|
विभिन्‍न समयमा सिद्धबाबा सडक खण्डमा भएको दुर्घटनाका तस्वीर।

पाल्पा : एउटा त्यस्तो घटना छ। जुन घट्ना तानसेन नगरपालिका–३ वसन्तपुरका ५२ वर्षीय अजय श्रेष्ठले बिर्सन चाहन्छन्। उनलाई त्यो घटना सम्झनामा नआए हुन्थ्यो भन्ने लाग्छ। यदि घटनाको याद आइहाल्यो भने उनी डराएजस्तो देखिन्छन्। अनुहार मलीन देखिन्छ र दुवै आँखा आँसुले टिलपिल हुन्छन्। अनि भन्छन्, 'म अर्को जुनी लिएर बाँचिरहेको छु।'

२०७४ साल साउन महिनाको २७ गतेको घटना हो। आफ्नो भिनाजु पर्नेको घर अर्थात् मान्छे मरेको ठाउँ चितवनको नारायणगढमा उनले घोत लिएर गएका थिए।

उनीसँगै तानसेन नगरपालिका–३ टक्सारका ३५ वर्षीय भाञ्‍जा गृहपति शाक्य पनि गएका थिए। गृहपतिले चलाएको मोटरसाइकलमा उनीहरू त्यहाँ पुगेका हुन्। घोत मिसाएर फर्कनेक्रममा अविरल वर्षा भइरहेको थियो। बुटवलसम्म आइपुगेका उनीहरू तानसेन जाने कि नजाने भन्नेमा दोधार थिए। अन्तिममा जेनतेन घरमै पुग्ने निधो गरे। त्यहाँबाट तानसेनस्थित घरतर्फ हिँडेका उनीहरू बेलुकीको करिब ८ बजे सिद्धबाबानजिक आइपुगेका थिए।

एक्कासि भरंग गर्दै ढुंगासहितको पहिरो खसेको आवाज सुने श्रेष्ठले घट्ना सम्झिँदै भने, 'मोटरसाइकलसहित हामी दुईजना सडकमा पल्टियौँ। मलाई केही सानातिना ढुंगाले लागेको थियो। जसोतसो उठेँ अनि भाञ्‍जालाई ३/४ पटक बोलाएँ। उनी बोलेनन्।

पानी परिरहेको थियो र निकै अध्याँरो पनि। भाञ्‍जा कस्तो अवस्थामा थिए त्यो पनि देख्न सकिनँ। म गुहार माग्दै त्यहाँबाट हिँडे। अलि पर पुग्दा सिद्धबाबा मन्दिरको आश्रममा मान्छे देखेँ। अनि उनीहरुलाई घट्नाबारे बताएँ।

त्यसपछि उनीहरु मलाई त्यहीँ बस्न भनेर भाञ्‍जाको उद्धारको लागि गए। गएको करिब १ घण्टामा भन्जालाई चारजनाले चार हातखुट्टामा समातेर ल्याएका थिए। भाञ्‍जा बेहोस देखिन्थे। मलाई लाग्छ उनी मरिसकेका थिए।

बाँकी के भयो म आफैँलाई थाहा भएन' उनले थपे, 'सँगै टाँसिएर यात्रा गरिरहेको अवस्थामा भाञ्‍जा मर्नु र म बाँच्नु आफैँलाई अचम्म लागेको छ उनले भने। मृत्युले नबोलाएको रहिछ। अर्को जन्म पाएजस्तै मलाई महसुस भएको छ।

बाटो सम्झँदै मन निसासिन्छ

दशैंमा बरु खाली निधार बस्छु तर एक्लै टीका लगाउन त्यो बाटो हुँदै बुटवल जादिनँ। कहिलेकाहीँ धेरैजना मिलेर गयौँ भने पनि त्यो क्षेत्रमा पुगेपछि मन निसासिन्छ। जसले गर्दा बोल्नसमेत सकिरहेको हुन्न। म मात्रै होइन कोही पनि यो बाटो हुँदै बुटवल नगए हुन्थ्यो भन्ने मलाई लाग्छ श्रेष्ठले भने। नाताले मामाभाञ्‍जा भए पनि दुखसुखमा साथ दिने अति मिलनसार अकालमा साथी गुमाउँदा दुःख लागेको छ उनले सुनाए।

अकालको मृत्युले थप पीडा

कुनै बिरामी परेर मृत्यु भएको भए सायद सहन सकिन्थ्यो होला। पहिरोमा परेर भएको मृत्यु स्वीकार्न कठिन हुँदोरहछ मृतक शाक्यकी धर्मपत्नी कविता शाक्यले भनिन्। श्रीमानको मृत्यु भएपछि घरव्यवहारमा समेत निकै समस्या परेको उनले सुनाइन्।

२४ वर्षीय छोराको भरमा आफू र छोरी बस्नुपरेको उनले बताइन्। स्नातक पहिलो वर्षको पढाइ छाडेर बाबाले चलाउदै आएको घडि तथा विद्युतीय सामग्रीको पसल गरी हामीलाई पालेको छ कविताले भनिन्। हाम्रो परिवारमा जस्तो त्यो बाटोको कारण अरूको परिवारमा बज्रपात नपरोस् उनले प्रार्थना गरिन्।

विभिन्‍न समयमा पहिरोले अवरुद्ध सिद्धबाबा सडकखण्ड

पहिरोले धेरैको विचल्ली

कविताको परिवारमा मात्र हैन सिद्धबाबा क्षेत्रमा पर्ने सडक र पहिरोका कारण धेरै परिवारको विचल्ली भएको छ। यो सडक हुँदै यात्रा गर्ने धेरैले परिवारका सदस्य गुमाएका छन् भने कैयौं अङ्गभङ्ग भएर जीवन जिउन बाध्य छन्। बर्सेनि यो क्षेत्रमा पहिरोमा परेर मृत्यु हुने गर्दछ। अचम्म यो छ कि हिउँदमा समेत सुक्खा पहिरो झरेर मानिसको ज्यान लिने गरेका छ।

'मृत्यु मार्ग बनेको यो सडकको विकल्प नखोजिनु दुखद कुरा हो। नेताहरूले चुनावी नारा दिन्छन् तर जितिसकेपछि बिर्सन्छन्' अजय श्रेष्ठले भने।

पहिरोका कहाली लाग्दा घट्ना!

  • २०७४ साउन २७ गते तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबामा बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु१३प ६६५ नम्बरको मोटरसाइकलमाथि  ढुंगासहितको पहिरो खसेर लाग्दा तानसेन नगरपालिका–३ टक्सार निवासी ३५ वर्षीय गृहपति शाक्यको मृत्यु भयो। जुन घट्नामा परेर ५० वर्षीय अजय श्रेष्ठ घाइते भएका थिए।
  • २०७४ असोज ६ गते सोही ठाउँको हेडबक्समा माथिबाट सुक्‍खा पहिरो खस्दा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु१च ७९९४ नम्बरको कार र ना३ख ६१९१ नम्बरको ट्रकलाई ढुंगाले च्याप्दा २ जनाको मृत्यु भयो। २ जना घाइते भए। गुल्मीको रुरु गाउँपालिका ४ बलेटक्सारका २४ वर्षीय यमलाल ज्ञवाली र सोही गाउँपालिका वडा नम्बर ५ का ५१ वर्षीय तिलकराम भण्डारीको मृत्यु भएको थियो।

सिद्धबाबा सडक खण्डमा पहिरोमा परेको सवारी 

  • २०७४ असोज १८ गते हेडबक्सनजिकै बुटवलतर्फ जाँदै गरेको लु१७प १८७३ नम्बरको मोटरसाइकलमाथि ढुंगा खसेर लाग्दा रुपन्देहीको बुटवल उपमहानगरपालिका–१९ का २६ वर्षीय रेमबहादुर घिमिरे र उनकी श्रीमती २१ वर्षीया नमिता न्यौपाने घाइते भएका थिए।
  •        २०७५ वैशाख १० गते सिद्धबाबा मन्दिरनजिक माथिबाट ढुंगा खसेर लागेपछि लु१ख ८५०१ नम्बरको टिपर चालक नवलपरासीको सुनवलका २५ वर्षीय दिलराम पौडेल घाइते भएका थिए। सिद्धबाबा मन्दिरको शौचालयमा समेत क्षति पुगेको थियो।
  • २०७५ भदौ १५ गते सिद्धबाबास्थित हेडबक्सनजिक बुटवलबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको बा११च २३६२ नम्बरको कारमाथि ढुंगा खस्दा कारमा क्षति भएको थियो। यद्यपि सवार यात्रु भने सकुशल रहे।
  • २०७६ भदौ ७ गते लु२च ४८२८ नम्बरको कारमाथि ढुंगा खसेर लाग्दा नवलपरासीको वर्दघाट नगरपालिका–४ का ५४ वर्षीय वीरेन्द्र श्रेष्ठ घाइते भएका थिए।
  • २०७६ भदौ २७ गते हेडबक्सनजिक बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नम्बरको जिप र लु२च ५९३८ नम्बरको स्कारपियोलाई ढुंगासहितको पहिरो खसेर लाग्दा रुपन्देही तिलोत्तमका नगरपालिकाका २६ वर्षीय कमल परियारको घट्नास्थलमै मृत्यु भएको थियो। उनी जिप चालक थिए। अन्य ४ जना घाइते  भए। ९ जना भने सकुशल रहन सफल भए।
  • २०७६ असोज ११ गते पाल्पादेखि बुटलतर्फ जाँदै गरेको लु१ख ६१८० नम्बरको बसमा माथिबाट खसेको ढुंगाले लागेर चालकसहित ५ जना घाइते भएका थिए।

सामान्य घाइतेको तथ्यांक राखेनौँ : प्रहरी

  • तीन वर्षमा सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा भएको सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भयो। सयौँको संख्यामा घाइते भएको प्रहरीको भनाइ छ। यद्यपि, सवारी दुर्घटना हुँदा सामान्य घाइते हुनेको तथ्यांक भने विशेष रूपमा नराखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताए।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घट्नाको विवरण यस्तो छ।

  •        २०७४ मंसिर १३ गते तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा मन्दिरनजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा पाल्पाको तिनाउ गाउँपालिका–६ मस्यामका २४ वर्षीय तीलकुमारी बगालेको मृत्यु भयो। अर्का १ जना घाइते भए।
  • २०७४ चैत १५ गते टिपर सडकबाट तल खस्दा पाल्पाको रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीका डोलबहादुर लम्तरीको मृत्यु भयो। अर्का १ जना घाइते भए।
  • २०७५ जेठ २६ गते सोही सडकमा ट्रकले ठक्कर दिँदा तिनाउ गाउँपालिका–६ मस्यामका ६८ वर्षीय धनबहादुर सार्कीको मृत्यु भयो।

 

  • २०७५ साउन ६ गते ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भयो।
  •        २०७५ मंसिर १८ गते मोटरसाइकल सडकभन्दा तल खस्दा तानसेन नगरपालिका–९ दमकडाका गणेश रेग्मी क्षेत्रीको मृत्यु भयो।

 

सिद्धबाबा सडक साँच्चिक्कै मृत्यु मार्ग

व्यक्तिगत जीवनको खुसियाली र पारिवारिक सुख र खुसी खोज्न हिँडेका यात्रुहरुका लागि सिद्धबाबा सडक साँच्चिकै मृत्युमार्ग बनेको तानसेन नगरपालिका–३ का नवनीत शाक्यले बताए। 'त्यो सडक पार गरेपछि अर्को जन्म नै पाएजस्तो हुन्छ' उनले भने' 'यो सडकको अर्को विकल्प खोजे पहिलेजस्तै धेरैले ज्यान गुमाउनुपर्ने थिएन।'

कहिले बन्ला सुरुङमार्ग?

दुर्घटना बढेपछि यसै आर्थिक वर्षदेखि सिद्धबाबाको पहिरोमा पर्ने सडकको विकल्पको बहस चलिरहेको छ। त्यो सडकको विकल्पमा झुम्सा – चरङ्गे मोटरबाटो हुन सक्ने धेरैको विश्लेषण छ। जुन सडक निर्माण गर्ने काम सकिएको छ। यद्यपि गाडी सरर गुड्ने गरी सडकको काम सम्पन्न भएको छैन्। कुनैबेला रक नेटको बहस पनि चल्यो। त्यसको प्रारम्भिक सर्वे पनि भयो। कुनै नतिजा नआउँदै अहिले सुरुङ मार्गको कुरा पनि चलिरहेको छ।

२० दिनभित्र टेण्डर खोल्‍ने दाबी

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले सुरुङमार्गको कुरा अगाडि बढाएको यस क्षेत्रका नेताहरूले दाबी गरेका छन्। सुरुङमार्गको काम अगाडि बढेको पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद सोमप्रसाद पाण्डेले बताए। 'अब यो सडकको विकल्पमा सुरुङमार्गको काम अगाडि बढेको छ' उनले भने, 'अबको १५/२० दिनभित्रमा टेण्डर आह्‍वान हुन्छ।' उनका अनुसार यो आर्थिक वर्षमा सुरुङ निर्माणको काम थालनी हुन्छ।

प्रतिवेदन आइपुग्‍यो

स्विस सरकारले तयार गरेको सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन नेपाल सरकारसँग आइपुगेको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख केदारप्रसाद नेपालले बताए। उनका अनुसार यो आर्थिक वर्षमा ग्लोवल टेण्डर आह्‍वान हुनेछ। अर्थ मन्त्रालयबाट १० अर्बको काम गर्न भनेर सहमति प्राप्त भइसकेको उनले बताए।

यद्यपि, सुरुङमार्ग निर्माणको काम कहिले सुरु हुन्छ भन्नेमा उनी अझै स्पष्ट छैनन्।  चालु आर्थिक वर्षमा टेण्डर प्रक्रियाको काम मात्र हुनसक्ने प्रमुख नेपालले बताए।

११ सय २४ मिटर लामो सुरुङमार्ग बन्नेगरी विस्तृत परियोजना प्रतिवेदन तयार भएको उनले बताए। यद्यपि, डबल लेन बनाउने र स्तरोन्नति गर्ने सडकसहित साढे दुई किलोमिटरको काम हुनेछ।

सुरुङमार्ग बन्ने समय बाझियो

सांसद सोमप्रसाद पाण्डेले अबको ३८ महिना भित्रमा सुरुङमार्ग निर्माण कार्य सकिने दाबी गरे। उनका अनुसार काम गर्ने सहमति भएअनुसार तीन महिना सकिएको छ। 'हामीले २८ महिनामै सक्नुपर्छ भनेका छौं' उनले भने, '३८ महिनामा कुनै हालतम काम सम्पन्न हुन्छ। सुरुङमार्गबाट सवारीसाधन चल्न पाउँछन्।'

तत्काल १० अर्ब १५ करोड बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएको सांसद पाण्डेले बताए। बजेट अभावको कारण काम नरोकिने उनले दाबी गरे।

पाँच/६ वर्ष लाग्‍छ

यता, सडक विभाग पाल्पाका प्रमुख केदारप्रसाद नेपालले भने ५ देखि ६ वर्षको अवधिमा  सुरुङमार्ग निर्माण कार्य सकिने बताएका छन्। 'भर्खरै डिपिआर अर्थात् विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ। अब टेण्डर आह्‍वान गरिन्छ' उनले भने, 'यो आर्थिक वर्षमा टेण्डरको प्रक्रिया सकियो भने बाँकी काम ५ वर्षभित्रमा सकिन्छ।'

विभिन्‍न समयमा पहिरोले अवरुद्ध सिद्धबाबा सडकखण्ड

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.