|

सल्यान : जिल्लाका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भइरहेका बेला शारदा नगरपालिका–१३ सांघारमूलमा च्याउको बीउ उत्पादन सुरु भएको छ । सांघारमुलका लालबहादुर बस्यालले मोबाइल पसल छोडेर च्याउको बीउ उत्पादन गर्न थालेका हुन्।

सल्यानसहित रोल्पा र रुकुमका किसानलाई लक्षित गरी बीउ उत्पादन गरिरहेको उनले बताए । उद्योगले पहिलो चरणमा कन्ने च्याउको बीउ उत्पादन गरिरहेको छ । एक महिनामा दुई सय ५० ग्रामका २५ हजार च्याउको बीउका प्याकेट उत्पादन भएको उनको भनाइ छ । उनले भने, ‘च्याउको बीउ ल्याउनकै लागि दाङ नेपालगञ्ज जानु पर्ने बाध्यतालाई मध्यनजर गरी जिल्लामै च्याउको विउ उत्पादन सुरु गरेको हुँ।’

च्याउको बीउ उत्पादनको क्षामताअनुसार बजारको माग नरहेको उनको भनाइ छ। दैनिक आठ सय प्याकेट बीउ उत्पादन गर्ने मेसिनको क्षामता रहेता पनि च्याउको बीउ स्टोर गरेर राख्‍ने मेसिन नभएकाले किसानको मागअनुसार नै बीउ उत्पादन भइरहेको बस्यालले बताए।

अनुदानभन्दा किसानले उत्पादन गरेको वस्तुको सहज बजारीकरण गरी दिन उनले सरकारलाई आग्रह गरे। उनले भने,‘किसानले कृषिजन्य वस्तुको उत्पादन गरी रहेका छन् तर बजारीकरण नहुँदा सस्तो मूल्यमा किसान आफ्नो वस्तु विक्री गर्न बाध्य छन्।’

बजारको अभावमा सोचे अनुसारको बीउ बिक्री गर्न नसकिएको सञ्चालक बस्यालले गुनासो गरे। केही वर्ष श्रीनगर बजारमा मोबाइल पसल सञ्चालन गरेका उनी कृषि व्यवसायमा बढी आम्दानी हुने भएपछि च्याउ खेतीमा लागेका हुन्। २०७१ सालदेखि च्याउखेती गर्दै आएका उनले यस वर्षदेखि बीउ उत्पादन थालेको जनाए। उद्योगमा उनले दुई युवालाई रोजगारी दिएका छन्। च्याउको बीउ बिक्रीबाट मात्रै ५०/६० हजार आम्दानी भइरहेको उनको भनाई छ।

कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १० लाख अनुदान र आफ्नो १७ लाख रुपैयाँ लगानीमा बीउ उत्पादन थालिएको हो। दुई सय ५० ग्रामको च्याउको बीउ प्रतिप्याकेट ५० रुपैयाँमा बिक्री भइरहेको बस्यालले बताए।

जिल्लामा व्यावसायिक च्याउखेतीका लागि ३० फार्म दर्ता भएको कृषि विकास कार्यालयले जनाएको छ। घरमै च्याउ खेती गर्ने स्थानीयको संख्या बढ्दै गएको कार्यालयको भनाइ छ। सामान्य रूपमा च्याउ खेती गर्नेको संख्या करिब पाँच सय रहेको कार्यालयका सूचना अधिकारी रेशमबहादुर बस्नेतले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.