|

पाल्पा : निस्दी गाउँपालिका–७ ज्यामिरेस्थित मोलोग्रामका किसानले सामूहिक केरा खेती गरेका छन्। सिङ्गो गाउँका किसान मिलेर गाउँ नजिक रहेको सामुदायिक वनमा तीन वर्षदेखि सामूहिक केरा खेती गर्दै आएका हुन्। झाडी र वनमाराले भरिएको वनमा केरा खेती हुन थालेपछि यहाँका किसान खुसी भएका छन्। 

परम्परागत खेती गर्दै आएकी गाडादी कवुलियती वन उपभोक्ता समूहका सचिव सञ्जिता ठाडा सामूहिक केरा खेतीबाट खुसी भएको बताउँछिन्। ‘झाडीले भरिएको डरलाग्दो वन फाँडेर सफा गर्‍यौं’ उनले भनिन्, ‘विरुवा रोप्ने, गोडमेल गर्ने र पाक्न लागेको केरा टिप्ने काम समेत सबै दिदीबहिनी मिलेर गर्दै आएका छौं।’

गाउँका अधिकांश पुरुष रोजगारको सिलसिलामा विदेशतिर गएका छन्। निर्वाहमुखी खेती किसान गर्दै आएका किसानलाई यो व्यवसायले अन्य व्यवसाय गर्न समेत प्रेरणा मिलेको सचिव ठाडाले बताउँछिन्। 

कवुलियती वन कार्यक्रमअन्तर्गत व्यावसायिक केरा खेती गरिएको हो। दुई समूहका किसान मिलेर सामूहिक केरा खेती गर्दै आएको गाडादी–टोकल्कदी कवुलियती वन उपभोक्ता समूहका अध्यक्ष रमनबहादुर सारुले बताए। समूहमा २५ घरपरिवारको सदस्य आवद्ध छन्। 

‘खोरिया फाँड्ने, केराका विरुवा रोप्ने, बेलबेलामा विरुवामा मल राख्ने र गोडमेल गर्न समूहका सदस्य आउँछन्,’ अध्यक्ष सारुले भने, ‘पाकेको केरा टिपेर मोटरबाटोसम्म पु¥याउने काम समेत समूहन नै मिलेर गर्छन्।’

यहाँ तीन वर्ष पहिले केरा खेती थालिएको हो। आम्दानी भने दुई वर्षदेखि हुन थालेको अध्यक्ष सारुले बताए। गतवर्ष पाँच लाख रुपैयाँको केरा बिक्री भएको थियो। यो वर्ष करिब १० लाख रुपैयाँको उत्पादन हुने अनुमान छ। केरा खेतीलाई अझै विस्तार गर्न सरकारले सहयोग गर्नुपर्ने उनीहरुको माग छ। 

यहाँ उत्पादित केरा नवलपरासीको विडीपुर, छिमेकी पूर्वखोला गाउँपालिका र होंसी सिमेण्ट कम्पनीको सडकमा बिक्री हुँदै आएको छ। नवलपरासीको बर्दघाटबाट पनि सातामा २/३ ट्रक केराको माग आए पनि माग पूरा गर्न नसकेको अध्यक्ष सारुले बताए। हाल सातामा एक गाडी केरा उत्पादन हुँदै आएको छ। यहाँबाट आम्दानी भएको रकम समूहका सदस्यले दामसायीको रुपमा बाँडेर लिन गर्छन्। उनीहरुले जिविकोपार्जनका लागि यो रकम खर्च गर्दै आएका छन्।
 
१७ हेक्टर क्षेत्रफल २५ हजार केराका बोट रोपिएको जिल्ला जिल्ला वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले जानकारी दिए। ७ हेक्टर जग्गा केरा खेतीका लागि कबुलियती वन कार्यक्रम अन्तर्गत यहाँका स्थानीयलाई हस्तान्तरण गरिएको छ।

सुरुमा कृषि कार्यालय र ओकेबाजेबाट केराको विरुवा सहयोग भएको थियो। पछिल्लो समयमा वन कार्यालयले निरन्तर बजेट विनियोजन गर्दै आएको छ। गत वर्ष एक लाख रुपैयाँ विनियोजन भएको थियो। प्रत्येक वर्ष एक लाखभन्दा बढी रकम विनियोजन गर्दै आएको प्रमुख पौडेलले बताए। उक्त बजेट गोडमेल गर्दा खाजाका लागि खर्च हुने गरेको छ। 

केरा खेतीका लागि जिल्ला वन कार्यालयले प्राविधिक समेत खटाएको छ। कवुलयिती वन विकास कार्यक्रम डिभिजन वन कार्यालय पाल्पाका वन प्राविधिक रामचरण चौधरीले वन फडानीदेखि जग्गा विकास र केराको उत्पादन हुँदासम्म प्राविधिक सहयोग गर्दै आएका छन्। 

चौधरीले केरा खेतीको तौरतरिकाबारे किसानलाई सहजीकरण गर्दै आएका छन्। ‘केरा खेतीको लागि चैत र वैशाखमा झाडी सफा गर्ने र आगो लगाउने काम गर्नुपर्छ’ प्राविधिक चौधरीले भने ‘जग्गा विकास कन्टुर बनाउने, कन्टुरमा बोट रोप्नको एक मिटर गहिरो खाडल खन्ने काम हुन्छ।’ 

उनका अनुसार केराको विरुवा रोप्न माघ महिना उत्तम मानिन्छ। तर, पहाडी भूभागमा भने माघ महिना सुख्खा हुने हुँदा असारमा रोप्ने गरिन्छ। करिब आठ महिनाको जीवन रहने केराको दुई पटक गोडमेल गरे पुग्छ। एउटा बोटले तीन पटकसम्म बच्चा दिन्छ। जेठमा गोडमेल गरेको केराको बोट असोजमा पसाउँछ। त्ययसपछि माउ बोटको जीवन सकिन्छ। त्यसको बच्चाको हेरचाह गर्नुपर्छ।

यहाँ मालभोग र राहुस्टार प्रजातिको केरा रोपिएको छ। केराबाट अचार, सब्जी, चिप्स, मःम लगायतको परिकार समेत बन्दछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.