थाहा संवाद

मलाई सभामुख नबनाए सरासर अन्याय हुन्छ

उपसभामुखबाट राजीनामाबारे सोचेको छैन

पुस ९, २०७६

    संसदको हिउँदे अधिवेशनमा प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया प्रमुख कार्य हुनेछ। आउँदो शुक्रवारदेखि सभामुख चयन प्रक्रिया सुरु हुँदैछ। सभामुख पदका लागि संसदमा बहुमत प्राप्त दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका केही नेताको नाम चर्चामा छ। यौन दुर्व्यवहारको आरोपमा तत्कालिन सभामुख कृष्णबहादुर महरा कारागार पुगेपछि भएपछि रिक्त रहेको सभामुख पदपूर्तिका लागि संसदको हिउँदे अधिवेशनमा प्रक्रिया अघि बढ्दैछ। नयाँ सभामुखका लागि नेकपाका नेताहरुले लविङ तीव्र पारिरहेका बेला उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे आफूलाई उक्त पदको मुख्य दाबेदार भन्छिन्। उनले सभामुख पदमा पहिलो हक आफ्नो हुने तर्क गर्दै आएकी छन्। महराले गरेको गल्तीको सजाय आफुले नभोग्ने भन्दै तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा नदिने अडान लिएकी छन्। नेकपाले सभामुख आफुले राखेर उपसभामुख अर्को दललाई दिने रणनीति बनाएको छ। सभामुख चयन प्रक्रिया अघि बढिरहेका बेला उपसभामुख तुम्बाहाङ्फेसँग थाहा सञ्चार नेटवर्ककी ईश्वरी बरालले  गरेको कुराकानीको सम्पादित अंश : 

    सभामुख नभएको अवस्थामा उपसभामुख पदमै रहेर संसदको हिउँदे अधिवेशन आरम्भ गर्नुभयो। कस्तो महसुस भएको छ?

    विगतका संसदीय अभ्यासमा यस्तो अवस्था सिर्जना भएको थिएन। निर्वतमान सभामुख कृष्णबहादुर महरासँग जोडिएको घटना छ। यस्तो घटना यसअघि सभामुख पदमा रहेका ब्यक्तिबाट भएको थिएन। महराको जुन घटना भयो, यस्तो फेरि नदोहोरियोस् भन्‍ने हो। मलाई सहज ढंगले यो अवसर प्राप्त भएको होइन। दुःखद घटनासँग जोडिएर सिर्जित  विभिन्‍न समस्याहरुबाट अघि बढ्दै यो अवसर प्राप्त भएको हो। दुःखद घटनाबाट सुखद परिणाम प्राप्त हुन सक्यो यो मेरा लागि राम्रै हुन्छ।

    हिउँदे अधिवेशन जेष्ठ सदस्यले सञ्चालन गर्ने चर्चा थियो। तर तपाईंले नै बैठक प्रारम्भ गर्नुभयो। यसका लागि आफूलाई कसरी तयार पार्नुभयो?

    बैठक संचालन गरिसकेपछि बाहिर धेरै चर्चा र बहस भएको मैले थाहा पाएँ। उपसभामुख भएर जुन खालको परिस्थितिको सामना गर्नु पर्‍यो, मेरो अगाडि यो एउटा चुनौती थियो। ज्येष्ठ सदस्यले बैठकको प्रारम्भ गर्ने बहस ब्यापक चलेको थियो। मैले संविधानलाई टेकेर अगाडि बढ्नुपर्छ भन्‍ने मूल मान्यता राखेर अगाडि बढेको थिएँ। संविधानको धारा ९१ को उपधारा ५ मा भएको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था कायम गर्नुपर्छ भन्‍ने नै मेरो निष्कर्ष थियो। यही आधारमा छलफल गरेर हामी अगाडी बढ्दै गयौँ। 

    प्रतिनिधिसभा बैठकमा उपसभामुखले बैठकको अध्यक्षता गर्न मिल्ने तर समिति बैठक सञ्चालन गर्न किन नमिल्ने भनेर मैले तर्क राखेँ। मैले सबै दलहरुसँग मिलेर सर-सल्लाह र छलफल गरेँ। छलफलपछि उपसभामुखले पनि समितिको बैठक हुँदै प्रतिनिधिसभा बैठक प्रारम्भ गर्ने सहमति भयो। 

    उपधारा ५ मा सभामुख र उपसभामुखको दुवै पद रिक्त भएको अवस्थामा मात्रै बैठकको अध्यक्षता प्रतिनिधिसधाको ज्येष्ठ सदस्यले गर्ने  व्यवस्था छ। तर अहिले दुवै पद खाली भएको अवस्था छैन। सभामुख पद मात्रै रिक्त हो, उपसभामुख अहिले पनि कार्यरत छु। संविधानको धारा ९१ को उपधारा ५ लाई टेकेर मैले बैठकमा अध्यक्षको भूमिका निर्वाहा गरेको छु। कार्यव्यवस्था परामर्श समितिको बैठक संचालनका सन्दर्भमा पनि अर्को चुनौतीको सामना गर्नुपर्‍यो। समितिको बैठक अनौपचारिक मात्रै बस्नुपर्छ भन्‍ने आवाज सुनिन थाले। 

    प्रतिनिधिसभाको नियमावलीमा परामर्श समितिको अध्यक्षता सभामुखले गर्नेछ भन्‍ने व्यवस्था छ। त्यही नियमावलीलाई टेकेर बहस प्रारम्भ गरियो फेरि पनि। समितिको बैठकको अध्यक्षता उपसभामुखले गर्न मिल्दैन भनेर पनि बहस थालियो। अनौपचारिक बैठक बस्न पटक-पटक आग्रह गर्न थालियो। प्रतिनिधिसभा बैठकमा उपसभामुखले बैठकको अध्यक्षता गर्न मिल्ने तर समिति बैठक सञ्चालन गर्न किन नमिल्ने भनेर मैले तर्क राखेँ। मैले सबै दलहरुसँग मिलेर सर-सल्लाह र छलफल गरेँ। छलफलपछि उपसभामुखले पनि समितिको बैठक हुँदै प्रतिनिधिसभा बैठक प्रारम्भ गर्ने सहमति भयो। 

    सभामुख पदका लागि सार्वजनिक रुपमा दाबी गर्दै आउनुभएको छ। तपाईंको दाबीलाई कसरी पुष्टि गर्नुहुन्छ?

    सभामुख महराले राजीनामा दिएपछि नयाँ सभामुख को बन्‍ने भन्‍ने बहस प्रारम्भ भयो। छलफलबीच केही ब्यक्तिको नाम पनि चर्चामा छ। सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख पदमा कार्यरत ब्यक्तिलाई पछि सभामुख बनाएको नजीर हामीसँग छ। संविधानमा समानुपातिक सहभागिताको सिद्धान्तको व्यवस्था छ। यस व्यवस्थाले मलाई प्रोत्साहन गरेको छ। 

    संविधानको भावना, न्याय र मर्म अनुसार हाल कार्यरत उपसभामुखलाई सभामुख बनाउनुपर्छ भन्‍ने मलाई लागेको छ। मुलुकको कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगट्ने महिलाको प्रतिनिधित्व मैले गर्छु। समानता र समाजका विभेद अन्त्यका लागि पनि म सभामुख बन्नु जरुरी छ। समाज परिवर्तनका लागि नेतृत्व तहमा महिलाको आवश्यकता छ। विगतमा अभ्यासहरुमा उपसभामुख पदमा रहेर काम गरेका व्यक्ति सभामुख बनेकाले मैले पनि सभामुख पदमा दाबी गर्नुलाई न्यायोचित ठानेकी छु। 

    निर्वतमान सभामुख महराले गरेको गल्तीको सजाय मैले भोग्‍नुपर्ने कारण छैन र यो न्यायोचित पनि होइन। निवर्तमान सभामुखले गरेको गल्तीको कारवाहीस्वरुप मलाई सभामुख नबनाइनु भनेको ममाथि सरासर अन्याय गर्नु हो। कार्यदक्षता र उपसभामुख पदमा रहेर काम गरिरहेको अनुभव मसँग भएका कारण सभामुख पदमा मेरो दाबी स्वभाविक हो। पाँच वर्ष काम गर्न म संसद भवनमा प्रवेश गरेकी थिएँ। करिब दुई वर्ष बित्यो, अब बाँकी तीन वर्ष पनि मैले काम गर्न पाउनुपर्छ भन्‍ने मेरो दाबी हो। बाँकी समय मैले किन काम गर्न नपाउने? मैले यो दुई वर्षको अवधीमा संसदीय अभ्यासको प्रक्रिया राम्रोसँग बुझ्ने मौका पाएँ। संसदभित्रको समन्यवनकारी भूमिकाबारे अभ्यस्त छु। मेरो दाबी अहिलेको इच्छा र आकांक्षा भन्दा पनि आवश्यकता हो। 

    यसअघि नै सभामुख भइसकेका अनुभवी नेताहरु सभामुखको दौडमा भएको चर्चा छ। तपाईं किन सभामुख बन्‍ने त? 

    निर्वतमान सभामुख महराले गरेको गल्तीको सजाय मैले भोग्‍नुपर्ने कारण छैन र यो न्यायोचित पनि होइन। निवर्तमान सभामुखले गरेको गल्तीको कारवाहीस्वरुप मलाई सभामुख नबनाइनु भनेको ममाथि सरासर अन्याय गर्नु हो।

    मैले आफुलाई अरुसँग तुलना गरेको छैन र प्रतिस्पर्धी पनि ठानेको छैन। 

    नेकपाले सभामुख पद सुनिश्चित भएको बताउँदै आएको छ। सभामुख र उपसभामुख एउटै पार्टीको नहुने अवस्थामा तपाईं सभामुख बन्‍ने सम्भावना देख्नुहुन्छ? 

    संविधानको धारा ९१ को उपधारा २ मा प्रतिनिधिसभाको सभामुख र उपभामुख पदमा फरक-फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ। यो ब्यवस्थालाई हेर्दा मैले के बुझेकी छु भने यदि सभामुख पद सत्तापक्षले लियो भने म त्यही दलबाट उपभामुख पदमा कार्यरत भएका कारण पछाडि हट्छु। नेकपाले हालसम्म मलाई अगाडी बढ्न अवसर दिएको छ। सत्तापक्षले नै सभामुख पदको उमेद्वार अगाडि सार्यो भने मार्ग प्रशस्त गर्नका लागि मैले उपसभामुख पद छाड्नुपर्छ। मैले संविधानलाई शिरोपर गर्नुपर्छ। यो मलाई थाहा छ। यो मेरो दायित्व हो। तर राजीनामापछि के हुन्छ भन्‍ने कुरा सम्बन्धित दलसँग छलफल गर्नुपर्छ। 

    पद खाली गर्नका लागि राजीनामा कहिले दिनुहुन्छ? 

    यसबारे छलफल भएको छैन। समय र परिस्थिति हेरेर निर्णय लिन्छु। 

ईश्वरी बराल

थाहा सञ्चार नेटवर्कमा आवद्ध छिन्

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]