विचार

किसुनजी अर्थात्‌ कलियुगका नेपाली महर्षि

पुस ८, २०७६

    किसुनजीले आफूलाई ईश्वरको वरदानका रूपमा लिनुभयो, मान-अपमानका सबै प्यालाहरूलाई विस्मृतिको गर्भमा गाड्दै सधैँ हँसिलो-रसिलो जीवन बाँचेर ८७ वर्षको उमेरमा महाप्रस्थान गर्नुभयो। आज उहाँको ९६औं जन्मजयन्ती! यद्यपि: प्रिय किसुनजी अर्थात कृष्णप्रसाद भट्टराईलाई नेपाली समाजले सदैव सम्झिरहेको छ, सम्झिरहनेछ।

    एउटा भूतपूर्व प्रधानमन्त्री वा नेपाली कांग्रेसको  संस्थापक सदस्य, जो पछि गएर त्यही पार्टीको सभापति पनि हुनुभयो। किसुनजी आज पनि हाम्रो स्मृतिमा छाइरहनुमा यो सीमित पृष्ठभूमी प्रमुख कारक होइन। बरु एउटा स्वच्छ छविको राजनेता-जो सेतो लुगा लगाएर राजनीतिरूपी गाजलको कालो सुरुङमा पसेको थियो, तर सुरुङको अर्को छेउबाट निस्कँदासम्म या महाप्रयाण लिँदासम्म ती अभूतपूर्व पात्रको सेतो लुगामा कुनै दाग लागेन। यसैकारण किसुनजीलाई हामी सम्झिरहन्छाैं।किसुनजी अर्थात सेतो लुगामा कुनै दाग नलागी गाजलको गुफाबाट निस्किएको एक अभूतपूर्व पात्र!

    नेपालीहरूले मात्र  होइन, विश्वका उदार तथा सामाजिक प्रजातन्त्रवादीहरूका लागि पनि उहाँको जीवन एउटा उदाहरणीय व्यक्तित्वको रुपमा खुला किताबजस्तै रह्यो, पढियो, सुनियो र देखियो। 

    २०१७ साल पुस १ गते राजाले सैनिक शक्तिद्वारा संसद् अपदस्त गरेपछि प्रजातन्त्र बहालीका लागि पञ्‍चायती व्यवस्थाविरुद्ध अनवरत लडिरहने अथक योद्धा किसुनजीले महानायक-क्रान्तिनायक गणेशमानजीको नेतृत्वमा र संरक्षणमा पञ्‍चायतविरुद्धको अन्तिम मोर्चा अर्थात २०४६ सालको जनआन्दोलनलाई नेतृत्व दिनुभयो।

    सन् १९२४ डिसेम्बर २४ अर्थात् विक्रम सम्वत १९८१ साल पुस ८ गते वनारसमा जन्मनुभएका भट्टराईलाई आम नेपालीले राणाहरूको जहानियाँ शासनबाट नेपाललाई मुक्त गर्ने व्यक्तिका रुपमा सम्झिरहन्छन्। नेपाली राष्ट्रिय कांग्रेस तथा पछि नेपाली कांग्रेसमा परिवर्तित भएको पार्टीको संस्थापक सदस्य अनि नेपाली जनक्रान्ति २००७ सालको एउटा नायक, सल्लाहकार सभाको सभामुख, २०१५ सालमा भएको पहिलो आम निर्वाचनद्वारा स्थापित प्रतिनिधिसभाको सभामुख, २०४६ सालको जनआन्दोलनका एकजना महानायक किसुनजी, जसले पञ्चायतविरुद्धको लडाइँमा नेपाली कांग्रेसको सभापतिको रूपमा नेतृत्व गरिरहेको थियो।

    २०१७ साल पुस १ गते राजाले सैनिक शक्तिद्वारा संसद् अपदस्त गरेपछि प्रजातन्त्र बहालीका लागि पञ्‍चायती व्यवस्थाविरुद्ध अनवरत लडिरहने अथक योद्धा किसुनजीले महानायक-क्रान्तिनायक गणेशमानजीको नेतृत्वमा र संरक्षणमा पञ्‍चायतविरुद्धको अन्तिम मोर्चा अर्थात २०४६ सालको जनआन्दोलनलाई नेतृत्व दिनुभयो।

    जनआन्दोलनको सफलतासँगै बनेको बहुदलीय र बहुपक्षीय सरकारको प्रधानमन्त्रीका रूपमा नेतृत्व गर्दै नेपाल अधिराज्यको संविधान २०४७ घोषणा गराउन सफल मात्र होइन, त्यही संविधानअनुसार निर्वाचन गराएर नेपालमा प्रजातान्त्रिक व्यवस्थाको अभ्यास गराउन पनि किसुनजी लाग्नुभयो। आफू हारेर पनि आफ्नो विश्वास र प्रणालीको जितमा मग्न हुने राजनेता हुनुहुन्थ्यो भट्टराई। उहाँमा आध्यात्मिक चेतना यत्ति थियो कि उहाँका न त कोही शत्रु थिए, न त कुनै कोहीसँग दुर्भाव नै देखिन्थ्यो।

    'सबैको सेवा जीवनको एउटा मात्र  उद्देश्य हुनुपर्छ' भन्ने आदर्शलाई सदैव ग्रहण गर्ने एकजना महामना तपस्वी कृष्णप्रसाद भट्टराईको २०६७ साल फागुन २० गते मध्यरातमा मृत्यु भयो। जन्मिएका र जन्मने सबैको मृत्यु निश्चित भए पनि त्यसको प्रासंगिकता त बाँचुञ्जेल मानिसले गरेको अनुकरणीय काममै निर्भर गर्छ। मृत्युको वर्गीकरण पनि यसैअनुसार हुँदोरहेछ। सबैका लागि अनुकरणीय सन्त नेता कृष्णप्रसाद भट्टराईको मृत्यु सगरमाथाभन्दा अग्लो हुन गयो। निश्चितताका साथ भन्न सकिँदैन-यस धरतीमा फेरि किसुनजीजस्ता मानिस आउलान्/नआउलान्!

    कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको मृत्युलाई किन यसरी वर्गीकरण पर्नुपरेको होला? उहाँले खास के गर्नुभयो र यो दुनियाँलाई? वास्तवमा उहाँले जीवनमा त्यही गर्नुभयो-जुन काम सत्ययुगका महर्षिहरूले यस धरतीमा गर्ने गर्दथे।

    किसुनजीले नेपाल र नेपाली समाज एवं राजनीतिमा निरन्तर सेवा गर्नुभयो, तर त्यसबापत कुनै फलको आशा कहिल्यै गर्नुभएन। गीताको सारलाई जीवनमा सदैव प्रयोग गर्नुभयो-'कर्म गर तर त्यसको आशा नगर।' यसैबाट कृतज्ञ नेपाल र हामी नेपालीले ती सन्त महर्षिलाई त्याग मात्र देखाउन दिएन। मातृभूमिको सेवाका लागि दुई/दुई पटकसम्म मुलुकको प्रधानमन्त्रीजस्तो उच्च-कार्यकारी पदमा समेत आसीन गरायो।

    कारागारको कालो कोठाबाट राजाको गोप्य खोपीमा प्रधानमन्त्री पदको मोलतोल हुँदा सविनय त्यस्तो पदलाई लात्ताले लत्याउँदै पुनः कालकोठरीमा फर्कने अर्को नायक फेरि यो धरतीमा आउला नआउला! जीवनका सबै कुरालाई फगत नियतिको चक्र सम्झँदै कर्ममा निरन्तर र अनवरत होमिरहने अथक जननायकको अनुपस्थितिले नेपाली मन सँधै बोझिलो बनाउने गरेको छ। किसुनजीलाई पछ्याउन सके त्यागलाई मात्र राजनीतिको केन्द्रविन्दु मान्ने परम्परा यथावत् रहने आशा गर्न सकिन्छ।

    अहिले नेपालको राजनीतिमा किसुनजीको आवश्यकता महसुस गरिएको छैन, किनभने राजनीतिमा पछि लाग्नका लागि स्वाभाविक त्याग चाहिन्छ र निष्काम कर्ममा जोड दिनुपर्छ, जो किसुनजीले अपनाउनुभएको थियो। अहिले त तत्काल फाइदाका लागि राजनीति चाहिएको छ र यसैका नाममा तत्काल दुनो सोझिन जरुरी छ।

    राजनीति र व्यवस्ठामा किसुनजीले आफ्नो क्षमता यसरी देखाउनु भएको थियो कि २०४७ सालमा राजा, कम्युनिस्ट र प्रजातन्त्रवादी सबैलाई चित्त बुझाउँदै नयाँ संविधान ल्याई, व्यवस्थापिकाको निर्वाचनसमेत गराई वैधानिक सरकारलाई आफ्नो कार्यभार सुम्पनुभएको थियो। त्यसबेलाको भन्दा अहिलेको अवस्था धेरै सहज छ। किनभने यतिखेर निर्वाचित स‌ंसद र सरकारले आफ्नो कार्यभार बहन गर्न पाएको छ।

    किसुनजीको अवस्था-एउटा अहिंसात्मक विद्रोहीले जेलबाट सिधै प्रधानमन्त्रीको शपथग्रहण गरेको थियो। राजतन्त्रप्रति अगाध आस्था राख्‍ने, तर सक्रिय राजाप्रति भने आलोचना गर्ने व्यक्तिले अधिकार कटौती गर्न राजालाई नै मनाउनुपर्ने अनि राजालाई नै वैधानिक राजाको रूपमा स्वीकृत गराउनुपर्ने अवस्थालाई किसुनजीले सुरक्षित अवतरण गराउनुभयो।

    अर्कातिर गणतन्त्रवादी कम्युनिस्टहरूलाई संविधानमा अटाउनु पनि थियो र प्रजातन्त्रका विश्वव्यापी मान्यतालाई संविधानमा जसरी पनि स्थान दिनु नै थियो। नत्रभने प्रजातन्त्रका लागि जेल-नेल-सहादतको कुनै अर्थ रहँदैन थियो। यसरी एकैसाथ धेरै दायित्व पुरा गर्न एक्ला कृष्णप्रसादले जुन क्षमता राख्नुभयो-प्रजातन्त्रको सुन्दरतम पक्षका रुपमा अहिले पनि किसुनजीको त्यो क्षमता नेपाली कांग्रेसको निधि हो। 

    अझ अर्को पक्ष-आफू व्यक्तिगत रूपमा हारेर पनि किसुनजीले प्रजातन्त्रलाई जिताउनु भएको थियो। आफ्नो दललाई जिताएर सरकारमा पुर्‍याउनु भएको थियो । त्यसपछि मात्र नेपालमा प्रजातान्त्रिक परिपाटी स्थापित हुन सक्यो। जस्तोसुकै कठिन परिस्थितिमा पनि हतास नभई नेपाली कांग्रेसलाई अघि बढाउँदै लैजाँदा आफूलाई धेरैपटक किसुनजीले समयको परीक्षणमा खरो उतार्नु भयो। एक व्यक्तिका रूपमा उहाँभित्र केही कमी थिए होलान्, तर नेताका रूपमा किसुनजीभित्र रहेको दृढ अठोट र अविचल आस्थाको परिणाम नै आजको नेपाली कांग्रेस र प्रजातान्त्रिक अभ्यास हो।

    महामानव विपी कोइरालासँगै गणेशमानजी र किसुनजीको नाम सदैव नेपाली इतिहासमा स्वर्णाक्षरले कुँदिनेछ। प्रजातन्त्र र प्रजातान्त्रिक संस्कारलाई नेपाली माटोमा पल्लवित, पुष्पित, सुवासित र प्रवर्द्धन गराउन यी मानिसहरुले आफ्नो जीवन नै निखारिदिए। यीमध्ये प्रजातन्त्रका महाअभियन्ताको रूपमा किसुनजीले जगको इँट्टा भएर राजनीति सुरु गर्नुभयो र उहाँकै जिम्मामा एकदलीय पञ्चायत व्यवस्था ढलाउने र प्रजातन्त्रको पुनः स्थापनासमेत गराउन सम्भव भयो।

    जीवनभर आफू मैनबत्ती जस्तै पग्लेर समाजलाई उज्यालो दिने किसुनजीको ऋषिमन त्यो दिन पनि खुसी थियो र सबैलाई अभिवादन गर्दै हुनुहुन्थ्यो। खुशी र दु:खका सबै पर्खाल नाघ्नुभएका किसुनजीले त्यही बर्षको फागुन २० गते महाप्रस्थान रोज्नुभयो। पुस ८ गते जन्म दिनमा उहाँलाई दीर्घायुको शुभकामना दिएर आएका हामीहरु लगत्तै फागुन २० गते त्यही ठाउँ बाँडे गाउँमा पुगेका थियाैं। अश्रुपूर्ण नयनले उहाँलाई  बिदा गर्नेहरूमा नेपाली समाजका विभिन्न क्षेत्रका र विदेशीहरू पनि थिए।

    किसुनजीबाट आजका प्रजातन्त्रवादीहरूले अथक र निष्काम कर्मयुक्त विश्रामरहित नेतृत्वगुण  सिक्नु जरुरी छ। नेपाली इतिहासमा भीम मल्ल, भीमसेन थापा, बिपी कोइरालाले जुन नियति भोगे-किसुनजीले आफ्नै दल र आफ्नै शिष्यहरूबाट त्यस्तो नियती भोग्नुपर्‍यो, तर उहाँले कहिल्यै ऐया-आत्था नभनी सबै चोटलाई आफ्नो नियतिको क्रम र चक्र सम्झनुभयो। सदाशिव भोलेनाथले हलाहल विषलाई पचाउँदै नीलकण्ठ भएझैँ किसुनजी पनि नियति र अपमानको प्याला पिउँदै नेपाली राजनीतिको नीलकण्ठ बन्नुभयो। तर उहाँले कहिल्यै कसैमाथि प्रतिशोध राख्नुभएन। त्यसैले त उहाँलाई नजिकबाट चिन्नेहरुले अहिले पनि क्षमाको प्रतिमूर्ति भन्छन्‌। 

    मानिस जन्मन्छ र एकदिन मर्छ पनि । मृत्युको सत्यता जाँच्न कुनै प्रमाण आवश्यक हुँदैन। गीताका पारखी किसुनजीका लागि मृत्युबोध गर्नु कुनै अकल्पनीय विषय पनि थिएन। तर, जीवनको उत्तरार्द्ध उहाँका लागि केही अपमानितजस्तो बनिदियो। राजनीतिको बक्ररेखालाई आफ्नो अनुभवका आधारमा सीधा बनाउन खोज्दा त्यो समय र आवेगसम्मत नभएजस्तो देखियो। त्यसैका आधारमा उहाँमाथि अपमान पनि भयो, तर यसो गर्नेहरुप्रति पनि उहाँले कुनै गुनासो राख्नुभएन। उहाँको महाप्रयाणमा नेपाली कांग्रेस, आम नेपाली नागरिक, नेपाल सरकार तथा विश्वका प्रजातन्त्रवादीहरूले देखाएको सम्मान नै किसुनजी को हुनुहुन्थ्यो र के हुनुहुन्थ्यो भन्ने बुझाउन पर्याप्त थियो।

    किसुनजी बाँचिरहनुभएकाे भए वि‍.सं. १९८१ सालको जन्मका हिसाबले आज ९६औँ जन्मदिन मनाउनु हुन्थ्यो। उहाँ नरहनुभएपनि उहाँको ९६औँ जन्मजयन्ती हामी मनाउँदैछौँ। २०६७ सालमा उहाँकै आश्रम बाँडे गाउँमा शुभेच्छुक र केही प्रजातन्त्रप्रति आस्था हुने व्यक्तिहरू सहभागी भई किसुनजीको जन्मोत्सव मनाइएको थियो। बलिरहेको मैनबत्तीजस्तो एउटा धरोहरजस्तो, ऋृषिजस्तो व्यक्तित्वले त्यो दिन सबैलाई अभिवादन गर्दै थियो।

    तर खुशी र दु:खका सबै पर्खाल नाघ्नुभएका किसुनजीले त्यही बर्षको फागुन २० गते महाप्रस्थान रोज्नुभयो। पुस ८ गते जन्म दिनमा उहाँलाई दीर्घायुको शुभकामना दिएर आएका हामीहरु लगत्तै फागुन २० गते त्यही ठाउँ बाँडे गाउँमा पुगेका थियाैं। स्वदेश र विदेशका, विभिन्न पेशा र क्षेत्रका सैयाैं मानिसहरुले उहाँलाई श्रद्धाञ्जली दिइरहँदा हाम्रा आँखा आँशुले डम्म भरिएका थिए।

    देश र नागरिकप्रति गर्ने माया र त्यागलाई व्यक्तिको कमजोरी नसम्झनु नै किसुनजीलाई सम्मान गर्नु हो। जीवनलाई प्रजातन्त्रकै लागि निरन्तर उत्सर्ग गर्नसक्नु किसुनजीको कमजोरी थिएन, बरू यो त जीवनको महान उद्देश्य प्राप्ति थियो भन्ने यथार्थ नेपाली इतिहासमा लेखिएको छ। सम्‍भवतः भूतपूर्व प्रधानमन्त्रीको कुनै घर नहुनु र कुनै लोभ लालच नराखी आफूलाई सदैव जनताको सेवक मात्र बनाएर बाँच्न सक्ने क्षमता राख्‍ने पहिलो नेता किसुनजी नै हुनुहुन्थ्यो। कृष्णप्रसाद भट्टराई 'नेपालमा यस्ता पनि नेता थिए' भनेर इतिहासमा लेखिने एउटा अभूतपूर्व राजनेताको नाम हो।

    आज जसरी राजनीतिक मूल्य र मान्यताको ह्रास भएको देखिन्छ, विवेकले भन्दा सत्ता स्वार्थले ठाउँ पाएको देखिन्छ–यसबाट बच्न किसुनजीको सदाचारप्रतिको अटल विश्वास र प्रजातान्त्रिक अभ्यासप्रतिको चट्टानी अडान अनुकरण गर्न जरुरी छ। तर किसुनजीले जुन दलमा जीवन निखार्नुभयो-सोही दलभित्र उहाँका अनुयायीहरु देखिएका छैनन्‌। किसुनजीबारे पढ्दै र लेख्दै गर्दा यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने उहाँ कांग्रेसका नेता त हुनुहुन्थ्यो, तर समाज कल्याण र प्रजातान्त्रिक मान्यता प्रवर्द्धन गर्ने सवालमा सबैका लागि अनुकरणीय हुनुहुन्छ। किसुनजीको पदचाप पछ्याएर आफूलाई सोही मार्गमा उभ्याउन कोही व्यक्ति कांग्रेस या कम्युनिष्ट भइराख्नुपर्दैन, किसुनजीबारे गहिरोसँग अध्ययन गरी त्यसलाई आत्मसात गरे पुग्छ।

    निडर, अविचल र दृढ व्यक्तित्वका धनी किसुनजीले आफूलाई जस्तै कठिन अवस्थामा पनि हिमालय झैँ अविचल उभ्याउनुभयो, आस्थाको दृढ प्रतिज्ञाको रूपमा प्रजातन्त्रलाई संसारभर चिनाउनुभयो। नेपालको प्रजातन्त्रलाई कतैबाट पनि कुनै ग्रहण नलागोस् भन्ने कामनासहित सन्त महामना किसुनजीप्रति हार्दिक श्रद्धाञ्जली!

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]