|

भक्तपुर : धान्य पूर्णिमाको अवसरमा आज काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले धुमधामका साथ यमरी पुन्ही पर्व मनाउँदैं छन्। 

चामलको पिठोको रोटीभित्र विशेषगरी चाकु राखेर बनाएको विशेष प्रकारको रोटीलाई यमरी भनिन्छ। सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समूदायले यमरी पुन्हीको रुपमा मनाउने गरेको हो। ज्यापु समुदायले आजको दिनलाई ज्यापु दिवसको रुपमा समेत मनाउँदै आएको छ।

यमरीको महत्व

नेवार समुदायमा यमरीको विशेष महत्व रहेको छ। विशेषगरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यमरी नभई नहुने पकवान्न मध्ये एक हो। यमरी मठ मन्दिर, मानिसको जोडा जन्मदिन जस्तो दुई वर्ष, चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको इतिहास तथा संस्कृतिविज्ञ पुरुषोत्तमलोचन श्रेष्ठले बताए।
यमरीलाई कुवेर र गणेशका प्रतिकको रुपमा लिइन्छ।

पूर्णिमाका दिन यमरीलाई धानलगायत अन्नका भकारीमा चढाइन्छ। यसदिन नेवार समुदायले यमरीको कुवेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको मुर्ती बनाएर आफ्ना अन्नका भकारी र धुकु कोठा (ढुकुटी), भण्डार कोठामा चढाएर मात्र आफुले खाने चलन रहेको इतिहास तथा संस्कृतिविज्ञ श्रेष्ठले बताए। 

यसरी चढाएको यमरी चारदिन पछि मात्र प्रसादको रुपमा बाँडेर खाने प्रचलन छ। यमरीलाई भगवती अन्नपूर्ण देवीको प्रतिकको रुपमा पनि लिइन्छ। अन्नका भकारीमा यमरी चढाउँदा अन्न बृद्धि हुने र त्यसको प्रभावले घर अन्नले भरिपूर्ण हुने तथा धनलाभ हुने जनविश्वास रही आएको छ।  

यमरी भाका गाउँदैं यमरी माग्ने प्रचलन 

यमरी पुन्हीको दिन नेवार समुदायले आफ्ना गाँउ, टोल छिमेकमा यमरी भाका गाउँदै यमरी माग्ने चलन रहेको छ।  तिहारमा देउसी भैलो खेले जस्तै यसदिन नेवार समुदाय टोल छिमेकमा यमरी भाका गाउँदैं यमरीसँगै सामाजिक कार्यका लागि आर्थिक संकलन गर्ने प्रचलन रहेको छ।

त्यः सिं त्यः बकसिं त्यः
थाबले यागु यःमरी छग ति यः 
व्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती
न्यग व्यूसा काय् वुई छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु, उकि दुने चाकु
व्यूम्ह ल्यासेचा, मव्यूम्ह बुरीचा
कुरी कुरी.............

दुई माना देऊ, चार माना देऊ, यसवर्षको यमरी एउटा देऊ, दिएमा तरुनी नदिएमा सितिकुती, दुईता दिए छोरा एउटा दिए छोरी जन्मिन्छ, जसरी दिएनी चुली पारेर देऊ, यमरी मिठो त्यसभित्र चाकु, दिए तरुनी नदिए बुढी, कुरी कुरी.....।

यमरी पूर्णिमाको साँझ नेवार समुदायको घर आँगनमा गुन्जिने यो मिठासपूर्ण लोक भाका भने अचेल भक्तपुरमा गुन्जिन छाडेको छ। मौलिक लोक संस्कृति आधुनिकताको छोपेसँगैं यमरी माग्ने चलन बिस्तारै लोप हुन थालेपछि उल्लेखित लोकभाका नेवार समुदायमा गुन्जिन छाडेको हो।

यमरी माग्ने प्रचलन धान्य पूर्णिमाको एक महत्वपुर्ण सांस्कृतिक पाटो भएको संस्कृतिविदहरुको भनाई रहेको छ। ईतिहास तथा संस्कृतिविद् श्रेष्ठका अनुसार लिच्छवीकालिन समयदेखि नै यमरी माग्ने प्रचलन चल्दै आइरहेको हो। उनले अंशुबर्माको पालादेखी नै यो चलन चलेको बंशावलीमा उल्लेख भएको पाईएको जानकारी दिए। आधुनिकतासँगै स्थानीय कला संस्कृति लोप हुनेक्रममा यमरी माग्ने प्रचलन पनि लोपन्मुख अवस्थामा पुगेको उनको भनाइ रहेको छ । 
यस सँस्कृतिलाई संरक्षण गर्न मातृभाषाको शिक्षा र सँस्कृति नयाँ पुस्तालाई दिनुपर्ने खाँचो रहेको अर्का संस्कृतिविज्ञ ओम धौवडेलले बताए। 

धार्मिक र लोक कथन

यमरी पुर्णिमाको बारेमा ऐतिहासिक कथन अनुसार तत्कालिन पांचाल देशमा भगवान् विष्णुका परमभक्त, दानी र धर्मात्मा सुचन्द्र दम्पती बस्दथे। उनीहरुको दयालु स्वभावको जाँच गर्न एकदिन धनपती कुवेर गरिव ब्राहम्णको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे। सुचन्द्रका श्रीमतीले ब्राहम्णरुपी कुवेरलाई श्रदापुर्वक आफुले तयार पारी राखेको यमरी खुवाए। 

उनको सत्कार देखी प्रशन्न भई कुबेरले आफ्नो असली रुप देखाई यमरीको गुण र धानको भकारीमा श्री गणेश, कुबेर, लक्ष्मीको पुजा गरी यमरी चढाउने विधि बताएर गए। सोही अनुरुप सुचन्द्र दम्पतीले यमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादको रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पती अझ वृद्धि भएको खबर जताततै फैलिएपछि त्यहीसमय देखि नेवार समुदायमा यमरी पूर्णिमाको सँस्कृति विकास भएको जनश्रुती रहेको पाईन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.