|

काठमाडौं : 'द लेप्रोसी मिसन नेपाल' आनन्द वन अस्पतालका अध्यक्ष अशोक अधिकारीले भारतको प्रभाव अस्वीकार गरेको दाबी गरेका छन्। भारतबाट सञ्‍चालित लेप्रोसी मिसनलाई नेपालीकरण गर्न भएको छलफलमा भारतले व्यक्तिगत परियोजना दिएर नेपालमा काम गर्न दिन गरेको प्रस्ताव अस्वीकार गरेको अधिकारीले दाबी गरेका हुन्।

एसोसिएसन फर आइडिया नेपालले सातवटै प्रदेशका कुष्ठ रोग प्रभावित व्यक्तिका लागि गरेको पहिलो राष्ट्रिय भेलामा अध्यक्ष अधिकारीले २० लाख रुपैयाँ सहयोग गर्ने प्रस्ताव स्वीकार गरेको भए देशकै लागि सबैभन्दा  ठूलो घात हुने स्मरण गरे।

उनले ५ करोडबाट सुरु भएको द लेप्रोसी मिसन नेपालको वार्षिक बजेट अहिले ७५ देखि ८० करोड रुपैयाँको हाराहारीमा रहेको जानकारी दिए। उनले नाम मात्र सुब्बिनी भए नहुने भन्दै उभिन पनि सक्नुपर्ने उखान सुनाए। 'नेतृत्वलाई काम गर्न दिनुपर्छ, लडेकालाई उठ्न सिकाउनुपर्छ' उनले भने, नेतृत्वसँग इमान्दार कार्यशैली हुनुपर्छ।

आनन्द वन अस्पतालका डाक्टर प्रदीप सापकोटाले उपचारमा आइदिन कुष्ठ प्रभावितलाई आग्रह गरे। घर दैलोमा गएर कुष्ठ प्रभावितको खोजी गर्दा पनि उपचारमा नआउने गरेको बताउँदै उनले रोग लुकाएर बस्न नहुने चेतना घर घरमा पुर्‍याउनुपर्नेमा जोड दिए। नेपाल जापानमैत्री समाजका अध्यक्ष दिलमान गौचनले सहयोग लिएर मात्र नहुने भन्दै उपलब्‍धिमूलक काम गरेर देखाउन सुझाव दिए।

उनले वर्तमान आइडिया नेपालका अध्यक्ष अमर तिमल्सिनालाई सबैको साथ रहेकोमा खुशी व्यक्त गरे। शिक्षक राजकुमार घिमिरेले सेवा धन सम्पत्तिको मात्रै नहुने भन्दै मीठो मुस्कान नै सहयोग हुने बताए। आइडिया नेपालका अध्यक्ष अमर तिमल्सिनाले कुष्ठ प्रभावितलाई हेर्ने दृष्टिकोणमा पहिलेभन्दा अहिले धेरै परिवर्तन भएको सुनाए। उनले कुष्ठ प्रभावितहरुलाई एकजुट भएर नेपालबाट कुष्ठ रोग शून्यमा झार्ने अभियानमा खटिन आग्रहसमेत गरे।

आइडिया नेपालका कानुनी सल्लाहकार प्रह्लाद महतले संस्थामा बसेर कर्तव्य नभुली काम गर्न सल्लाह दिए। द लेप्रोसी मिसन नेपाल आनन्द वन अस्पतालमा आइडिया नेपालका सातवटै प्रदेशका कुष्ठ प्रभावितहरू भेला भएर भावी रणनीति निर्माणमा जुटेको आइडिया नेपालले जनाएको छ। आइडिया नेपालले सातवटै प्रदेशमा भर्खरै गठन भएको प्रदेश समितिका पदाधिकारीलाई पहिलो पटक भेला गराएर रणनीति बनाउन लागेको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.