दक्षिण एसियामा मित्रता बढाएको भनाइ

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताले यस क्षेत्रका राष्ट्रबीच मित्रता अझै बढाएको बताएका छन्। 

१३ औँ सागको दशरथ रंगशालामा भइरहेको समापन समारोहलाई सरकारी निवास बालुवाटारबाट भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने साग गेमको ठूलो महत्व छ’, उनले भने, ‘यो आजैबाट अत्यन्तै सफलतापूर्वक सकिँदैछ। म खुसी भएको छु।’

ओलीले भूकम्पबाट क्षग्रिस्त संरचना बनाएर मिलेको सफलता प्रशंसायोग्य रहेको बताए। ‘पहिलोको भन्दा धेरै खेलाडी र खेलहरुको संलग्नता, पदकहरु पनि १३ औँ साग गेममा धेरै राखिएका छन्’, उनले भने, ‘समग्रतामा यो पटकको साग सफल र ऐतिहासिक रहेको छ। खेलकुदले दक्षिण एसियाली देशहरुबीच एकता र मित्रता अझ बढाएको छ।’

उनले सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई पनि दिएका छन्। ‘काठमाडौँ पोखरा र जनकपुरबाट एकैसाथ सम्पन्न हुनु ज्यादै खुसीको कुरा हो’, उनले अगाडि भने, ‘यस सफलताका लागि योगदान दिने नेपालसहित सबै सहभागी देशका सरकार र खेलक्षेत्रका खेलाडी प्रशिक्षक सबैलाई धन्यवाद।’

ओलीले अत्यन्तै भब्यरुपमा सम्पन्न दक्षिण एसियाली खेलकुदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान दिने पनि बताए। ‘यस खेलमा सहभागी खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्धत पु¥याउने अपेक्षा लिएको छु’, उनले भने, ‘खेललाई अनुशासित मर्यादित बनाएर, नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्। जुन सफलता प्राप्त गर्नका लागि बधाई भन्न चहान्छु।’ 

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ

दक्षिण एसियाका लागि ‘मिनी ओलम्पिक’ मानिने दक्षिण एशियाली गेमको अत्यन्तै ठूलो महत्व छ। र, यो गेम आजैबाट अत्यन्तै सफलतापूर्वक सम्पन्न हुँदैछ। म खुशी व्यक्त गर्न चाहन्छु, भूकम्पबाट ध्वस्त भएका संरचनाहरू तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ। यसवर्ष यसपल्टको खेलमा पहिले कहिल्यै भन्दा बढी खेलाडीहरूको सहभागीता, पहिले कहिल्यै भन्दा बढी खेलहरूको संलग्नता रहेको छ। र पदकहरू पनि यस पटकको १३ औं साग गेममा पहिले भन्दा धेरै राखिएका छन्।

समग्रतामा भन्दा एउटा सफल र ऐतिहासिक खेलकुदको रूपमा रहेको छ। दक्षिण एशियाली खेलकुदले दक्षिण एशियाली देश र जनताबीचमा एकता, मित्रता अभिवृद्धि गर्ने कुरालाई अपेक्षा गरिएको हुन्छ। त्यो अपेक्षा यस पटकको १३ औं दक्षिण एशियाली खेलकुदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको छ। 

यस सन्दर्भमा म संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई भन्न चाहन्छु। धन्यवाद भन्न चाहन्छु। काठमाडौं, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकुदहरू सञ्चालन हुनु र सफलतापूर्वक समग्र दक्षिण एशियाली खेलकुदको सुखद समापनमा हामी आइपुग्नु ज्यादै खुशीको कुरा हो। यस सन्दर्भमा यस सफलताका लागि योगदान गर्नुहुने नेपाल लगायत सबै सहभागी देशका सरकारहरू, खेलाडीहरू, प्रशिक्षकहरू सबैलाई पनि म धन्यवाद भन्न चाहन्छु। 

अत्यन्तै भव्य रूपमा सफल भएको यस दक्षिण एशियाली खेलकुदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पुर्‍याउनेछ भन्ने मैले विश्वास लिएको छु। विभिन्न मित्र देशका यस खेलमा सहभागीहरूले खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्ने गरी योगदान गर्नुहुनेछ भन्ने पनि मैले अपेक्षा गरेको छु। ‘होस्ट कन्ट्री’का खेलाडीका हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्रभागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीहरूले यस खेलमा गरेका छन्, म नेपाली खेलाडीहरूलाई त्यसका निम्ति हार्दिक धन्यवाद भन्न चाहन्छु। जुन सफलता प्राप्त गरेका छौं, सबै सफलता प्राप्त गर्ने खेलाडीहरूलाई बधाई भन्न चाहन्छु। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.