|

काठमाडौंः काठमाडौं महानगरपालिकाले गत असोजमा वृक्षरोपण गर्‍यो। त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म १ सय ६५ वटा विरुवा रोपिएको थियो। पाँच सय विरुवा रोप्ने योजनासहित वृक्षरोपणको थालनी गरिएको थियो।

शहरलाई हरियाली, सफा र वातावरणमैत्री बनाउने अभियानसहित काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वृक्षरोपण गरेर हरियालीमैत्री बनाउने अभियानको उद्घाटन गरेका थिए। तर, संरक्षण अभावमा रोपिएका अधिकांश विरुवा सुकेका छन्।

राजधानीमा रोपिएको रूखको कसले संरक्षण गर्ने? महानगरपालिकाले कि सरकारले भन्ने विषयमा अन्योलता थपिएको छ। महानगरले पनि आफैँले रोपेको विरुवा संरक्षण गर्न सकेको छैन।

सडक किनारामा रोपिएका विरुवाको संरक्षण गर्ने जिम्मा सरकारको हो। तर, महानगरले रिङरोड भित्रको शहरी भागलाई हरियाली बनाउने जिम्मा लिएको छ। यद्यपि रोपिएका विरुवा संरक्षण हुन सकेका छैनन्।

वृक्षरोपण जस्तो संवेदनशील कार्य गर्द सदा योजना बनाएर कार्य गर्नुपर्ने बताउँछन्, वातावरण संरक्षण अभियन्ता मिलन राई। सडकका दायाँबायाँ साना विरुवा रोप्न नुहेन उनको तर्क छ। 

उनले भन्छन्, 'वातावरण र माटोअनुसार विरुवा रोपिनुपर्छ। सडकका आसपासमा सानो र नयाँ विरुवा रोपिनु हुन्न। सडकका दायाँबायाँ रोप्दा ठूला हुर्किसकेका विरुवा रोपिनुपर्छ।' जसले गर्दा रोपिएका विरुवा चाँडो नमर्ने उनको दाबी छ।

जुन संस्थाले विरुवा रोपेको हो त्यही संस्थाले नै संरक्षण गर्नुपर्ने उनी बताउँछन्। उनले भने, ' यदि काठमाडौं महानगरपालिकाले विरुवा रोपेको हो भने संरक्षण गर्ने दायित्व पनि उसैको हो।'

वृक्षरोपण गर्ने तर संरक्षण गर्नलाई प्रायोजक खोज्ने संस्कृति भएकोले विरुवाको संरक्षण हुन नसकेको उनको भनाइ छ। 'वृक्षरोपण गरेपछि त्यसको संरक्षण नहुनु भनेको संस्था गैरजिम्मेवार भएको ठहर्छ,' उनले भने।

पैदलयात्रीले पनि ख्याल नगर्दा विरुवाको संरक्षण हुन नसकेको उनले बताए। उनले भने, 'बाटोमा हिँडदा पैदलयात्रीले विरुवाको पात चुँडाउने र विरुवाको डाँठ भाँच्ने गर्छन। यसले पनि विरुवा संरक्षणमा समस्या निम्तिएको छ' 

महानगर प्रमुख शाक्यले विरुवा संरक्षणमा महानगरको पनि केही कमजोरी रहेको स्वीकार गरे। उनले विरुवा संरक्षण गर्नको लागि जाली निर्माण गरिसकेको बताए।  रोपिएका विरुवा बाटोमा हिँडने बटुवाले चुँडाए र उखेलेर फालेको पाइएकोले त्यसको संरक्षणका लागि तारजाली लगाइने उनले बताए।

उनले भने, 'नागरिकले विनाश गर्छन् भने त महानगरले के गर्न सक्छ। तर, पनि महानगरले तारको जाली बनाइ संरक्षण गर्छ।' विरुवा संरक्षण गर्नु महानगरको पहिलो दायित्व रहेको उनले बताए। शहरलाई हरियाली बनाउने अभियानमा महानगर पछि नहटने उनको भनाइ छ। 

शहरको सौन्दर्यलाई महत्त्व दिएर वृक्षरोपण गरिएको बताउँदै महानगरबासी सबै एक भएर हरियाली बनाउने अभियान उनले आग्रह गरे। 'सार्वजनिक स्थानको संरक्षण गर्नलाई महानगरले पनि जानेको छ। सम्झाउनु ठीकै छ तर जिम्मेवारबाट महानगर भागेको छैन,' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.