|

बैतडी : मौसममा आएको परिवर्तनले शुक्रबार बैतडीसहित सुदूरपश्चिमका अधिकांस पहाडी जिल्लामा हिमपात भएको छ। 

दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर  जयपृथ्वी राजमार्गको ढोल्यामोडलगायतका क्षेत्रमा हिमपात भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कमल विष्ट जानकारी दिए।

यस्तै, सुर्नया गाउँपालिकाको रौलाकेदार, धरमपानी सल्मेमा पनि हिमपात भएको स्थानीय रोशन महराले बताए। साथै ग्वाल्लेक सिगासलगायतका क्षेत्रमा पनि हिमपात भएको छ।

दार्चुलाको घुसा, खण्डेश्वरी, व्यासमा पनि हिमपात भएको छ। बझाङको श्रीभावर, बुंगललगायतका उच्चपहाडी क्षेत्रमा पनि हिमपात भएको प्रहरीले जनाएको छ। डडेल्धुराको भीमदत्त राजमार्गको साह्खुर्क, हगुल्टेमा  पनि हिमपात भएको छ। 

जनजीवन प्रभावित

हिमपातले चिसो बढेसँगै यहाँको जनजीवन प्रभावित भएको छ।  चिसोले दैनिक ज्याला मजदुरी गर्ने, विद्यालयको पठनपाठन गर्न विद्यार्थी प्रभावित भएको सुर्नयाका सुरेश महराले बताए। चिसोले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका हुन्। 

किसान हर्षित

लामो समयपछि वर्षासँगै हिमपात भएपछि यहाँका किसान खुसी भएका छन्। लामो खडेरीपश्चात हिमपात र वर्षा भएकोले हिउँदे बालीनाली सप्रिने दोगडाकेदार-३ श्रीकोटका हेमराज गिरीको भनाइ छ। 'खडेरीले छरेको गहुँ सुक्ने अवस्थामा थियो, वर्षाले राहत दिएको छ' उनले भने।

फोटोहरु : राजेन्द्र विष्ट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.