श्रीमति केटी फकाउने, श्रीमान् नाका कटाउने

|

काठमाडौं: मोडलिङ गराउन भन्दै मानव बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट प्रेममाया तामाङ, विराटनगरबाट कृष्ण तामाङ, मुख्य योजनाकार दिलिप पोदार,उमेश माझी, उमेश शाह, दिल कुमारी बुढामगर, रंजीत कुमार चौधरी पक्राउ परेका हुन्।

बिहीबार महानगरीय प्रहरी परिसरमा उनीहरुलाई सार्वजनिक गरिएको छ। उनीहरूको साथबाट नगद १ लाख ९ हजार, ५ सय रुपैयाँ, सामसुङ मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजारको चेक, एटिएम ७ थान र तान्त्रीक पुजाका सामग्री रहेको महानगरिय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

घटना यस्तो थियो

सितापाइला बस्ने प्रेमा तामाङले एकजना युवतीलाई मोडलिङको अफर गरिन्। उनको शर्त थियो उचाई ६ फिट हुनुपर्ने।

भर्खरै मोडलिङमा लागेकी रिताले राम्रो रकमसहित र्‍याम्पमा हिँड्न पाइने लोभले तामाङको अफर कुनै शंकाबिना स्वीकार गरिन्।

रितालाई तब मात्र तामाङमाथि शंका भयो, जब उनको भिडियो विराटनगरमा रहेका उमेश शाहलाई पठाइन्। उमेशले युवतीको महिनावारी भए नभएको, घाउ चोट लागेको नलागेको, कुनै अप्रेशन भए नभएकोबारे सोधपुछ गरेपछि रिताको मनमा चिसो पस्यो।

उनले आफूलाई गरेको प्रस्तावमाथि शंका लागेर महानगरिय प्रहरी परिसरमा यही पुस ४ गते उजुरी दिइन्।

उक्त उजुरीपछि महानगरीय प्रहरीले अनुसन्धान थाल्यो। विशेष प्रहरीको टोलीले पीडित युवतिको पिछा गर्दै विराटनगरसम्म पुग्‍ने निचोड निकाल्यो।

विराटनगरमा रहेका प्रेमा तामाङका श्रीमान् कृष्णले ती युवतीलाई पुस ६ गते नै हवाई टिकट र २६ हजार रूपैयाँसमेत पठाइसकेका थिए।

प्राविधिक कारणवश जहाजको टिकट रद्द भएपछि भोलिपल्ट बिहान ९ बजे उनी दिलमाया बुढामगरको साथमा विराटनगर लागिन्। विराटनगरमा उनीहरूलाई कृष्ण तामाङ र उमेश शाहले भ्यानमा हालेर रामजानकी मन्दिर नजिकैको होटलमा राखे।

त्यसपछि ती युवतीलाई उनीहरूले जलजलाचोकनजिकैको कालीमन्दिरको धर्मशालाको कोठा नम्बर २०५ मा राखे। त्यहाँ उनको महिनावारी भए नभएको चेक गरियो।

त्यति मात्रै होइन, नयाँ मान्छेहरु उमेश, रंजीत र दिलिपसँग पनि तान्त्रिक पूजा र मोडलिङ गर्दा आवश्यक सामग्री किन्‍न जोगबनी नाका छिचोलेर भारत लैजाने योजना बन्यो।  

यो कुरालाई नजिक बाट नियालिरहेको प्रहरीले उनीहरुलाई त्यसैदिनको बेलुका ९ बजे पक्राउ गर्‍यो। यता काठमाडौंमा रहेकी प्रेमालाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। 

यो घटनामा अनुसन्धान गरेको प्रहरीले मोटो रकमको प्रलोभनमा पारेर युवतीलाई भारतमा लगेर जस्तोसुकै काममा संग्लन गराउन सक्ने  अवस्था रहेको जनाएको छ।

'यदि प्रहरीले उनीहरूलाई पक्राउ नगरेको भए युवतीमाथि जुनै किसिमको काम हुनुक्थ्यो। उनलाई बलिको नाममा मार्न पनि सक्थे। बेच्‍न पनि सक्थे', बोगटीले भने, 'महानगरीय प्रहरी र मोरङ प्रहरीको समन्वयले उनीहरूलाई पक्राउ गर्न सफल भयौं।'

प्रहरीले उनीहरूलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ। उनीहरूमाथि मानव बेचबिखनको मुद्दा लगाउने तयारी भइरहेको छ।

पत्‍नी केटी खोज्ने, पति बोर्डर कटाउने

प्रेमा र कृष्ण श्रीमान श्रीमती हुन्। यता काठमाडौंमा बसेर प्रेमाले युवतीलाई फकाइ विराटनगर पुर्‍याउने काम गर्ने, उता विराटनगरमा कृष्णले गिरोहसँग बसेर बोर्डर कटाउन मद्दत गरिरहेको प्रहरीले जनाएको छ। यो बापद उनीहरूले ५ लाख रुपैयाँ पाउने अनुसन्धानले देखाएको छ।

आरोपी भन्छन्, प्रहरीले फसायो

परिसरमा सार्वजनिक गर्ने क्रममा पक्राउ सातमध्ये एक उमेश शाहले प्रहरीले आफुहरुलाई फसाएको आरोप लगाएका छन्। उनले प्रहरीले एकतर्फीरुपमा सडकबाट आफुहरूलाई पक्राउ गरेको बताए।

'हाम्रो पनि इज्जत छ। प्रहरीको बर्दी लगाउँदैमा जसलाई पनि पक्राउ गर्न पाईदैन। हामीहरू निर्दोष छौं,' उनले भने।

फोटो : शिला तिम्सिना

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.