|

डडेल्धुरा : डडेल्धुरा सदरमुकाम क्षेत्रमा हिउँ पर्न थालेको छ। शुक्रबार साझदेखि हिउँ पर्न सुरु भएको हो।

सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा शुक्रबार बिहानैदेखि हिमपात सुरु भएकोमा डडेल्धुरा सदरमुकाममा भने साझ ७ बजेपछिबाट मात्रै हिउँ पर्न सुरु भएको हो। डडेल्धुरा सदरमुकाममा गत वर्ष पनि हिउँ परेको थियो।

डडेल्धुरा सदरमुकामसहित घना जंगल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्याधिक चिसो बढेको छ। डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो।

बिहीबार बेलुकीदेखि पानी पर्न सुरु भएसँगै शुक्रबार बिहानदेखि हिमपात सुरु भएको हो। यस वर्ष मंसिर महिनामै पहाडका घना जंगल एवं उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो।

डडेल्धुरा सदरमुकामको अहिलेको तापक्रम ३.२ डिग्री सेल्सियस छ। यो तापक्रम यस वर्षको अहिलेसम्मकै न्यून हो। अहिलेसम्म ७.० मिलिलिटर वर्षा भएको हावापानी फिल्ड कार्यालय डडेल्धुराले जनाएको छ।

जल तथा मौसम विभागले जारी गरेको विज्ञप्तिअनुसार शनिबार दिनरात वर्षाको सम्भावना रहेको छ भने आइतबार मध्यान्ह १२ बजेपछि मोसम खुल्ने सम्भावना रहेको हावापानी फिल्ड कार्यालय डडेल्धुरा प्रमुख श्याम सुनारले बताए।

एक्कासि बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्।

हिउँदे यामको यो पहिलो वर्षा हुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने झरीसँगैको हिमपातले धेरै राहत पुर्‍याएको छ। हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको छ। झरीसँगै हिमपात भएकोले किसान भने खुसी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.