|

बर्दिया : बर्दियाका सामुदायिक विद्यालयमा पढाउने शिक्षकले शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा आयोजित कार्यक्रमका सहभागी शिक्षकले शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन्। शिक्षालाई प्रविधिसँग जोड्नका लागि बर्दियामा प्रविधिमैत्री शिक्षक समाजको गठन समेत गरिएको छ।

बर्दिया समग्र जिल्लाको प्रतिनिधित्व हुने गरी १५ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको जनाइएको छ। शैक्षिक क्षेत्रमा भएको लगानीलाई समय सापेक्ष बनाउनका लागि शिक्षालाई प्रविधिसँग जोड्न आवश्यक देखिएको छ।

विद्यालय तहमा प्रशासनिक कार्य, लेखा व्यवस्थापन, विषयगत शिक्षण सिकाई, विद्यार्थी मूल्यांकन तथा आवश्यक आधुनिक सूचना प्रविधिका बिभिन्न सामग्रीको निर्माण तथा प्रयोगमा प्रविधिमैत्री शिक्षक समाजले सहयोग गर्ने जनाइएको छ।

 यस्तै शिक्षामा सुचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित संघ-संस्था तथा नेपाल सरकारसँग आवश्यक समन्वय गरी विद्यालयलाई सूचना तथा सञ्चार प्रविधिका साधनहरूमा पूर्वाधार सम्पन्न तुल्याउन पहल गर्ने प्रविधिमैत्री शिक्षक समाज प्रदेश ५ मा उपाध्यक्ष कुमारप्रसाद सापकोटाले बताए।

विद्यार्थीलाई प्रविधlयुक्त शैक्षिक वातावरणमा रमाउँदै सिक्न उत्प्रेरित गर्न गराउन, प्रविधिमैत्री शिक्षण सिकाइका लागि आवश्यक पर्ने घरायसी वातावरण निर्माणका लागि समेत अभिभावकसँग आवश्यक पहल गरिने उनले बताए। 

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले समग्र बर्दिया जिल्लाको पढाइस्तरमा सुधार ल्याउनका लागि बर्दियाका हरेक पालिकाको ध्यानकेन्द्रित भएको बताए। उनले शिक्षा क्षेत्रमा सुधार गर्न ठाकुरबाबा नगरपालिकामा कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरेको समेत बताए।

बर्दिया जिल्लाको शिक्षा प्रणालीमा सुधार ल्याउनका लागि शिक्षालाई प्रविधिसँग जोड्न एकदमै आवश्यक रहेको र यसका लागि बर्दियाका हरेक विद्यालयका शिक्षकले सहयोग गर्नुपर्ने उनले बताए।

बर्दिया आफैँमा पनि शिक्षा क्षेत्रमा एकदमै पछाडि छ। पछिल्लो समय विद्यालय उमेर समूहका बालबालिका पढाई भन्दा पनि सामाजिक सञ्जालतर्फ व्यस्त हुने गरेका छन्। विद्यालय उमेर समूहमा गरिने मोवाइल फोनको प्रयोगका कारण समस्या निम्तिँदै गएको छ। 

बढ्दो मोवाइल फोनका कारण सानै उमेरमा विवाह गर्ने प्रचलन समेत बढ्दो छ। प्रविधिको अनावश्यक प्रयोग हुनबाट रोकेर शिक्षालाई प्रविधिसँग जोडेमा शिक्षा क्षेत्रमा सुधार आउन सक्ने विश्वास लिइएको प्रविधीमैत्री शिक्षक समाज बर्दियाका संयोजक केशवराज तिमिल्सिनाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.