|

कञ्चनपुर : राजेन्द्र निर्माण सेवा कम्पनीले कञ्चनपुरमा आठवटा पुल अलपत्र पारेको छ। राजेन्द्र निर्माण सेवाले ठेक्का लिएर तोकिएको समयमा काम नसकी पुल निर्माण अलपत्र पारेको हो।

निर्माण सेवाले कञ्चनपुरको दोदा नदी, मुसेपानी खोला, जडेपानी खोला, चौधर नदी, सुतिया नदी, कामिकाटे खोला, खस्सर खोला र भुजेला खोलामा पुल निर्माण गर्ने जिम्मा पाएको थियो। तर, अधिकांश पुलको निर्माण सम्झौता सकिए पनि काम भने नसकिएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ।

तोकिएको समयमा काम नसक्ने निर्माण कम्पनीलाई कारबाही गरिने सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए। सडक कार्यालयले राजेन्द्र निर्माण सेवा कम्पनीलाई जरिवाना गरिने उनी बताउँछन्। ‘निर्माण व्यवसायीलाई समयमै काम गर्न ताकेता गरिरहेका हुन्छौं’, उनले भने,‘समयमा काम नगर्ने सबै निर्माण व्यवसायीलाई कारबाही हुन्छ।’ 

दोदा नदीमा पुल निर्माण एकवर्षदेखि ठप्प

लालझाडी गाउँपालिकाको देखतभुली–पर्सिया जोड्ने दोदा नदीमाथिको पक्की पुल निर्माण अलपत्र परेको छ। पुलको डिजाइनमा प्राविधिक समस्या देखिएपछि पुल निर्माण अलपत्र परेको हो।

२०७२ पुस २६ देखि सुरु भएको पुलको निर्माण कार्य १ वर्षदेखि ठप्प छ। देखतभुली-पर्सिया जोड्ने १७० मिटर लामो पक्की पुल २०७५ पुस २६ गतेसम्म निर्माण सम्पन्न गरिसक्नु पर्थ्यो। तर, फुटपाथसहित २ लेनको पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनी लुम्बिनी राजेन्द्र श्रेष्ठ जेभीले प्राविधिक समस्या आएको भन्दै निर्माण ठप्प पारेको छ। 

पुलको डिजाइनमा समस्या आएकाले पुल निर्माणमा ढिलाई भएको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशी बताउँछन्। ‘पुलको डिजाइनमा समस्या रहेछ। निर्माण व्यवसायीले पुलको डिजाइन रिभ्युको माग गर्दै पत्र दियो,’ उनले भने,‘पुलको डिजाइन परिवर्तनमा समय लाग्यो। अहिले विभागले नयाँ डिजाइन परिवर्तन गरेर पठाएको छ।’

निर्माण व्यवसायीलाई पुल निर्माणको कार्य सुरु गर्न पत्राचार गरिएको उनी बताउँछन्। ‘नयाँ डिजाइन अनुसार काम गर्न निर्माण व्यवसायीलाई पत्राचार गरेका छौं’, उनले भने,‘निर्माण व्यवसायी तिहारपछि काम सुरु गर्ने जनाएको थियो।’

सुतिया नालामा पिलर मात्रै निर्माण

बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिका जोड्ने सुतिया नालाको पुल निर्माण गर्नुपर्ने म्याद सकिएको एक वर्ष भयो। तर, पुल निर्माण हुन सकेको छैन। पुल अधुरै रहँदा स्थानीयले सास्ती खेप्नु परिरहेको छ। सडक डिभिजन कार्यालय, कञ्चनपुरले पुल निर्माणका लागि ७ जेठ, २०७४ मा राजेन्द्र निर्माण सेवासँग ५ करोड ८७ लाखमा ठेक्का सम्झौता गरेको थियो। 

सम्झौताअनुसार, गत वर्षको ५ मंसिरमा पुल निर्माण हुनुपर्ने हो। तर, सडक डिभिजन र निर्माण व्यवसायीको लापरबाहीले अझै पनि बन्न सकेको छैन। निर्माण कम्पनीले दुवै किनारमा दुई पिलर खडा गरेको छ। पोलको दायाँबायाँ स्लेभ र तारजाली राखिएको छ। निर्माण कम्पनीले विद्युत् लाइन नसार्दा ढिलाइ भएको जनाएको छ।

राजेन्द्र निर्माण सेवाका इन्जिनियर रोशन भट्टले पुल निर्माणस्थलको ठिकमाथि विद्युतको हाइटेन्सेन लाइन भएकाले सार्न ढिलाइ भएको बताए। ‘विद्युत्का पोल सार्नका लागि सडक र सडकले विद्युत् प्राधिकरणलाई पटक–पटक पत्र लेखेर अनुरोध गर्दा पनि वास्ता नै गरिएन। त्यही भएर ढिलाइ भएको हो’, उनले भने। दोस्रोपटक म्याद थप गरेर ६ महिनाभित्रै पुल निर्माण गरिने उनको भनाई छ।

सडक डिभिजन कार्यालयले अब समयमै काम नगरे कारबाही गरिने जनाएको छ। अहिले ७० प्रतिशत काम सकिएको र अब ढिलाइ गरे कारबाही गरिने सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए। ‘रिलोकेसन र विद्युत् पोल सार्दा केही समय लागेको हो’, उनले भने। निर्माण कम्पनीले ढिलाइ हुने कारण पेस नगरेको र अब काम पूरा नगरे कम्पनीलाई कालोसूचीमा राख्न विभागलाई पत्र पठाइने उनको भनाइ छ।

काम सकिएन, म्याद सकियो

राजेन्द्र निर्माण सेवा कम्पनीले निर्माणको जिम्मा पाएका अधिकांश पुल समय अवधि सकिएको छ। तर, काम भने सकिएको छैन। भीमदत्त नगरपालिका ११ माता कुटियानजिक भुजेला खोलामा पुल निर्माण गर्ने म्याद सकिए पनि काम सकिएको छैन। सुरु हुन सकेको छैन।

डडेल्धुराको पर्शुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउँदको कम्पनी राजेन्द्र निर्माण सेवाले निर्माणको जिम्मा लिएको ४२ मिटर लामो, ११ मिटर चौडाई र करिब ५ करोड रुपैयाँको सो पुलको निर्माण कार्य अलपत्र अवस्थामा छ। भुजेला खोलामा पक्की पुल निर्माणको लागि २०७४ जेठमा राजेन्द्र निर्माण सेवा र सडक डिभिजन कार्यालय महेन्द्रनगरबीच ठेक्का सम्झौता भएको थियो।

ठेक्का सम्झौता अनुसार २०७५ मंसिरसम्म पुल निर्माण गरिसक्नु पर्ने हो। ठेकेदार कम्पनीले पुल निर्माणमा ढिलासुस्ती गरेको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ। भुजेला खोलामा पुल निर्माण कार्य तीब्र गतिमा अगाडि बढाउन निर्माण व्यवसायीलाई पत्राचार गरिएको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशी बताए।

पुल निर्माणमा अब ढिलाइ गरे कारबाही गरिने उनको भनाई छ। यस्तै, कामिकाटे खोलामा ५० मिटरको पुल निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीले ३ करोड ६३ लाखामा जिम्मा पाएको छ।  पुल निर्माणको म्याद २०७५ असार ३० गते सकिए पनि काम पूरा गरेको छैन। यसैगरी वेदकोट नगरपालिकाको जडेपानी खोलामा राजेन्द्रले २०७४ जेठमा तीन करोड ८३ लाखमा ठेक्का सम्झौता गरेको पुल अधूरै छोडेको छ।

थेगिमलाई एक करोड बढी जरिवाना

सडक डिभिजन कार्यालय कञ्चनपुरले समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरेको छ। सडक डिभिजन कार्यालयले समयमा काम नगर्ने थेगिम गाल्वा कन्स्ट्रक्सनलाई कारबाही गरेको हो। बंक नायल बुडर सडक खण्डअन्तर्गत खार खोला र ओदाली खोलामा पुल निर्माणको जिम्मा पाएको थेगिमले समयमै काम पूरा नगरेकाले कारबाही गरिएको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी जोशीले बताए। उनका अनुसार निर्धारित समयमा काम नसक्ने र म्याद थप्नका लागि आवश्यक कारण नदेखिएपछि ठेकेदार कम्पनीलाई एक करोड ६ लाख रुपैयाँ जरिवाना लगाइएको हो।

‘थेगिमलाई खार खोलामा ५८ लाख र ओदाली खोलामा ४८ लाख रुपैयाँ जरिवाना लगाइएको हो’, उनले भने,‘ यस आर्थिक वर्षमा पल निर्माण पूरा नगरेपछि निर्माण व्यवसायीलाई थप कारबाही हुन्छ।’ निर्माणमा ढिलासुस्ती गर्ने कम्पनीलाई कारबाही गरेर राजश्व संकलन गरिएको सूचना अधिकारी जोशी बताउँछन्।

‘समयमा काम गर्न निर्माण व्यवसायीलाई पटक-पटक ताकेता गरेका थियौं’, उनले भने,‘तर, निर्माण व्यवसायीले पुल निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाउन चासो दिएन।’

पुल निर्माणमा ढिलासुस्ती

बंक नायल बुडर सडक खण्डअन्तर्गत कृष्णपुर नगरपालिका १ दोमिल्लाको खार खोला र ओदाली खोलामा पुल निर्माण सम्झौता सकिएको डेढवर्ष बितिसक्दा समेत निर्माण अधुरै छ। निर्माणको जिम्मा पाएको थेगिम गाल्वा कन्स्ट्रक्सन काम नर्गदा निर्माणको कार्य अधुरै रहेको हो।

निर्माण व्यवसायीले पुल निर्माणमा चरम लापरबाही गरेको स्थानीय बताउँछन्। निर्माण व्यवसायीले लापरबाही गर्दा खोलामा आवतजावत गर्न समस्या भएको स्थानीय लोकराज साउँदले बताए। उनका अनुसार निर्माण व्यवसायीले काम नर्गदा पुल निर्माण अलपत्र परेको छ। पटकपटक खबरदारी गर्दा समेत पुल निर्माणले गति नलिएको उनको भनाई छ। निर्माण व्यवसायीले खोर खोला र ओदाली खोलामा अहिलेसम्म आधा मात्रै पिल्लर गाडेको छ। चालु आर्थिक वर्षमा दुबै पुलको निर्माण कार्य सम्पन्न गर्ने थेगिम गाल्वा कन्स्ट्रक्सनका प्रतिनिधि गंगाराम सुब्बाले बताए।

‘खार खोलामा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको छ भने ओदाली खोलामा निर्माणाधीन पुलको आधा काम गरेका छौं’, उनले भने,‘खार खोलामा पिलर उठाउने काम सकिएको छ भने ओदाली खोलामा बीचको पिलर उठाएपनि साइड पिलरको काम बाँकी छ। चालु आर्थिक वर्षमा काम सक्छौं।’

थेगिम गाल्वा कन्स्ट्रक्सनले पुल निर्माणमा ढिलासुस्ती गरेको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी जोशीले बताए। उनका अनुसार थगिमसँग २०७४ फागुन १५ गते ओदाली खोला र खार खोलामा पुल निर्माण सक्ने गरी २०७४ भदौ १७ गते ठेक्का सम्झौता भएको थियो।

खार खोलामा निर्माणाधीन पुलको ७० प्रतिशत र ओदाली खोलामा निर्माणाधीन पुलको ४० प्रतिशत कार्य प्रगति भएको अधिकारी जोशीले बताए। उनका अनुसार निर्माण व्यवसायीले चालु आर्थिक वर्षमा दुबै पुल निर्माण गरी सक्ने प्रतिबद्धता जनाएको छ।

खार खोलामा ६ करोड ५९ लाख ६७ हजार र ओदाल खोलामा ५ करोड ४७ लाख ४ हजार रुपैयाँमा पुल निर्माण ठेक्का सम्झौता भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.