|

चितवन : मर्मत सम्भारको काम सकिएपछि भरतपुर विमानस्थल बुधबारदेखि सञ्चालनमा आएको छ। धावनमार्गको ओभरले र पार्किङस्थल विस्तार तथा रंगरोगनको काम सकिएपछि बुधबारबाट पुनः सञ्चालनमा आएको नागरिक उडड्यन प्राधिकरण भरतपुरले जनाएको छ।

मंसिर १५ गतेदेखि विमानस्थल बन्द गरेर मर्मतको काम सुरु गरिएको थियो। निर्धारित समय अवधिमै काम सकिएपछि नियमित उडान सुरु भएको कार्यालयका प्रमुख पवनकुमार गौतमले बताए।

१ हजार २ सय मिटर लामो धावनमार्ग र ७०, ७० मिटरको पार्किङस्थलमा ओभरले गरीएको छ। पार्किङ दुवैतर्फ २०, २० मिटर चौडाई पनि बढाइएको छ। पार्किङ विस्तारसँगै एटिआर स्ट्याण्डरको भएको र जहाज पार्किङमा समेत सहज हुने विमानस्थलका सूचना अधिकारी केशव लम्सालले बताए। यसअघि पार्किक स्थल सानो हुँदा जहाज पार्किकमा समस्या हुँदै आएको थियो। ६१ सालमा बनेको पीचमा यसपटक पहिलो पटक ओभरले गरिएको हो। यसअघि ७ वर्ष पहिले सामान्य सेन्सेलिङ मात्रै गरिएको थियो। गौरी पार्वती, सन्जिवनी जेभिले ९ करोड ९८ लाख ८५ हजार ८ सय २७ रुपैयाँमा विमानस्थलको मर्मत तथा विस्तारको ठेक्का लिएर काम गरेको थियो।

करिब ६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २ सय मिटर लामो र ३० मिटर चौडा छ। भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका ५/५ जहाज काठमाडौं र एक/एक जहाजले पोखरा उडान भर्दै आएका छन्। हरेक दिन ८ सय यात्रुले भरतपुर विमानस्थलबाट हवाई यात्रा गर्ने विमानस्थलले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.