भन्छन्‌- 'संघसंस्थाका भरमा न गरिबी घट्छ, न समृद्धि हासिल हुन्छ'

|

काठमाडौं : पाँच दशकअघि चितवनको एक सामान्य परिवारमा जन्मिएका जगन चापागाईं जब बुझ्ने भए त्यही बेलादेखि आफ्नोभन्दा अरुको सेवा गर्न अग्रसर देखिए। 

आठ दाजुभाइ र दुई दिदीबहिनीसहित सामान्य परिवारमा हुर्किएका उनले आफ्ना लागि कहिल्यै महत्वाकांक्षा राखेनन्‌, राखे त केवल मानव सेवा। त्यही मानव सेवाको भोकले  जगनलाई चितवनको जुनियर रेडक्रस सर्कलबाट सोही संस्थाको सबैभन्दा माथिल्लो तहमा पुर्‍याएको छ। जगनले आगामी फ्रेबुवरीबाट रेडक्रस तथा रेड क्रेसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)को प्रमुख अर्थात् महासचिवको जिम्मेवारी सम्हाल्दैछन्‌।

सन् १८६३ मा जेइन हेनरी ड्युनाले स्थापना गरेको रेडक्रस संसारभर मान्यता प्राप्त मानव परोपकारी सहायता संगठन हो। युद्ध र युद्धका परिणामहरु, प्राकृतिक विपत्ति, त्यसले सिर्जेका असर र मानव समाजमा पहिल्यैदेखि रहेको गरिबी तथा विषमता न्यूनीकरणका लागि सहयोग संगठनको रुपमा आइएफआरसीको स्थापना भएको थियो। ६ लाखभन्दा बढी कर्मचारी र १९२ देशमा १ करोड ४० लाख स्वयंसेवकहरुको माध्यमबाट १५ करोड मानिसको पहुँचमा पुगेको विश्वकै सबैभन्दा ठूलो मानवीय संस्थाको नेतृत्व यतिखेर नेपालका जगनको काँधमा आइपुगेको छ।

यो जिम्मेवारी प्राप्त गर्ने उनी नेपालका मात्रै नभएर एसियाकै पहिलो व्यक्ति हुन्। माध्यमिक तह पढ्दै गर्दा २०३७ सालतिर जुनियर रेडक्रस सर्कलको आवद्धताबाट सुरू भएको जगनको मानव कल्याणकारी यात्राले उनलाई रेडक्रसकै सबैभन्दा माथिल्लो तहमा पुर्‍याएको छ। तर‚ उनलाई यति लामो यात्रा पनि भर्खरै सुरु गरेको जस्तो लाग्छ, तर उनले मानवसेवामै जीवनको ऊर्जाशील समय बिताएको २७ वर्ष पुगिसकेको छ। जगन भन्छन्‌, ‘मानव सेवामा जीवनको कति समय खर्च गरें भनेर मैले कहिल्यै हिसाब गरिनँ, बाँकी समयमा पनि मानवहित खातिर धेरै गर्न सक्छु भन्‍ने विश्वास छ।‘

पढाइ इञ्जिनियर, रोजाइ मानवकल्याण

२०३९ सालमा एसएलसी उत्तीर्ण गरेर काठमाडौं आउँदा उनीसँग केही गर्ने आकांक्षा थियो। अब्बल विद्यार्थी रहेका उनले अस्कलमा आइएस्सी पढे। भारतबाट माइनिङ इन्जिनियरिङ गरे।

माइनिङ्ग इन्जिनियरिङ्ग गरेका उनले इन्जिनियर पनि संयोगले नै पढे। उनले भने, ‘सुरुमा मलाई चिकित्सक बन्नुपर्छ जस्तो लागेर बायोलोजी पढेका थिएँ, तर पछि फेरि गणित पढें, जसले गर्दा म इन्जिनियरिङ पढ्नतिर लागें।‘

रेडक्रममा जोडिनुपूर्व जगनले केही महिना इन्जिनियरका रुपमा काम गरे। तर मनमा भने स्कुल पढ्दाताका जुनियर रेडक्रस सर्कलमा हुँदा बुझेको मानव सेवाकै हुटहुटी थियो। भारतमा इन्जिनियरिङ गरेका उनी त्यहीँ काम गर्न थालेका थिए। चितवनको दिव्यनगरका घर फर्किएका बेला रेडक्रसले नेपाल प्रवेश गरेका भुटानी शरणार्थीको सहायता र सहयोगका क्षेत्रमा काम गर्नका लागि कर्मचारी मागेको थियो। उनले आवदेन दिए। नाम निस्कियो। रेडक्रसले दिएको एउटा गाडी र ड्राइभर लिएर दमक पुगे। कार्यालय स्थापना गरे। युवा जोश थियो, भुटानी शरणार्थीहरुलाई नियमित खाद्यान्न एवं अन्य सहयोग वितरण गर्न थाले। राम्रो काम गरेपछि एक वर्षमै प्रशंसा पाए। संयुक्त राष्ट्रसंघ शरणार्थी आयोग र विश्व खाद्य संगठनले समेत रेडक्रसमार्फत् काम गर्न थाल्यो।

'पोजिसनलाई हेरेर कहिल्यै काम गरिनँ'

जुनियर रेडक्रस सर्कलमा आवद्ध भएदेखि सुरु भएको मानव कल्याणको यात्राका क्रममा जगन विश्वका धेरै देश पुगिसकेका छन्‌। ठूल–ठूला प्रकोपबाट पीडितको घाउमा मल्हम लगाएका छन्‌। मानव सेवामा नै आफ्नो जीवन सुम्पिएका जगन ठूला प्रकोप र विपत्तिहरुका कारण पीडामा रहेका मानिसहरुको जीवन सहज बनाउन पाउँदा सन्तुष्टि भेट्छन्। उनी भन्छन्‌, ‘जिन्दगी कति दिनको छ भन्ने थाहा छैन, तर जति दिन छ–त्यति आफ्नो लागि भन्दा मानव सेवाकै लागि केही न केही गर्नुपर्छ।‘

सन् १९९६ मा जेनेभाबाट अन्तर्राष्ट्रियस्तरको काम गर्न बोलाइएसँगै जगनको अन्तर्राष्ट्रिय मानवकल्याण यात्रा सुरु भयो। ६ महिनाको नियुक्ति लिएर सन् १९९६ जुनमा उनी ताजिकिस्तान पुगे। सोभियत संघ विघटन भएको पाँच वर्ष पुग्नै आँटेको थियो। कुनै बेला एउटै समाजवादी संविधान र व्यवस्था मान्छौं भनेर संघमा आवद्ध देशहरु टुक्रिएर रूससहित १५ वटा बनेका थिए। पछि यी देशहरु आर्मेनिया, अजरबैजान, बेलारुस, इस्टोनिया, जर्जिया, कजाकस्तान, किर्गिजस्तान, लाटभिया, लिथुवानिया, मोल्दोभा, ताजिकिस्तान, तुर्कमेनिस्तान, रुस, उक्रेन र उज्बेकिस्तानकै रुपमा स्वतन्त्र अस्तित्वमा आए।

ताजकिस्तान पनि सोभियत समयको सुरुवाती अप्ठ्यारोमा थियो। व्यवस्था अचानक ढलेपछि ताजिकिस्तानमा गृहयुद्ध सुरु भएको थियो। जसमा ६ हजारभन्दा बढी वृद्धवृद्धाहरु एक्लिएका थिए। रेडक्रस सञ्चालित उद्धार कार्यक्रम लिएर जगन त्यहीँ पुगे। युद्धका कारण निम्तिएको अस्तव्यस्तताका कारण वृद्धवृद्धाको स्याहार गर्ने मानिसहरु समेत थिएनन्‌। लामो समयसम्म खान  समेत नपाएका वृद्धवृद्धाहरुको जीवनमा उद्धार कार्यक्रम सञ्चालन गरेपछि छाएकाे खुशी जगनले कहिल्यै नबिसर्ने खुशीमध्येको एक हो। ताजकिस्तानले भोगेका पीडादायी दिनका साक्षी जगन सोभियत संघको अवसानसँगै मध्य–एसियामा उत्पन्न भएको चरम मानवीय संकटको पनि प्रत्यक्षदर्शी हुन्‌।

अनुभवले खारिएको मान्छे

मानव कल्याणकै लागि आफ्नो जीवन सुम्पिएका जगन आज जुन ठाउँमा पुगेका छन्–त्यो छोटो समयको प्रयासले सम्भव भएको होइन। जुनियर रेडक्रस सर्कल, भुटानी शरणार्थीको क्यापमा हुँदै सुरु भएको उनको मानव सेवाको यात्रा संसारका धेरै देशमा पुगिसकेको छ। सन् २००३ मा उनी दक्षिण एसियामा सञ्चालित सबै मानवीय सहयोगका कार्यक्रम हेर्नेगरी प्रमुख पदमा नियुक्त भएर जेनेभा पुगे।

त्यति नै बेला सन् २००१ मा भारतको गुजरातमा भूकम्प गयो। सन् २००४ मा सुनामीले श्रीलंका, माल्दिभ्स र भारतमा व्यापक जनधनको क्षति गर्‍यो। सन् २००५ मा पाकिस्तानमा भूकम्प गयो। उद्धार, राहत र पुनःस्थापनाको कार्यक्रम लिएर जगन पाकिस्तान पुगे। सन् २००६ मा मध्यएसियाका प्रमुख भए। 

सन् २००७ मा रेडक्रसको पुनःसंरचना भयो, विकेन्द्रीकरण लागू गरियो। लगत्तै जगन एसिया प्यासिफिक क्षेत्रको नायव प्रमुखको हैसियतमा मलेसियाको क्वालालम्पुर पुगे। चार वर्षसम्म जिम्मेवारी सम्हाले। संस्थाका प्रमुखको अचानक निधन भएपछि उनले प्रमुख पदका लागि निवदेन दिए। नियुक्त भएपछि थप चार वर्ष क्वालालम्पुरमै बिताए। त्यसबीचमा उनले चीनको सिचुवानमा गएको भूकम्प, म्यान्मार र बंगलादेशमा आएको आँधी, नेपालको भूकम्पलगायतका ठूला प्राकृतिक विपत्तिका समयमा उद्धार तथा राहतकार्य सञ्चालन गरे। विशेषगरी २०७२ वैशाखमा नेपालका गएको भूकम्प, गत वर्ष तराईमा आएको हुन्डरी प्रभावितलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहयोग जुटाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सन् २०१५ जुलाइमा सेक्रेटरी काउन्सिल (सचिव मण्डल)ले बोलाएपछि जगन निर्देशक भएर जेनेभा गए। त्यहीँबाट पदोन्नति भएर सन् २०१७ मे देखि उपमहासचिव पदमा कार्यरत रहेका उनले फ्रेबुवरीदेखि संसारभर फैलिएको अन्तर्राष्ट्रिय रेडक्रस सर्कलको नेतृत्व गर्दैछन्‌।

परिवारको दरिलो साथ

पढाइले इन्जिनियर रहेका जगनले यो स्थान बनाउनुमा उनको परिवारको निकै ठूलो साथ छ। इन्जिनियर पढेको छोरोले पेशाभन्दा फरक बाटो रोज्दा पनि परिवारले उनलाई रोकेन। परिवारले उनले रोजेको पेशा मात्र हैन,आफैंले रोजेको जीवनसाथीलाई समेत सहर्ष स्वीकारिदिए। जीवनका महत्त्वपूर्ण क्षणमा परिवारले दिएको साथ र समर्थन नै समाजसेवामा जगनलाई निरन्तर प्रोत्साहन गर्ने आधार भयो। जसले गर्दा आज एउटा नेपाली मानव सेवाको सर्वोच्च शिखरमा पुगेको छ।

सन्‌ १९९६ मा ताजकिस्थान पुगेका जगनलाई रेडक्रसले आफ्नो क्षेत्र विस्तार गर्नेक्रममा किर्गिस्तान र उज्ज्वेकिस्तानसम्म खटायो। किर्गिस्तानमा लिलिया भेटिइन्‌। विश्वविद्यालयमा पढिरहेकी लिलियासँग आँखा जुध्यो, कुरा मिल्यो, मन मिल्यो, जसको लागि फरक देश भुगोल भाषा धर्म

रीतिरीवाज, रहनसहनले रोकेन। व्यवस्थाको असफलता र युद्धको विभीषिकाबीच किर्गिजस्तानको चिसो भूगोलमा हुर्केकी लिलिया र एक नेपाली युवकबीच न्यानो सम्बन्ध गाँसियो र विवाहमा परिणत भयो। त्यसपछि उनको मानवसेवाको काम झनै दरिलो तरिकाले अघि बढ्यो र उनी आज यहाँसम्म आइपुगे। उनले भने‚ ‘लिलियाको साथ–सहयोग नभएको भए आज म यहाँसम्म आइपुग्ने थिइनँ होला उनले मेरो जीवनलाई यसरी सम्हालिदिएकी छिन् कि मैले घर परिवारको काम भनेर समय छुट्याउनु परेको छैन।‘

भाषा धर्म र भुगोलको प्रभावमा नपरी एउटा नेपालीको छोरोलाई शिखरमा पुर्‍याउन जगनको जिवनमा लिलया मेरुदण्डैकै भूमिका निर्वाह गरेकी छन्।

मानवसेवाकै हुटहुटीले युवा उमेरमानै विदेशी भूमिमा एक्लै पुगेका जगनको जीवनमा जब लिलिया आइन् उनले जगनको जीवन मात्र हैन खुसीमा पनि साथ दिइन्। हाल जेनेभामा दुई छोरा (राहुल र रवि)सहित एउटा नेपाली छोराको सफलतालाई लिलियाने सफलामा इट्टाको थपेकी छिन्।

यस्ता छन्‌ जगनका नयाँ लक्ष्य

अनुभवले खारिएका जगन संसारमा देखा परेका मानव संकटहरुको एक साक्षी हुन्। पछिल्लो समय विश्वले जलवायु परिवर्तन र त्यसबाट आएका ठूल–ठूला प्राकृतिक विपत्तिलाई संसारका धेरै देशले भोग्दै आएका छन्। यही अप्ठ्यारो र विपद्‌मा परेकाहरुलाई गर्ने जगनको योजना छ।

आइएफआरसीले अहिले समुदायमा आधारित दिगो विकाससम्बन्धी कार्यक्रमलाई महत्त्वका साथ अघि बढाएको छ। तर, उनको वर्षाैंको अनुभवले भन्छ– सामाजिक संस्थाले काम गरेर मात्र न गरिबी घट्छ, न समृद्धि हासिल हुन्छ। सर्वपक्षीय योजना कार्यान्वयनका लागि बहुपक्षीय योजना हुनुपर्ने र त्यसको नेतृत्व राज्यले गर्नुपर्ने उनले बताए। उनी भन्छन्‌– 'राज्यले नेतृत्व नलिई गरिबी घट्दैन।' आपतमा परेका, गरिबीकाे दुष्चक्रमा फसेका र जलवायु परिवर्तनको चपेटामा परेकाहरुलाई समस्याबाट निकाल्न आफ्नो कार्यकालभर सक्रियतापूर्वक लाग्ने चापागाईं बताउँछन्‌। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.