|

काठमाडौं : नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौं-तराई द्रूतमार्ग आयोजना २०८१ वैशाखमा पुरा गरेर यातायात सञ्चालनमा ल्याइने प्रतिवद्धता जनाएको छ। 

द्रूतमार्गलाई तोकिएको अवधिभित्र सम्पन्‍न गर्न सडक संरचना, पुलहरूको एकीकृत प्याकेज गुरुयोजना बनाएर अघि बढ्न लागेको आयोजना प्रमुख प्राविधिक सहायकरथि शरदलाल श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए। 

चालु आर्थिक वर्षमा करिब १४ अर्ब रूपैयाँ विनियोजित बजेटमध्ये करिब ६ करोड रूपैयाँ मात्रै खर्च भएको छ। श्रेष्ठका अनुसार पहिलो चौमासिक डकुमेन्टेसन र अरू तयारी गर्न लागेकाले कम खर्च भएको हो भने केही काम भएको बिल भर्खरै पेश भएकाले भुक्तानी बाँकी छ। सुरुङमार्ग र पुलको काम सुरू हुनेबित्तिकै ठूलो रकम खर्च हुने सेनाले जनाएको छ।

श्रेष्ठका अनुसार पुल ठेक्का मूल्यांकन भइरहेको छ। आयोजनामा बन्ने कुल ८७ वटा पुलमध्ये ७१ वटा नेपाली निर्माण कम्पनी र बाँकी १६ वटा विशेष प्रकृतिका भएकाले विदेशी कम्पनीबाट गराइने छ। द्रुत मार्गमा पर्ने पुलको मात्रै लम्बाई १०.५९६ किलोमिटर हुनेछ।

ठेक्का व्यवस्थापन गरेर फागुनबाट काम सुरू गर्ने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए।

'टनेलको काम आगामी असारबाट मात्रै सुरू हुनेछ,' उनले भने, 'सुरुङ मार्गका लागि थप अध्ययन र स्पेशिफिकेशन तयार पार्नका लागि परामर्शदाता हायर गर्न लागिएको छ।'

अहिले सुरुङ मार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनी छनोटका गर्न प्री-क्वालिफिकेशनका लागि डकुमेन्ट तयार पार्ने काम सेनाले गरिरहेको छ। आयोजनामा महादेवडाँडा (३.३५५ किमि), धेन्द्रे (१.६३० किमि), लेनडाडा (१.४३०किमि) का तीनवटा गरि (६.४१५ किमि) सुरुङमार्ग निर्माण हुनेछ।

अहिले सडकमा फर्मेसन लेभलको काम भइरहेको छ। लम्बाई ७२.५ किमिमा करिब ५५.४८९ किमी सडक निर्माण भइरहेको छ। बाकी १४ प्रतिशत भागमा पुल र सुरुङ मार्ग रहने छ। सडकमा कालोपत्रे गर्नु अघिको ग्राभेल हाल्नेसम्मको पूर्वाधार तयारीको काम भइरहेको सेनाले जनाएको छ।

फर्मेसनको तहको काममा राम्रो प्रगति हासिल गरेको सेनाको  दाबी छ।नेपाली सेनाले द्रुतमार्ग निर्माणका लागि व्यवस्थापकीय जिम्मेवारी पाएको साढे दुई वर्ष पुगेको भएपनि वित्तीय प्रगति करिव १० प्रतिशत मात्रै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.