कानुन छ कारबाही छैन

|

काठमाडौं : साँखुमा बस्दै आएका जीवनी तामाङ (नाम परिवर्तन) कामको खोजीमा भौतारिइरहेकी थिइन्। कामको सोधपुछ गर्दै गर्दा पाँच महिनाअघि उनलाई जब भ्याकेन्सीको पेपर हात पर्‍यो। चोकचोकमा बाँडिएका यस्ता पेपरमा १० हजारदेखि २० हजारसम्म तलब पाइने लेखिएको थियो। पेपरमा १०० प्रतिशत जब ग्यारेन्टीसमेत लेखिएको देखेर उनी झन् खुसीले गदगद भइन्।

६०० को फर्म भरायो काम दिएन

उक्त पेपर पाएपछि उनी चावहिल चुच्चेपाटीमा रहेको ग्लोबल जब सेन्टरमा पुगिन्। त्यही संस्थाको पेपर उनले पाएको थियो। त्यहाँ पुगेपछि अफिसको कर्मचारीले फर्म भर्न लगाए। पहिला कामको बारेमा राम्रोसँग बुझेर मात्रै भर्न खोज्दा अफिसका कर्मचारीले पहिला फर्म भरेर मात्रै बुझाउँछौ भनेपछि उनले ६०० रूपैयाँ तिरेर फर्म भरिन्।

‘फर्म भरिसकेपछि रिसिप्सनमा काम गर्न म राजी भएँ,’ उनले भनिन, ‘भोलिबाटै काम हुन्छ भनेर झुक्याए भोलिपल्ट जाँदा आज काम नमिल्ने भयो पछि फोन गर्छौं भन्दै फर्काए। पछि फोनै गरेनन् अनि पो थाहा ठगिएको थाहा पाएँ।’

अफिसले फोन नगरेपछि आफू ठगिएको चाल पाएर उनी फर्मको पैसा फिर्ता माग्‍न गइन् तर, अफिसले दिएन। तामाङले भनिन्,‘जब पेपरमा रिसिप्सन गर्नेको महिनाको तलबी १० हजार लेखिएको थियो। अफिसमा गएपछि दुई महिनासम्म दुई हजार तलब कट्टा गरी ८ हजार पाउने सहमति गरायो तै पनि काम दिएन।'

तालिम भन्दै ४ हजार ठग्‍यो

त्यस्तैगरी, सुशीला लामा (नाम परिवर्तन) ले एक वर्षपहिले आफू पनि चावहिलको गोपीकृष्ण हलनजिकै रहेको एक संस्थामा जब पेपरमार्फत जागिर खोज्ने क्रममा फसेको बताइन्। ‘जब पेपर पाएपछि मैले काम पाउने आशाले त्यहाँ गई सबै कागजपत्र बुझाएँ,’ उनले भनिन्, ‘विभिन्न तालिम गर्ने, फर्म भर्नेमा चार हजार पैसा तिरेँ। तर, काम नपाएकोले पैसा मात्रै खेर गयो।’

उनका अनुसार संस्थामा गइसकेपछि फर्म भरेर तालिम गर्न लगाउँछन्। तालिमको लागि उनीहरूले छुट्टै पैसा लिन्छन्।

सबै तालिम सकेपछि काम गर्ने बेलामा पछि फोन गर्छौं भन्‍दै बिदा गर्ने गरेको उनले दुखेसो सुनाइन्। आफूजस्तै काम खोज्दै हिँड्ने आम सर्वसाधारणहरूलाई कामबारे पहिल्‍यै बुझेर मात्रै त्यस्ता संस्थामा जान उनको सुझाब छ।

कानुन छ कारबाही छैन

अहिले पनि बौद्ध, चावहिल चोक,पुतलीसडक, बागबजार, नयाँ बानेश्‍वर, कोटेश्वरलगायत ठाउँमा विभिन्‍न संस्थाले पठाएको भन्दै पर्चा बाँडिरहेको भेटिन्छ। यसले दिनदिनै धेरै सर्वसाधारण फसिरहेका हुन्छन्। तर सम्बन्धित निकायले कुनै वास्ता गरेको पाइँदैन।

मुलुकी अपराध संहिता, २०७४ को उपदफा (१) मा कसैले ठगी गर्न वा गराउन नहुने उल्लेख छ। उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सोबमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिएमा निजले ठगी गरेको मानिने उल्लेख छ। 

अपराधसंहिता उपदफा ३ को (क) मा भनिएको छ, ‘भ्रष्टाचार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना, (ख) मा आफनो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठगी गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना, (ग) खण्ड (क) वा (ख) मा लेखिएदेखिबाहेक अन्य कुनै किसिमले ठगी गरेमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना  हुनेछ।’

त्यस्तैगरी बालबालिका, ठेगानमा नरहेको व्यक्ति, असहाय, निरक्षर वा ७५ वर्ष माथिको व्यक्तिलाई ठगी गरेकोमा उपदफा (३) मा लेखिएको सजायमा थप एक वर्षसम्म कैद सजाय हुने उल्लेख छ।

जति पर्चा बाँड्यो त्यति धेरै पैसा

संस्थाहरूले चोकचोकमा जति धेरै पर्चा बाड्यो त्यति नै धेरै पैसा कामदारलाई दिने गरेको पाइएको छ। चावहिल चोकमा पर्चा बाँड्दै गरेकी एक महिलाले पर्चा बाँडेको आधारमा पैसा पाउने गरेको बताइन्। ‘पर्चा बाँड्दा महिनामा ८ हजार दिने गर्छन्,’ उनले भनिन्,‘दिनमा धेरै पर्चा बाँड्दै गयो भने १० हजार रुपैयाँसम्म पैसा पाउँछौँ।’

'जब भ्याकेन्सीको नाममा सर्वसाधारणलाई किन फसाउनुहुन्छ तपाईंहरू?' भन्ने थाहा खबरको प्रश्‍नमा उनले यसबाट कोही नफसेको दाबी गरिन्। उनले भनिन्, ‘यो पेपरअनुसार जब अप्लाई गर्दा कोही फस्दैनन्। तपाईंले पनि अफिसमा जाँदा १०० प्रतिशत कामको ग्यारेन्टी हुन्छ।'

उजुरी आए कारबाही गर्छौं : डिएसपी बोगटी

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले प्रहरी कार्यालयमा जब भ्याकेन्सीबाट ठगिने व्यक्तिबाट निवेदन नआउने गरेको बताए।

‘जब पर्चाबाट ठगिनेहरूले हामीकहाँ उजुरी गर्ने गरेका छैनन्,’उनले भने,‘शुक्रबार एक जनाले निवेदन गरेको थियो। हामीले त्यो संस्थालाई ठगी गरेको आरोपमा कारबाही गरिसकेका छौँ।’

उजुरी गरेपछि मात्रै प्रहरीले उनीहरूलाई कारबाही गर्न मिल्‍ने डिएसपी बोगटीको भनाइ छ। उनले जब भ्याकेन्सी पेपरबाट जोसुकै फसे पनि प्रहरी कार्यालयमा उजुरी हालेमा ठगी सम्बन्धीमा कारबाही गरिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.