फिचर

'पढेको मान्छे कृषिमा लागेको देखेर मलाई पागल भने'

स्वअध्ययनबाटै वैज्ञानिक, अर्गानिक उत्पादनको आफ्नै फार्म

माघ १०, २०७६

    तनहुँ : नेपाल सरकारले अहिले कृषि र प्रविधिलाई विशेष प्राथमिकता दिएको छ। सरकारले प्रांगारिक उत्पादनलाई जोड दिएको छ। वैदेशिक रोजगारीलाई न्यूनीकरण गरी कृषिलाई प्राथमिकता दिँदै प्रांगारिक उत्पादनमा युवा परिचालन गर्न लागिपरेको छ। 

    पर्यटकको प्रांगारिक खाना र वास्तविक स्वादमा आकर्षित भएको पाएपछि फोटोग्राफी र पर्यटन प्रवर्द्धनमा लागेका एक व्यक्ति कृषि पेशातर्फ लागेका छन्। पाँच वर्षदेखि फोटोग्राफी छोडेर जैविक र प्राकृतिक कृषिबाट व्‍यावसायिक र आत्मनिर्भर बन्नुपर्छ भनेर कृषि क्षेत्रमा लागेका व्‍यक्ति हुन् तनहुँको शुक्लागण्डकी ३ का ३८ वर्षीय महेन्द्रकुमार श्रेष्ठ। 

    व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका श्रेष्ठले १२ रोपनी क्षेत्रफलको जग्गामा होली ग्रीन एग्रो फार्म नाम दर्ता गरेर कृषि उत्पादनमा लागेका छन्।  पर्यटकलाई नेपालमा बढीभन्दा बढी भित्र्याउने हो भने प्रांगारिक उत्पादनलाई प्राथमिक दिने उनको उद्देश्य छ।

    नेपालमा पर्यटक आकर्षित गर्न वैज्ञानिक अध्ययनअनुरूप प्रांगारिक कृषि उत्पादन गर्न जरुरी रहेको उनको अनुभव छ। उनले यस फार्ममा विभिन्न प्रजातिका बोटविरुवा, फलफूल, खाद्यान्न उत्पादन गर्छन्। विभिन्न प्रजातिका फलफूलसमेत फार्ममा पाइन्छन्। 

    फलफूल, खाद्यान्नको वास्तविक स्वादसहित प्रांगारिक उत्पादनलाई जोड दिनुपर्ने उनी बताउँछन्। प्रांगारिक खाद्यान्न उत्पादनका लागि विभिन्न प्रविधि र रासायनिक प्रयोगभन्दा पनि प्रकृति र ग्रहहरूको चक्रीय प्रणालीअनुरूप हुने उत्पादनमा कृषिको नियमलाई कृषकले बुझ्न जरुरी रहेको श्रेष्ठको बुझाइ छ। 

    खाद्यान्नको वास्तविक स्वाद आउने गरी उत्पादनका लागि फोर्स ग्रोथभन्दा समयानुकूल वातावरण बनाउनुपर्ने उनको भनाइ छ। वास्तविक स्वाद आउने गरी उत्पादनका लागि उर्वर माटो बनाउन जरुरी रहने उनी बताउँछन्। चिनी मल, गेडे मललगायतका केमिकलयुक्त सामग्री प्रयोगबाट गरिएको उत्पादनले स्वास्थ्यलाई असर गर्ने श्रेष्ठ बताउँछन्। 

    कतिले मलाई पागल भन्थे

    ‘मलाई कृषि पेशामा लागेपछि स्थानीयले त्यत्रो पढेर पनि कृषिमा लागेको भनेर पागल भन्ने गर्थे,’ उनले भने, ‘तर अहिले उत्पादनसँगै अर्गानिक खाद्यवस्तु खाने गरेको र आफूले उत्पादन गरेको खाद्यान्नको मागसमेत वृद्धि भएको छ।’  अन्य गाउँका केही कृषक श्रेष्ठसँग परामर्श लिने गरेको उनी बताउँछन्। उनले आफ्नो फार्ममा अध्ययनको केन्द्र बनाउने योजना रहेको पनि उनले बताए। 

    बिदाको समयमा कलेज, विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक कृषि अध्ययनको स्थान बनाउने योजना रहेको उनको भनाई छ। फार्ममै बसेर अध्ययन गर्ने वातावरण बनाउने तयारी गरेको उनी बताउँछन्। अर्गानिक उत्पादनलाई प्रवर्द्धन गर्नका लागि अध्ययनको केन्द्र बनाएर ग्लोवल फोरमसम्म पुर्‍याउने उनको उद्देश्य छ।

    तालिमभन्‍दा स्वअध्ययनमा जोड

    प्राकृतिक उत्पादन र प्रांगारिक खाद्यान्नका लागि ग्लोबल फोरममा पुर्‍याउन सके नेपालको पहिचानमा समेत टेवा पुग्ने श्रेष्ठ बताउँछन्। जीव विज्ञान र माटोको अध्ययनबाट नै आफू कृषिमा आकर्षित भएको श्रेष्ठ बताउँछन्। जीव, प्रकृति, वातावरण, वास्तु तथा अन्तरिक्षको विज्ञान अनुसार कृषि पेशा गर्न सके उत्पादन अर्गानिक हुने उनको भनाई छ। किसानले आफ्नो मिहिनेत बाहिर लगेर बिक्री नगरोस् भन्ने उनको लक्ष्य छ। 

    अध्ययनसहित आफूले प्रयोगमा ल्याउने गरेको र सधैं अध्ययन र अनुसन्धान गर्दै कृषि कर्म गरिरहेको उनी बताउँछन्। ‘तालिमभन्दा स्वअध्ययनले आफूले अर्गानिक खेती गरेको छु। किसानले बाहिर खर्च गर्ने होइन भन्ने मान्यता छ,’ उनले भने। श्रेष्ठको फार्ममा १०० भन्दा बढी प्रजातिको फलफूल तथा कृषि उत्पादन हुने उनले बताए। प्रांगारिक तथा जैविक विविधतायुक्त खाद्यान्न उत्पादन गर्ने उनले बताए। 

    स्वदेश तथा विदेशबाट अध्ययन गर्न आउने

    फार्ममा स्वदेश तथा विदेशबाट समेत कृषिका विद्यार्थी तथा किसानहरू आउने गरेको उनले बताए। विद्यार्थी, युवा तथा ग्लोबल फोरमबाट प्रचारप्रसार गर्ने योजना रहेको उनले बताए।

    केही समयअगाडि मात्रै यो फार्ममा विदेशदेखि समेत जैविक पद्दतिबाट प्रांगारिक उत्पादनमा लागेकोले अध्ययनका लागि स्वअध्ययन गरी फार्म स्थापना र सञ्चालनमा ल्याएको उनले बताए। सबैभन्दा पहिले आफैँले स्वअध्ययनबाट काम गर्न सके प्रांगारिक उत्पादन गर्न सकिने र स्वास्थ्यमा हुने हानिलाई कम गर्न सकिने उनको अध्ययन छ।      

    जति घाँस उति माटो उर्वर

    खेतबारीमा घाँस बढी भएमा दिक्क मान्ने गरेका हुन्छन्। तर, जति खेतबारीमा घाँस उम्रिएको पाइन्छ, उति माटो उर्वर हुने कृषक श्रेष्ठको बुझाइ छ। वास्तुशास्त्र र धार्मिक मान्यतासँग कृषि उत्पादनसमेत एकापसमा जोडिने गरेको श्रेष्ठ बताउँछन्। 

    प्रकृति, धार्मिक, वास्तुशास्त्र र ज्योतिषशास्त्रसमेत कृषि उत्पादनसँग सम्बन्धित रहने गरेको प्रयोगात्मक विश्वास छ। प्राकृतिक उत्पादन गरिएको ठाउँमा चराचुरुंगी, किरा, फट्याङ्ग्रा आउने र कृषि उत्पादनमा प्राकृतिक मल प्राप्त हुने उनी बताउँछन्। खेती गर्दा खेतबारीको छेउछाउमा रूखविरुवा लगाएमा विभिन्न रोगको समेत निराकरण गर्न सकिने उनको अध्ययनले प्रमाणित गरेको उनी बताउँछन्। 

    भौतिक पूर्वाधारको विकास जरुरी

    कृषि उत्पादनलाई प्रवर्द्धन र विकासका साथै आयस्तर वृद्धि गर्नका लागि भौतिक पूर्वाधार विकास गर्नुपर्ने श्रेष्ठ बताउँछन्। कृषिमा आत्मनिर्भर बनाउनका लागि बजार व्यवस्थापन गर्न जरुरी रहेको उनी बताउँछन्।

    कृषि उत्पादन गरेपछि बजारसम्म पुर्‍याउनका निम्ति सडक, यातायात र सञ्चारको सुविधा हुनुपर्ने उनको भनाई छ। कृषिलाई अनुदान दिनुभन्दा यी तीन क्षेत्रको विकास गर्न सके उत्पादित कृषि उपजको विक्री वितरणमा सहज हुने प्रयोगात्मक अध्ययनले देखाएको उनी बताउँछन्। 

    प्रांगारिक मल उत्पादन

    कृषकलाई आफ्नो थोरै जग्गामा लगाइएको खेतबारीबाट धेरै उत्पादन लिने अपेक्षा हुन्छ। छोटो समयमा धेरै उत्पादन गर्नका लागि कृषकले फोर्स ग्रोथ गराउने गरेकोप्रति उनी चिन्तित छन्। प्राकृतिक रूपमै उत्पादन धेरै गर्न सकिने उनको प्रयोगात्मक अध्ययन छ। 

    कृषि उपजको अर्गानिक स्वाद ल्याउनका लागि उनले माटोलाई उर्वर बनाउन आफैँले प्रांगारिक मल उत्पादन गर्छन्। माटोलाई आवश्यक पर्ने मल, किरा फट्याङ्ग्रा भगाउनका लागि औषधिसमेत आफैं घरमा बनाउने गर्छन्।

    बजारमा आउने गरेको रसायनिक मलको प्रयोग भने गर्दैनन्। अर्गानिक उत्पादनका लागि आवश्यक पर्ने मलसमेत आफैँले निर्माण गर्ने विभिन्न तरिका रहेको समेत उनी बताउँछन्। 

    खाद्यान्नको खपत 

    धेरै ठाउँका किसानले खाद्यान्नका विभिन्न सामग्री बजार नपाएको भन्ने गुनासो आउने गरेको छ। तर, उनको फार्ममा उत्पादनको माग अनुसारको बजारमा पुर्‍याउन नसकेको उनी बताउँछन्। उनको फार्ममा उत्पादित वस्तुमा वास्तविक स्वाद भएकाले धेरै ठाउँबाट पहिले नै अर्डर गर्ने गरेको उनी बताउँछन्।

    श्रेष्ठको फार्ममा उत्पादित धान, मकै, गहुँ, भटमास लगायतका खाद्यान्न धेरै ठाउँमा खपत हुने गरेको छ। स्थानीय बजारमा नै उनको उत्पादनले बजार पाउने गरेको उनी बताउँछन्। मकैका विभिन्न प्रजाति, भटमास, धानको समेत धेरै प्रजाति लगाउने गरेको र उत्पादनसमेत राम्रो रहेको उनी बताउँछन्। 

    चक्रीय प्रणालीबाट उत्पादन वृद्धि

    चक्रीय प्रणालीलाई अवलम्बन गर्न सके उत्पादनमा वृद्धि हुने होली एग्रोका सञ्चालक श्रेष्ठ बताउँछन्। एउटै ठाउँमा सधैं एउटै प्रजातिका कृषि खेती गर्दा पनि उत्पादनमा कमी आउने उनको भनाइ छ। 

    चक्रीय रूपमा कृषि कर्म गर्न सके उत्पादन मनग्य हुने उनी बताउँछन्। ‘एक वर्ष धान लगाइएको ठाउँमा अर्को वर्ष मकै लगाउने गर्नुपर्छ। मकै लगाइएको ठाउँमा अर्को वर्ष अरू नै लगाउनुपर्छ अनि मात्रै उक्त स्थानको माटो मलिलो हुन्छ। उत्पादनमा ह्रास आउँदैन’, उनले भने, ‘सधैं एकै प्रकारका खाद्यान्न बाली लगाउनुभन्दा वर्षैपिच्छे फेर्नुपर्छ। त्यसले उत्पादनमा नोक्सानी व्योहोर्नु पर्दैन।’

मिला दरै

दरै थाहा खबरका तनहुँ समाचारदाता हुन्। Email : darai.milamd@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]