्माले दलित समुदायको जनसंख्याको वास्तविक तथ्यांक आउँदा राज्यले उनीहरूको अधिकार संरक्षण र प्रवर्द्धनमा गर्नुपर्ने काममा विशेष सहयोग हुने भएकाले वास्तविक तथ्यांक संकलन गर्न आग्रह गरे।

दलित आन्दोलनका अगुवा हीरा विश्वकर्माले संविधानको धारा २४ ले छुवाछूतविरुद्धको हक, धारा ४० ले आर्थिक र सामाजिक हक तथा धारा २८१ ले मानव विकासको अवस्थाको पुनरावलोकन दलित र महिलाको गर्ने व्यवस्था गरेको ती कार्यान्वयनमा तथ्यांकको विशेष भूमिका रहने भन्दै आगामी दिनमा वास्तविक तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिए।

विभागले विसं २०७८ असारमा जनगणना गर्दैछ। सरकारले हरेक १० वर्षमा जनगणना गर्दै आएको छ। दलित समुदायको जनसंख्या कूल जनसंख्याको २० प्रतिशत भएको दाबी दलित समुदायको छ। तर २०६८ को जनगणनामा दलितको जनसङ्ख्या कूल जनसंख्याको १३.८ प्रतिशत मात्रै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.