विप्लवको व्यवहारबाट प्रभावित भएँ

|

शनिबार राति दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई नेत्रविक्रम चन्द विप्लव समूहले अपहरण गर्‍यो। उनलाई विप्लव समूहका कार्यकर्ताले आफ्नो पार्टीविरुद्ध सुराकी गरेको र गाउँपालिकामा भ्रष्टाचार गरेको आरोपमा आफ्नै घरबाट अपहरण गरे।

अपहरणमा परेको १९ घण्टापछि उनलाई प्रहरीले सकुशल उद्धार गरेको थियो। अपहरणमुक्‍त भएर आएपछि अध्यक्ष धीरबहादुर शाहीसँग विप्लव समूहको अपहरण र गाउँपालिकामा भएको भ्रष्टाचारको सेरोफेरोमा रहेर दैलेखबाट थाहा खबरकर्मी उदयराज अधिकारीले गरेको कुराकानी :

तपाईं कहाँबाट अपहरण पर्नुभयो?

म आफ्नै घरबाट अपहरणमा परेको हुँ। शनिबार राति करिब १२ बजेतिर २०/२५ जनाको समूहमा आएका नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका हुन्। रातको समयमा आएका उनीहरूले जबरजस्ती ढोका खोल्न लगाई मलाई अपहरण गरे। आफूलाई अपहरण गर्दा मेरी श्रीमती मसँगै दैलेख र कालिकोटको सिमानासम्म सँगै गयौँ पछि आफूले उनलाई फर्कन अनुरोध गरेपछि शनिबार बिहान साढे ८ बजेतिर उनलाई उक्त लेकमा छाडेर मलाई कालिकोटतिर लगेका थिए।

तपाईंलाई अपहरण गर्नुको कारण के रहेछ?

मलाई घरबाट अपहरण गरेको केही समयसम्म अपहरण पर्नुको कारण केही जानकारी दिइएन। बिहान उज्यालो भइसक्दा श्रीमती र म सँगै हुँदा मैले उनीहरूलाई दुईपटक सोधेँ उनीहरूले 'राज्यले हाम्रा ६०० कार्यकर्तालाई अपहरण गरी थुनेको छ। त्यसैको बदलामा राज्यलाई चुनौती दिनलाई जनप्रतिनिधि अपहरण गर्ने पार्टीको नीतिअनुसार पक्राउ गरेका हौँ' भने। 

अपहरण गरेर तपाईंलाई कहाँ पुर्‍याए?

म शनिबार राति १२ बजेतिर अपहरणमा परेँ, उनीहरूले १२/१५ घण्टापछि कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाको छात्ती भन्‍ने स्थानमा पुर्‍याएका थिए। पछि सुरक्षाकर्मी त्यहाँ पुगेर हवाई फायर भएपछि उनीहरूले मलाई छोडेर भागेका थिए। त्यसपछि म अपहरणमुक्त भई सुरक्षाकर्मीको मातहतमा आएँ। 

तपाईंलाई अपहरण गरेर लैजाँदा बाटोमा उनीहरूको व्‍यवहार कस्तो थियो?

अपहरण परेको केही समय त म डराएको थिएँ, पछि हिँड्दै जाँदा उनीहरूको व्‍यवहारबाट म प्रभावित भएँ। मैले नसोचेको गरी उनीहरूले मलाई सम्मान र सद्‍भावपूर्ण व्‍यवहार गरे।  सुरक्षा, स्वास्थ्य र खानपिनबारे पनि एकदमै ख्‍याल गरे।

विप्लव नेतृत्वको नेकपाले तपाईंलाई पार्टीविरुद्ध सुराकी गरेको आरोप र गाउँपालिकामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेको विज्ञप्तिमा भनेको छ वास्तविकता के हो?

विप्लव नेतृत्वले मलाई जुन आरोप लगाएको छ, त्यो सरासर कपोलकल्पित र झुट्टो हो। यसमा कुनै सत्यता छैन। विप्लव समूहले जुन आरोप लगाएको छ, त्यो कदापि सत्य होइन। मलाई अपहरण गर्ने समूहले मलाई भनेको के हो भने राज्यका प्रतिनिधिलाई अपहरण गर्नुपर्ने पार्टीको नीति भएकाले हामीले तपाईंलाई अपहरण गरेका हौँ भनेका थिए।

अपहरण गर्ने समूहले मलाई विज्ञप्तिमा आएको जस्तो केही पनि भनेनन्। विज्ञप्तिमा जुन कुरा आएको छ त्यो बनावटी हो। विज्ञप्तिमा त्यस्तो कुरा आएको छ भने म दु:ख व्यक्त गर्दछु। यदि विप्लव समूह कम्‍युनिष्ट हो भने त्यस्ता किसिमका शब्द प्रयोग गर्नु खेदजनक र गैरजिम्मेवारपूर्ण तरिकाले उक्त शब्द राखिएको मैले ठानेको छु।

सुराकी गरेको भन्‍ने कुरा पनि सरासर गलत हो, अहिलेसम्म मैले कसैको पनि सुराकी गरेको छैन, आउँदा दिनमा पनि गर्ने छैन। कसैको सुराकी गर्नुपर्ने आवश्‍यकता पनि छैन, कुरा गर्नु परे भेटेरै कुरा गरिन्छ, तर यस्ता गैरजिम्मेवार कुरा मबाट अहिलेसम्म भएका छैनन्। उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका कुरा फिर्ता लिनुपर्छ।

म गाउँपालिका अध्यक्ष भएकै नाताले ५०० रुपैयाँ पनि भ्रष्टाचार गरेको भेटिए विप्लवका साथीले मात्र होइन मेरो पार्टीले पनि कारबाही गरोस् राज्यपक्षबाट छानविन होस् भ्रष्टाचार प्रमाणित भए म आजीवन राजनीतिको र उच्चारण गर्दिनँ, गाउँपालिका अध्यक्ष पदबाट राजीनामा दिन्छु र राज्यले तोकेको सजाय भोग्‍न तयार छु। मान्छेको चरित्र हत्या गर्ने काम कुनै पनि व्‍यक्ति, संगठन र पार्टीबाट हुनुहुँदैन।

अहिले सुरक्षाका हिसाले गाउँपालिकामा फर्किने अस्था छ कि छैन?

गाउँपालिका फर्कन कुनै पनि समस्या छैन, त्यस्तो किसिमको असुरक्षा केही पनि छैन, हिजो माओवादीले पनि अपहरण गरेकै हुन्, उतिबेला पनि जनतामाझ् गएर काम गरेकै थिएँ, अहिले त जनताकै काम गर्नलाई जनताबाट प्रत्यक्ष निर्वाचित भएको छु केही दिनपछि गाउँमा गएर जनताका काम गर्छु।

राज्‍यले जनप्रतिनिधिलाई दिएको सुरक्षाबारे के भन्‍नुहुन्‍छ?

राज्यले जनप्रतिनिधिको मात्र नभई सारा नेपाली जनतालाई सुरक्षा दिनुपर्छ, कहिलेकाहीँ यस्ता छिटफुट घटना हुन्छन्, राज्य यसतर्फ पनि लागिरहेको छ। राज्यले सुरक्षा नदिएको भए म अपहरणमुक्‍त हुने थिइनँ, राज्यले सुरक्षा दिएरै आज म तपाईंसँग बोल्न पाएको छु।

देशभरका ७५३ स्थानीय तहमध्ये तपाईंलाई नै पहिलो पटक किन अपहरण गरेका होलान्?

मैले अघि पनि भनेँ राज्यलाई चुनौती खडा गर्ने उद्धेश्यले मलाई अपहरण गरिएको भन्‍ने बुझेको छु उहाँहरूलाई दोस्रोपटक सोध्दा पनि राज्यले हाम्रो मान्छे अपहरण गरेर थुनामा राखेपछि राज्यका मान्छेहरूलाई हामीले पनि अपहरण गर्ने हो राज्यसँग एक किसिमको बार्गेनिङको विषय हो तपाईंहरू जस्तै राज्यका अरू मान्छेहरू पनि अपहरण गर्छौं भनेका थिए।

राज्यलबाट उनीहरूका मान्छे छुटाउने बार्गेनिङका लागि अरूलाई पनि नियन्त्रणमा लिने कुरा मैले बुझेको छु। व्‍यक्तिसँगको लडाईं होइन, हाम्रो लडाईं भनेको राज्यसँग हो भनेका छन्।

दैलेखका अरू स्थानीय तहमा सुरक्षा चुनौती कस्तो देख्‍नु भएको छ?

चुनौती नभएको ठाउँ कतै पनि छैन, सबै ठाउँमा केही न केही चुनौती छन्। त्यसको सामना राज्यले कसरी गर्ने भन्‍ने हुन्छ हामी पनि सरकार हौँ हाम्रो पनि दायित्व छ, सुरक्षा निकायले पनि ध्यान पुर्‍याउनुपर्छ देशको भौगोलिक बनावटले पनि सुरक्षा चुनौती छ।

दैलेख त एक पहाडी जिल्ला भएकाले समस्या छ, यसलाई कसरी समाधान गर्ने भन्‍ने कुरामा सरकार, सुरक्षा निकाय र गाउँमा भएका स्थानीय सरकारका सबै एकजुट भएर लाग्नुपर्छ, राज्यले सबै ठाउँका जनता जनप्रतिनिधिको सुरक्षामा ध्यान पुर्‍याउनुपर्छ। यो राज्यको कर्तव्‍य हो।

सम्बन्धित समाचारहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.