|

काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई साहित्यक संग्रहालय बनाउने प्रक्रिया शुरु भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानले देवकोटाको मैतीदेवीस्थित आवास ‘कविकुञ्ज’ लाई संग्रहालय बनाउने प्रक्रिया शुरु गरेको हो। 

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले महाकवि देवकोटाको आवासलाई किनेर संग्रहालय बनाउने जिम्मा प्रतिष्ठानलाई दिएपछि संग्रहालय बनाउने कामको शुरुवात गरिएको प्राज्ञ एवं प्रतिष्ठानको मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी मालीले जानकारी दिइन्।

महाकवि देवकोटा आफैँले निर्माण गरेको मैतीदेवीस्थित करिब १३ आना क्षेत्रफलसहितको घर सरकारले दुई करोड ४२ लाख रुपैयाँमा किनेको छ। देवकोटाको आवास आइतबार मालपोत कार्यालयबाट नामसारी भइ प्रतिष्ठानको स्वामित्वमा आइसकेको छ।

देवकोटा निवास सरकारको स्वामित्वमा आएपछि मंगलबार प्राविधिकसहितको प्रतिष्ठानको टोलीले मैतीदेवीको कविकुन्जको स्थलगत अवलोकन गरेको प्राज्ञ मालीले जानकारी दिइन्।

‘प्रज्ञा-प्रतिष्ठानको स्वामित्वमा आएको मैतीदेवीस्थित महाकवि देवकोटाको घरम प्राविधिकहरूसहितको प्रतिष्ठानको टोलीले स्थलगत अवलोकन गरेको छ। साथै घरको गेटमा ताला लगाउने काम पनि गरिसकेको छ’ मालीले भनिन्। 

मातृभाषा साहित्य विभाग प्रमुख मालीले भनिन्,‘हाल रहेको भवन अत्यन्त जीर्ण छ। अब तत्कालै प्राविधिक तथा विशेषज्ञसँगको परामर्शबाट विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी भवन निर्माण कार्य प्रारम्भ हुनेछ।’ 

पुरानो संरचना भत्काएर पहिलेकै जस्तो दुरुस्त बनाइने र त्यसमा साहित्यिक संग्रहालय बनाइने प्रतिष्ठानले जनाएको छ। साहित्यिक संग्रहालय बनाउन र सञ्चालन गर्न सरकारले प्रतिष्ठानलाई नै जिम्मेवारी दिएको हो। प्रज्ञा प्रतिष्ठानको स्थापना विसं २०१३ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाकै परिकल्पनामा भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा देवकोटाको पुरानो घर सरकारले किनेर संग्रहालय बनाउने घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.