|

कञ्चनपुर : अख्तियार दुरुयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले छ वर्षको अवधिमा चार हजार बढी उजुरी फर्छ्यौट गरेको छ। 

आब २०७०/०७१ देखि आब २०७५/०७६ सम्मको अवधिमा आयोगको कार्यालयमा परेका पाँच हजार छ सय एक उजुरी मध्ये चार हजार ३७९ उजुरी फर्छ्यौट गरेको हो। जसमध्ये आठ सय २२ उजुरी अनुसन्धानका क्रममा रहेका छन् ।

चालु आबको पहिलो चौमासिकमा आयोगको कार्यालयमा परेका चारसय दुई उजुरी मध्ये २४७ वटा उजुरी फर्छ्यौट गरेको आयोगको कञ्चनपुरका प्रवक्ता टोपबहादुर बिष्टले बताए। उनका अनुसार आयोगको कार्यालयमा परेका उजुरी मध्ये २३७ उजुरी विस्तृत अनुसनधानका लागि छनोट गरी अनुसन्धानपछि प्रतिवेदनसहित आयोगका कार्यालयमा १७७ वटा उजुरी पठाइएका छन्।

चालु आबमा सबै भन्दा बढी कैलालीका ११९, कञ्चनपुरका ८४, दार्चुलाका ३४, बैतडीका ४७, डडेल्धुराका २४, डोटीका ३४, अछामका १९, बझाङका १७ र बाजुराका २१ वटा उजुरी दर्ता भएका छन्।

जिल्ला नखुलेका उजुरी तीन वटा आयोगको कार्यालयमा परेका छन्। आयोगको कार्यालयमा आब २०७०/०७१ मा ७४९, आब २०७१/०७२ मा एक हजार एकसय २६, आब २०७२/०७३ मा ९५८, आब २०७३/०७४ मा ६४४, आब २०७४/०७५ मा ५८८ र आब २०७५/०७६ मा ७३४ उजुरी दर्ता भएका छन्। सबै भन्दा बढी आयोगको कार्यालयमा परेका उजुरीमा स्थानीय तहको विकास निर्माणको कार्यका रहेका छन्। प्रवक्ता बिष्टले भने, ‘त्यसपछि शिक्षामा धेरै उजुरी परेका छन्।’

आयोगका कार्यालयले गरेको स्टिङ अप्रेसनका क्रममा घुसखोरीमा रंगेहात पक्राउ गरी ३४ जनामाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। 'चालु आबमा मात्रै छ वटा स्टिङ अप्रेसन गरेका छौं' आयोगको कार्यालयका प्रवक्ता बिष्टले भने, ‘कञ्चनपुरमा एक, कैलालीमा चार र डोटीमा एक वटा स्टिङ अप्रेसन गरिएको छ।’

भ्रष्टाचार न्यूनीकरणका लागि आयोगको कार्यालयले सामुदायिक शिक्षा कार्यक्रमअन्तर्गत उच्च शिक्षा र क्याम्पसमा पढने विद्यार्थी र शिक्षकलाई भ्रष्टाचारविरुद्धको सामुदायिक सेचतना शिक्षा सँगै अन्तरक्रिया, बैठक र जानकारीमूलक एवं सन्देशमूलक सूचना प्रकाशन र प्रशारण गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.