महिलाको कथा हारेको मात्र देखाइनु गलत

|

काठमाडौं :  राष्ट्रिय सभागृहमा किम्फस फिल्म फेस्टिभल चलिरहेको छ। १७ ‌औं संस्करणअन्तर्गत राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा मङसिर २५–२९ सम्म काठमाडौंमा फिल्म प्रदर्शन भइरहेको छ। रम्यता लिम्बू किम्फस फिल्म फेस्टिबलका निर्देशक हुन्। उनले तीनवटा फिल्म निर्माण गरिसकेकी छिन्। साना एक दर्जनभन्दा बढी वृतचित्र पनि बनाएकी छन्।

जब कथाले समाज र दर्शकलाई कस्तो प्रभाव पार्छ त्यसको बृहत अध्ययन गरिन्छ तब मात्र हामी वृत्तचित्रको सुरुवाती चरणमा प्रवेश गर्ने उनी बताउँछिन्। कथाले एउटा क्षेत्र र समुदायको मानिसलाई मात्र प्रतिनिधित्व गर्नुहुँदैन भन्‍ने उनको धारणा छ। उनै निर्देशक रम्यता लिम्बूसँग थाहा खबरकर्मी अतिन आचार्यले गरेको कुराकानी :

काठमाडौंमा किम्फस फेस्टिभल चलिरहेको छ।  व्यस्तता त ह्वात्तै बढेको होला है?

हो नि। अहिले त फिल्म देखाउने काममा व्यस्त छु। प्रत्येक वर्ष किम्फस फिल्म महोत्सव हुन्छ। देश विदेशका वृतचित्रहरू  आएकाले यसमा समय दिइरहेको छु।

महोत्सवको विशेषता के हो?

समाजमा लुकेका कथावस्तु र पात्रलाई सानो पर्दामा महत्वका साथ देखाइन्छ। जहाँ कि पानी बोकेका र पानीको महत्वलाई बुझाउने गरी कथामार्फत देखाइने भएकोले यसको छुट्टै विशेषता छ।

वृत्तचित्र निर्माण गर्ने एउटा लहर चलेको छ। यसमा आकर्षण किन छ?

नेपालमा वृत्तचित्र बन्नुपर्ने गरी कहाँ बनेको छ र छैन नि। यहाँ त अहिले भर्खरै सुरुवात मात्र हो। बनाए पनि यहाँ त्यसरी बनेको पनि छैन। जसले बनाएको छ तिनीहरू कथाको मर्म बुझेर बनाउने दुई/चारजना मात्र छन्। युवा पिढीहरू छन् जसले मूलकथामा प्रवेश नगरी भावनामा बढी बगेर निर्माण गरिरहेका छन्। कथा भनेको सदा यथार्थमा आधारित हुनुपर्छ। प्रविधिको विकास सँगसँगै मानिसले प्रविधिको कथा पनि खोजेका छन् त्यसैलाई प्रयोग गरि उपयोगिताको मर्म बुझेर हो।

किन फिल्म हेर्ने?

मानिसले एकै ठाउँमा बस्दा केही पाउँछ भने फिल्मबाट पाउँछ। आनन्द, मनोरञ्जन, ज्ञान तथा विश्व समाज कसरी चलिरहेको छ त्यो जानकारी एकसाथ फिल्मबाट पाउन सकिन्छ। अझ रोचक कुरा त धैर्य गर्न सिकाउने र उत्सुक हुन सिकाउने पनि फिल्म हो जस्तो लाग्छ।

सिनेमा हेर्नमा कुन उमेर समूहका मानिसहरू लालयित होलान्?

५ वर्षअगाडि भन्दा अहिले मानिसमा जिज्ञासुको भावना पलाएको छ। त्यो के हो भने प्रजातन्त्रको लहर हो। सिनेमाले पनि प्रजातन्त्रको छनक दिन्छ स्वतन्त्रा र बन्दी जीवनका कथाहरू देखाइरहेका हुन्छन। पहिले परिवारका सदस्य एक्लै जान्थे भने अहिले श्रीमान श्रीमती सँगसँगै जान थालेका छन्। यो एउटा राम्रो पक्ष हो। अहिले त बढी मात्रामा युवा पिढीको आकर्षण छ।

अर्को भने वयस्क उमेरका मानिस पनि गइरहेका छन्। विभिन्न पेसाका मानिस पनि जान्छन्। अझ राम्रो कुरा त सिनेमाको कथा बहसको विषय बनेको छ। यसले पनि सिनेमा हेरिन्छ भन्नेको संख्या बढिरहेको छ।

ठूला पर्दामा देखाइने फिल्मले कथा पाउन छोडेकोले वृतचित्रमा आकर्षण बढेको हो?

त्यसो पनि नभनौँ तर, केही भने चाहिँ समस्या छ। अचेल ठूला हलमा देखाइने सिनेमाका कथा बजार केन्द्रित भएर हो। बजारले के मागेको छ त्यसको अध्ययन नगरेर हो। मात्र हास्यव्यंग्य र नयाँ कलाकार र निर्देशक थपिने क्रम बढेको छ। हामी जस्तो वृत्रचित्र बनाउनेले मिहिनेत गर्‍यौँ र वृत्तचित्रको कथामा हाम्रो आकर्षण बढेको हो। वृत्तचित्र समाज पुग्ने सजिलो माध्यम भएको छ जहाँ सानो-सानो प्रविधिले पनि फिल्म निर्माण गर्न सहयोग पुगेको छ।

वृत्तचित्रले समाजको कस्तो कथाहरूको उठान गरिरहेका छन्?

सबैले दुःखका कथाहरू उठाएका छन्। तर, नराम्रो भनेको होइन। वृत्तचित्रमार्फत समाजका विकृति र विसंगति नै देखाउने नै हो। फिल्म पनि एक प्रकारको साहित्य हो। साहित्य भनेको सदा समाजको ऐना हो। फिल्म पढ्न नसक्नेको लागि हो। जहाँ देखेर बुझ्छन्। यहाँ अहिले पनि महिलाको कथा हारेको मात्र देखाइन्छ तर जितेको कहिले देखाइन्न। एक महिला कसरी सफल भएको छिन् तिनले समाज परिवर्तनको लागि कस्तो भूमिका खेलिरहेकी छिन तिनको सम्पूर्ण वृत्तान्त वर्णन गरिएको पाइन्न।

अझ पनि फिल्म समाजको मूलकथासम्म पुगेको छैन। राज्यको पहुँच हुनुपर्छ जहाँ यातायातको सुविधा हुनुपर्छ। त्यस्तो ठाउँमा पुग्छन् कथाले पनि। वृत्तचित्रले फिल्म र प्रकृति एकसाथ देखाइरहेको छ। प्रकृति पनि कथाको विषयवस्तु हो भनेर बुझ्नुपर्छ।

वृत्तचित्र निर्माण गर्दा कथावस्तुको छनोट कसरी हुन्छ?

पहिले जानकारी लिन्छौँ। कथाले समाज र दर्शकलाई कस्तो प्रभाव पार्छ त्यसको बृहत अध्ययन गरिन्छ तब मात्र हामी वृत्तचित्रको सुरुवाती चरणमा प्रवेश गर्छौं। कथाले एउटा क्षेत्र र समुदायको मानिसलाई मात्र प्रतिनिधित्व गर्नुहुँदैन। विश्वव्यापी समाज बनिसकेको छ। मानिसका स्थान फरक होला तर भावना पनि उस्तै हुन्छ। स्थानले कथा बोक्दैन किनभने मानिस त्यहाँ हुन्छन्।

फिल्म बनेका छन भने सबै मानिसमा केन्द्रित रहेर मात्र बनेका छन्। प्रकृतिमा केन्द्रित पनि हुनुपर्‍यो। जहाँ प्रकृतिमा पनि मानिस रमाउन सकेका छन्। कथावस्तु अब फरकफरक ढंगले चयन गर्नुपर्छ। त्यो कथा अब वृत्तचित्रले मात्र ल्याउन सक्छ भन्ने विश्वास छ। जहाँ नयाँ पुस्ताहरु आइरहेका छन्। अध्ययन र प्रविधिमा पोख्त छन्।

वृतचित्रले समाजलाई कस्तो प्रभाव पारिरहेको छ?

समाज हिजो जस्तो थियो आज पनि त्यस्तै छ। समाजको रंग न फेरिएको छ न आवाज मात्र समाजमा बसोबास गरिरहेका मानिसको महसुस बदलिएको छ। वृतचित्र समाजको आवाज बनेको छ। किनभने समाज भन्नेबित्तिकै मानिस भन्ने आउँछ मनमा। वृत्तचित्रले सदा सुक्ष्म कथा खोजिरहेका हुन्छ। कालान्तरमा त्यहीँ सुक्ष्म कथा नै बृहत कथा बन्न सक्ने गरी उदाउनेछन्।  समाजले खोजेको फिल्म पनि बनिएन र यहाँ साहित्य पनि लेखिएको छैन। केही मात्रामा चेतनाको विकास भने अवश्य गरेको छ। अनुभव बटुल्नसक्ने भएका छन्।

नेपालमा फिल्मको ट्रेण्ड कस्तो छ?

आर्थिक असमानताले सामाजिक, सांस्कृतिक र मानसिक तहमा पारेको दुष्प्रभावको बारेमा समाज निर्माण गर्ने फिल्म बन्नुपर्थ्यो। तर, यहाँ लोकप्रियता कमाउने उद्योग स्थापना र प्रतिस्पर्धा गर्ने माध्यम बनेको छ।

यहाँ उदाहरण दिनेगरी फिल्म बनेको नै छैन मूलधारका फिल्ममा। कथावस्तुभन्दा पनि दृश्यलाई महत्त्व दिने खालको बनिरहेको छ। यो दुःखद हो नेपाली चलचित्र प्रेमीहरूको लागि। फिल्मले एउटा सन्देश दिनुपर्थ्यो तर कथाले अर्कै कुरा भनिरहेको छ।

दर्शकलाई अलमल्लमा पार्ने फिल्म बन्नु भनेको त दर्शकलाई अन्याय गर्नु हो। आगन्तुक कथा बनिरहेको छ। मौलिकता हराएको छ। मौलिकतालाई भुलेर आधुनिकतालाई भित्र्याउनु भनेको त नेपाली फिल्मी संस्कृतिको अपमान गर्नु हो। त्यस्तै पनि भइरहेको छ।

किन नेपाली चलचित्रमा मौलिकताको अभाव छ?

बजारको माग बुझे जस्तो गरेर हो। तर, निर्माता कम्पनीहरूले अध्ययन र मिहिनेत नै गर्दैनन्। एउटा चलचित्र हेरिसकेपछि समाजको चार भागको एक भाग बुझ्नुपर्ने थियो। कथा एकातिर दृश्य अर्कातिर छ। यो हुनु भनेको प्राविधिक पक्ष तथा कथावस्तुको तालमेल हुन नसक्नु हो। आधुनिकताको स्वाद पस्कनेबित्तिकै चलचित्र उत्कृष्ट हुन्छ भन्नु ठूलो भ्रम हो। सदा उत्कृष्ट चलचित्र कथावस्तुले हुन्छ। न कि कलाकार तर, यहाँ कलाकार सर्वेसर्वा हो भन्ने छ।

यसरी बनेका चलचित्र र वृत्तचित्रले समाज परिवर्तनको लागि कस्तो भूमिका खेलिरहेका छन्?

माध्यम हो परिवर्तनको प्रक्रिया हो। हामीले त समाज देखाएका हौँ। समाजमा यस्तो पनि छ। जहाँ समाज यस्तो रहेछ यस्तो बनिरहेको छ। समाजलाई यस्तो बनाउन सकिन्छ भन्न खोजेका हौँ। समस्या देखाउने मात्र हो।

कथामार्फत देखाउन खोजिरहेका छौँ। हामीले परिवर्तन गर्न सक्दैनौँ। सचेत हुनुपर्छ र चेतना दिने कोसिस गरिरहेका छौँ। फिल्म पनि सूचना दिने एक सशक्त माध्यम हो।

महिलाका दुःखका कथा र संवेदना बढी आए तर पुरुषका पनि त छन्। जहिल्यै पुरुषलाई किन खराब चरित्रका रूपमा देखाइन्छ?

समाजको सांस्कृतिक प्रभाव हो। पितृसत्तात्मक सोचको कारणले हो। अधिकांश साहित्य लेखनमा पुरुष बढी सक्रिय छन्। फिल्म निर्माण हुनु भनेको साहित्यको एक अंश नै हो। आफैँलाई बिर्सेर कथा लेख्छन्। त्यहाँ महिलालाई कमजोर देखाइन्छ। महिला कमजोर हो भन्ने बुझाइ छ।

पुरुष सधा हिरो हुनुपर्ने हो। ठूलो पदमा पुरुष नै हुनुपर्ने देखाइएको छ। कथाको पात्रको चरित्र परिवर्तन गर्नुपर्छ। समाज रूपान्तरणको प्रक्रियामा छ। पुरुषको पनि दुःख छ त्यो आउन नसक्नुको कारण भनेको निर्माताको कमजोर हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.