|

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-१३ का वडाध्यक्षले आफ्नै घर अगाडिको कल्‍भर्ट भत्काएका छन्। एक वर्षअघि सघन शहरी विकास तथा भवन डिभिजन आयोजनाले १० लाख लागतमा निर्माण गरेको कल्‍भर्ट वडाध्यक्षको निर्देशनमा गठन भएको उपभोक्ता समितिले भत्काएको हो।

कल्‍भर्ट निर्माण उपभोक्ता समितिमा वडाध्यक्ष चौधरीका नातेदार जेठानी तारादेवी चौधरी (अध्यक्ष) देउरानी सरिता चौधरी (सचिव) र अर्की जेठानी ज्ञानवती चौधरीलाई (कोषाध्यक्ष) बनाएर वडाध्यक्ष चौधरीले समिति गठन गरेका थिए। वडा सदस्यहरू र स्थानीयलाई समेत थाहा नदिई वडाध्यक्षले एक्लौटी ढंगले समिति गठन गरेपछि विरोधमा आएको हो।

उपभोक्ता समिति गठन भएको रहस्य सार्वजनिक भएपछि त्रियुगा नगरपालिका वडा नम्बर १३ का वडा सदस्यहरु शिव रेग्मी, मानबहादुर मगर र स्थानीयहरू दीर्घलाल चौधरी, दुर्गानन्द चौधरी र हेमनारायण चौधरीले नगरपालिकामा उजुरी दिएका थिए।

 'कल्‍भर्ट के कारण भत्काएको सो बारेमा स्थानीयसँग कुनै छलफल नभएको र निर्माण गर्न बनेको उपभोक्ता समितिले किन भत्काएको हो?' वडा सदस्य शिव रेग्मीले भने, 'भौतिक पूर्वाधारको संरक्षण गर्नु वडा र वडाध्यक्षको कर्तव्य हो।' शहरी विकास तथा भवन डिभिजन आयोजनाका इन्जिनियर ब्रम्हदेव चौधरीले कल्‍भर्ट भत्काइएकोबारे कार्यालयलाई कुनै जानकारी नभएको बताए।

दुर्व्यसनी बढेकाले भत्काएको हुँ

यता, वडाध्यक्ष चौधरीले भने कल्‍भर्टमा साँझ परेपछि दुर्व्यसनीमा लागेका युवा आएर बस्ने भएकाले भत्काएको बताए।  दुर्व्यसनमा लागेका युवा कल्‍भर्टमा आएर बस्ने गरेकाले आफूहरूलाई त्यसबाट जोगिन भएकोले भत्काइएको तर त्यसमा आफ्नो संलग्नता नरहेको उनले दाबी गरे। कल्‍भर्ट भत्काएकोमा स्थानीयले विरोध जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.