|

ताप्लेजुङ: जिल्ला प्रहरी कार्यालयले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फूलबारीकी मन्दिरा अधिकारीको हत्या आरोपमा पक्राउ परेका रमेश अधिकारीलाई सार्वजनिक गरेको छ। आइतबार प्रहरी कार्यालय ताप्लेजुङले अधिकारीलाई सार्वजनिक गरेको हो। 

मंसिर १७ गतेदेखि वेपत्ता भएकी १९ वर्षीया अधिकारीलाई खोजी गरिदिन भन्दै उनको अभिभावकले मंसिर २३ गते फोटोसहित प्रहरीलाई निवेदन दिएको थियो। निवेदनकोे आधारमा खोजतलास गरी सोही गाउँपालिका ३ हाङ्पाङका रमेश अधिकारीलाई प्रहरीले गत पौष ९ गते पक्राउ गरेको थियो। 

२७ वर्षीय अधिकारीलाई व्यक्ति बेपत्ता पारेको कसुरमा जिल्ला अदालत ताप्लेजुङबाट हिरासतमा राख्न म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए। फुँयालका अनुसार अभियुक्तले अधिकारीको हत्या गरी तमोर नदीको पुलबाट फालिदिएको स्वीकारेका छन्। 

कसरी भएको थियो घटना?

प्रहरीका अनुसार रमेश र बेपत्ता मन्दिराबीच गहिरो प्रेम सम्वन्ध रहेको खुलेको छ। मंसिर १७ गते रमेश फुङलिङ बजारबाट फर्किने क्रममा मन्दिरालाई सम्पर्क गरी सेसम्बू र फूलवारी जोड्ने तमोर नदीको पूलपारि भेट्ने योजना बनाए। सोही योजना अनुसार उनीहरू बीच भेट भएको र भेटका क्रममा विवाद भएपछि रमेशले मन्दिराको हत्या गरी तमोर नदीको पूलबाट नदीमा फालेको बयान दिएका छन्।

‘रमेशले अर्कैसँग विवाह गर्ने भएपछि उनीहरूबीचमा विवाद भएको पाइयो’, डिएसपी फुँयालले भने, ‘सोही विवादले घट्ना निम्त्याएको अनुसन्धानबाट खुलेको छ।’ रमेशले प्रहरी समक्ष दिएको वयानपछि उनलाई नै लिएर घटनास्थल पुगेको प्रहरीले घटना भएको मित्ला खेतमा मन्दिराले लगाएको आउटर, मृतकको कपालमा लगाउने चिम्टी, टप, चप्पल र छोरा मान्छेले हातमा लगाउने पञ्जा घटनास्थलमा फेला पारेको छ।

मन्दिराको शव भने अहिलेसम्म फेला परेको छैन। प्रहरी र स्थानीय वासीन्दाले तमोर नदीमा खोजी कार्य जारी राखे पनि हालसम्म उनको शव भने फेला पारिसकेका छैनन्। दुई वर्षसम्म चोकपुर स्कुलमा कार्यरत रहँदा उनी सोही स्कूल नजिकैको मन्दिरा अधिकारीकै घरमा बसेका थिए। 

हत्यापछि रमेशले गरेका थिए अपहरणमा परेको नाटक 

मंसिर १७ गते मन्दिराको हत्या आफुले नै गरेको स्वीकारी सकेका हाङपाङका रमेश अधिकारीले सोही दिन राति आफू अपहरणमा परेको नाटक समेत गरेको पाइएको छ। आफू अपहरणमा परेको र अपहरणकारीको पञ्जावाट उम्कन सफल भएको भन्दै हत्यापछि हाङपाङ पुगेर उनले अपहरणमा परेको नाटक गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो।

मन्दिरा बेपत्ता भएकै दिन उनले हाङपाङस्थित खोक्सेखोला नजिकैको एउटा याक्सामा पुगेर आफू अपहरणमा परेर पनि भाग्न सफल भएको, भाग्दा लडेर वेहोस् भएको र होसमा आएपछि याक्सासम्म आइपुगेको भन्दै करिव रातको एक बजेतिर गाउँलेलाई लिन आउन भनी फोन गरेका थिए।

अपहरणकै क्रममा मुखमा माक्स लगाएकी एक केटीले आफ्नो औला टोकिदिएको समेत उनले गाउँलेलाई बताएका थिए। तर सो दिन उनी अपहरणमा परेको नभई अपहरणको नाटक मात्र गरेको समेत प्रहरी अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। 

मन्दिराको शव खोजी कार्यजारी

अभियुक्त रमेशले आफूले फूलबारी पुछारमा हत्या गरेर शव तमोर नदीमा बगाएको बयानका आधारमा प्रहरी र स्थानीयले बिहीबारबाटै तमोर नदीमा शव खोजिरहेका छन्। आइतबारसम्म पनि  मन्दिराको शव भेटिएको छैन।

मन्दिराका काका चन्द्र अधिकारीले तमोर नदी किनारै किनार तेह्रथुम र पाँचथरको सीमा क्षेत्र इवाको पुछारसम्म पुगेर शव खोजेको बताए। गहिरो नदीमा शव खोजतलासका लागि विशेषज्ञ टोली (गोताखोर) समेत झिकाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.