भट्टराईको वरिपरि घुमेर साष्टाङ्ग दण्डवत् छोडेर हज्जारौं बाबुराम जन्माउनुपर्छ।

|

- बाबुरामको नयाँ शक्ति भन्ने शब्दावलीबाट नयाँ शक्ति निर्माणमा हजारौं नेता तथा कार्यकर्ताले खेलेको भूमिकाको न्यूनीकरण भयो।
- हिजो आफूलाई मन नपर्ने वा सुराकी गरेको ठानिएको व्यक्तिलाई सय प्रतिसत निषेध गर्ने (मार्ने) माओवादी शैली देखेर भोगेर आएका नेता कार्यकर्ताहरु सानै संख्यामा भए पनि नयाँ शक्तिमा छन्।

पार्टी घोषणा पछि नयाँ शक्ति नेपाल आफ्नो आन्तरिक सांगठनिक व्यवस्थापनमा व्यस्त छ। निर्वाचन आयोगमा दर्ता प्रयोजनका लागि चाहिने सबै तयारी गर्नुका साथै अरु जिम्मेवारी समेत व्यवस्थापन गर्दैछ। नयाँ शक्ति नेपालका आन्तरिक आयामलाई यसरी उल्लेख गर्न सकिन्छ।

१) पदीय व्यवस्थापन
व्यवस्थापनको भाषामा "ठीक मान्छे ठीक ठाउँमा” भन्ने गरिन्छ । तर राजनीतिमा यो नियम लाग्दैन। व्यक्तिको पहुँच, चाप्लुसी, पद बाँडफाँट गर्ने शीर्ष नेताहरुसँगको सामिप्यता आदिको कारण उसको पदीय हैसियत तय हुन्छ। राजनीतिको यो परम्पराबाट नयाँ शक्ति अहिल्यै मुक्त हुने कुरा भएन। यो त लामो एवम् सकारात्मक संर्घषविना हटाउन सकिँदैन। केन्द्रमा क्लस्टरल समावेशीकरणको अभ्यास सुरु गरिए पनि यो एकातिर आफैं विवादमुक्त हुन सकेको छैन भने यसको अभ्यास तृणमूल तहमा कसरी आइपुग्ला भन्ने कौतुहलता सर्वत्र पाइन्छ। प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्ने विधान लागू भए पनि विभिन्न तहमा मनोनयन गर्ने प्रक्रिया रोकिएको छैन। हरेक पार्टी युनिटहरु पार्टी सदस्यबाट अनुमोदित हुनुपर्ने वैधानिक प्रावधान रहेकोले मनोनयन प्रक्रियामा सापेक्ष नियन्त्रण आवश्यक छ। अन्यथा माओवादी केन्द्रजस्तै नयाँ शक्ति पनि असीमित मनोनयनको शिकार भइरहने निस्चित छ।

२) आन्तरिक लोकतन्त्र र निषेधको राजनीति
नयाँ शक्ति नेपालले उच्चतम लोकतन्त्रको महायात्रा सुरु गरेको छ। माओवादीभित्र आन्तरिक जनवादको विषय उठाएर जीवनकै जोखिम उठाउँने डा बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति नेपाल एउटा नमूना लोकतान्त्रिक पार्टी बन्ने निस्चित छ। हो, हिजो आफूलाई मन नपर्ने वा सुराकी गरेको ठानिएको व्यक्तिलाई सय प्रतिसत निषेध गर्ने (मार्ने) माओवादी शैली देखेर भोगेर आएका नेता कार्यकर्ताहरु सानै संख्यामा भए पनि नयाँ शक्तिमा छन्। त्यो वेला त्यस्तै थियो। तर अब यस्तो निषेध त परै जावोस् कसैलाई चुनावमा हराउनु बाहेक अन्यथा निषेध गर्न सकिँदैन। लोकतन्त्रको सुन्दरता शायद यहीं खोज्नु पर्दछ।

३) वरियता विवाद
सांगठनिक व्यवस्थापनको क्रममा नयाँ शक्तिमा पनि को सिनियर को जुनियर भन्ने बहस यदाकदा देखिन्छ। सैनिक पार्टीमात्र सिनियर जुनियरको प्रस्ट व्यवस्था नगरी चल्न सक्दैन। लोकतान्त्रिक पार्टी त्यसबारे धेरै टाउको दुखाउनु पर्दैन किनभने त्यहाँ यसको फैसला व्यक्तिले होइन विधिले गर्दछ। विधानले दिएको व्यवस्थाबमोजिम गरिएको नयाँ शक्ति नेपालका सह-संयोजकहरुको चयनलाई उदाहरणको रुपमा लिन सकिन्छ।

४) इन्द्रणी मिश्रण
नयाँ शक्ति इन्द्रणी मिश्रणको रुपमा अगाडि आएको छ। जसरी इन्द्रणीको कुनै एक रङको प्रभुत्व वा स्वतन्त्र अस्तित्व हुदैन त्यसरी नै नयाँ शक्ति नेपालमा मिसिएको कुनै विचार समूहको प्रभुत्व वा स्वतन्त्र अस्तित्व हुदैन। चारतिरबाट आएका मानिसहरु मिलेर कसरी नयाँ शक्ति बन्छ भन्ने प्रश्न उठिरहँदा इन्द्रणीको अविभाज्य सुन्दरताको उदाहरण पछ्याएर अगाडि बढ्ने तागत आर्जन गर्ने नै छ।

५) कतिजना बाबुराम ?
नयाँ शक्ति नेपालभित्र र बाहिरका केही मानिसहरु "बाबुरामको नयाँ शक्ति” भन्ने शब्दावली प्रयोग गरिरहेछन्। स्वयम् भट्टराईले चिच्याइ चिच्याइ यो शक्ति मेरोमात्र शक्ति होइन, सबैले मिलेर सबैका लागि बन्ने शक्ति हो भन्दा पनि उपर्युक्त शब्दावली प्रयोग हुन छोडेको छैन। यसले अरु सयौं नेता कार्यकर्ताले नयाँ शक्ति निर्माणमा खेलेको भूमिकालाई न्यूनीकरणकात्र भएको छैन, कतिपय अभियन्ताहरुमा "जे गर्छन बाबुरामले गर्छन्” भन्ने गैर जिम्मेवार चिन्तन समेत हावी हुने खतरा पैदा भएको छ । तर सत्य त के हो भने डाक्टर भट्टराईको वरिपरि घुमेर साष्टाङ्ग दण्डवत् गरेर तत्काल केही पद खोज्नुभन्दा देशको कुना कन्दरा पुगेर आगामी केही महिनाभित्र हज्जारौं बाबुराम जन्माउने अभियान शुरु गर्नु नयाँ शक्तिका सम्पूर्ण अभियन्ताका लागि श्रेयस्कर हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.