प्रजिअ भन्छन् : छाउपडीविरुद्ध उजुरी नै आउँदैन, कसलाई कारबाही गर्नु?

|

जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका-८ बारागाउँकी १८ वर्षीया मुगा रावत स्थानीय जनजागृत आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्छिन्। हरेक महिनाको पाँच दिन महिनावारी हुँदा उनी विद्यालय जाँदिनन्। महिनावारीका बेला विद्यालय गए विद्या हराउने र अनिष्ट हुने मान्यता छ।

उनी त एउटा उदाहरण मात्रै हुन्। जुम्लालगायत कर्णाली प्रदेशभरका किशोरीहरू महिनावारी हुँदा विद्यालय जाँदैनन्। विद्यार्थीको त के कुरा गर्नु र? गोठमा बस्नु हुँदैन! महिनावारी भए पनि विद्यालय छुटाउनु हुँदैन! सरसफाइमा ध्यान दिए देवता रिसाउँदैनन् भनेर कक्षामा पढाउने शिक्षिका नै महिनावारी हुँदा विद्यालय जाँदैनन् भन्‍ने सुन्दा अचम्म लाग्न सक्छ। तर यो कर्णालीको वास्तविकता हो।

महिनावारी हुँदा कक्षाकोठामा प्रवेश गर्दैनन्

तातोपानी गाउँपालिका-८ बारागाउँमा रहेको जनजागृति आधारभूत विद्यालयमा ४ जना शिक्षिका छन्। ज्ञानकुमारी शाही महिनावारी हुँदा कक्षा कोठामा छिर्दिनन्। एक पटक बिरामी हुँदा उनलाई धामीले महिनावारीका बेला विद्यालय गएकाले नै देवता रिसाए, अब त्यसो नगर्नु भनेकाले विद्यालयमा नगएको उनले बताइन्। 

'पहिला जान्थेँ, त्यसै दिनदेखि म मात्रै होइन, यस विद्यालयका शिक्षिकाहरु तिरुवा चलाउने, गरिमा चलाउने र दीपा रावत पनि महिनावारी हुँदा कक्षामा पढाउन जाँदैनन्', उनी भन्छिन्, 'शिक्षिकाहरू नै देवताको त्रासले कक्षामा छिर्दैनन् भने, किशोरीहरू कसरी कक्षामा बसून्!  

गर्मीमा होस् या हिउँदको माइनस् १५ डिग्री सेल्सियसमा। महिनावारी भएका किशोरीहरूलाई राति सुत्न गोठ र दिनमा पढ्न खुल्ला चौरबाहेक अर्को विकल्प छैन। महिनावारीका बेला विद्यालयमा प्रवेश गर्दा विभिन्‍न समस्या हुने धामी-झाँक्रीले बताइदिँदा किशोरीहरू मानसिक रूपमै छाउपडी प्रथाको सिकार भएका छन्। 

जनजागृति आधारभूत विद्यालयका किशोरीहरू एउटै लयमा भन्छन्, 'महिनावारी भएको बेला कक्षाभित्र जाँदैनौं, देवता रिसाउँछन्, विद्या हराउँछ, विरामी पर्छौैं, त्यसैले स्कुलको गेट छेउभन्दा भित्र जाँदैनौँ। 'महिनावारी भएर विद्यालय आएपछि गेटभन्दा पर जाँदैनौँ', साथी एक्लै बाहिर बसेको देख्दा सबै विद्यार्थी चौरमै बसेर पढ्ने गरेका छन्', अनिसा रावत भन्छिन्।

यो कु-संस्कारको जड विद्यार्थीमा मात्रै नभएर शिक्षिकामासमेत उस्तै देखिन्छ। विद्यालयमा पढ्दा पढ्दै महिनावारी भएमा सबै विद्यार्थीलाई कक्षाकोठा बाहिर चौरको कुनामा बसेर  पढाउने गरिन्छ।

जनजागृति माध्यमिक विद्यालयकी शिक्षिका ज्ञानकुमारी शाही भन्छिन्, 'महिनावारी हुँदा कक्षा कोठामा भए तत्काल हुने समस्या (खुट्टा नचल्ने, बोली नआउने, पैतला फर्किने, हातगोडा खुम्चने) प्रत्यक्ष देखेका छौं।' वर्षभरिमा २ सय २० दिन विद्यालय खुल्छन्। त्यस अवधिमा शिक्षिका र किशोरीहरू अधिकांश बाहिरै बस्छन्। कतिपय विद्यालय नै जाँदैनन्। 

महिनावारी र छाउपडीको सम्बन्ध 

महिलालाई मात्र हुने महिनावारीलाई विभिन्‍न परिभाषामा व्‍याख्या गरिएको पाइन्छ। जुम्लामा छुई भन्‍ने चलन छ भने जारकोटमा बाहिर सर्नु भनिन्छ, कतै पाखा सर्ने पनि भन्छन् त कतै रजस्वला भनिन्छ। जे नाम दिइए पनि महिनावारी एक प्राकृतिक प्रकृया हो। यदि महिला महिनावारी नहुने हो भने आमा बन्‍ने शौभाग्य पनि प्राप्त हुने थिएन। 

तर कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अहिले पनि महिनावारीलाई नकारात्मक रुपमा लिने चलन छ। त्यसैले महिनावारी भएको बेला छाउपडीमा छुट्टै राखिन्छ। छाउ हुनु फूल फुलेर फल लाग्‍नुसरह प्राकृतिक नियम भए पनि पुरातनवादी सोचले हाम्रो समाज थला पर्दै गएको छ। 

छाउपडी प्रथाले यति गहिरो जरो गाड्नुको मूलकारण हो -धर्मसँगको सम्बन्ध। यो एक हिन्दू धर्मसँग जोडिएको प्रथा हो। महिनावारी भएकोबेला महिलाहरू शारीरिक रुपले कमजोर हुन्छन् र तिनलाई आराम चाहिने भएकोले चुलोचौका र खेतबारीको कामबाट अलग राखिनुपर्छ भन्ने सोचले यो प्रथा बसाएको कतिपयको तर्क छ। तर, यो प्रथाका अन्ध समर्थकहरूले महिनावारी भएको बेला महिला अपवित्र हुन्छ भन्ने अर्थ लगाए।    

महिनावारी भएको समयमा परिवारका सदस्यलाई छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाएर पाप लाग्ने जस्ता रुढीवादी र अन्धविश्वासका कारण यो कुप्रथालाई झेल्न महिलाहरू बाध्य छन्। रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ। महिनावारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा गोठमा बस्ने गर्छन्। 

छाउगोठमा जंगली जनावरको त्रास

छाउगोठमा बस्दा महिलाहरु मानिसदेखि जंगली जनावरको त्रासमा पनि रहनुपर्छ। सर्प, बाघ, भालु लगायतका जंगली जनावरहरूको सिकार हुनु परेको छ। केही महिला छाउगोठमै बस्ददा बलात्कृत पनि भएका छन्। छाउगोठमा आगलागी लगायतका घटनामा परेर महिलाहरूले मृत्युवरण गरिसकेका छन्।

यस्को पछिल्लो उदाहरण हुन्-अछाम तुर्माखाद गाउँपालिका-४ की १८ वर्षीया पावर्ती बुढा। जेठ १८ गते राति उनी छाउगोठमा सुतिरहेकी थिइन्। एक विषालु सर्पले उनलाई डस्यो। उनी चिच्याउन थालिन्। तर, उनलाई तत्काल अस्पताल लान सकिएन्। उनको त्यहीँ तत्काल मृत्यु भयो।

सुदूरपश्चिम प्रदेशमा २०६४ सालयता २२ महिलाले छाउपडी प्रथाका कारण ज्यान गुमाइसकेका छन्। तर, यो तथ्यांक सञ्चारमाध्यममा छापिएका समाचारहरूको संकलन मात्रै हो। एक दशकयता यो भन्दा धेरै महिलाहरूले छाउगोठमा  ज्यान गुमाएको अधिकारकर्मीहरू बताउँछन्।

कर्णालीमा गत वर्षमात्रै चारजना महिलाको छाउगोठमा मृत्यु भएको थियो। यी क्षेत्रका महिलाहरू सम्भावित मृत्युबाट भन्दा धार्मिक अनिष्टबाट डराउँछन्। यो समस्या सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जुम्ला, मुगु हुम्ला, कालीकोट, डोल्पा, सुर्खेत ,सल्यान जाजरकोट, पश्चिम रुकुममा अझै छ।

विभिन्‍न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा अभियान सञ्चालन भइरहेका छन्। तर सामजिक कु-संस्कारमा हुर्केका धेरैजना अझै भित्री मनबाट परिर्वतन हुन सकेका छैनन्।

द्वन्द्वकालमासमेत छाउपडी प्रथा हटाउन ठूलो प्रयास भयो। तर  पनि नसकिएको जुम्लाका तत्कालीन जनसरकार प्रमुख टेकबहादुर रावलले बताए।  'जबसम्म हाम्रो दिमागमा देवी, देवताको मान्यता रहन्छ, तबसम्म यस्ता खालका सामाजिक कुरीतिसँग लड्न ठूलो बल प्रयोग गरे पनि सम्भव हुँदैन', उनी भन्छन्, 'छाउपडी प्रथाले निम्त्याएको सामाजिक समस्यासँगै शारीरिक, स्वास्थ्य, मानसिक, शैक्षिक समस्याबाट किशोरी ग्रसित हुन बाध्य छन्।'

पाठेघरको समस्या 

छाउ बार्दा हुने विभिन्‍न स्वास्थ्य समस्यामध्ये पाठेघरको समस्या प्रमुख छ। महिनावारी हुँँदा पोषिला खानेकुरा खाना नदिनु, धेरै भारी बोक्ने लगायतले महिलामा पाठेघर खस्ने समस्या बढेको छ। 

ग्रामीण भेगका महिलामा घरायसी कामको चाप, अधिकांश समय उकालो ओराले गर्नुपर्ने भएले पाठेघरमा फोहोर जम्मा हुने गर्दछ। जसले पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी देखिएको छ। 

स्वास्थ्य चेतना र अज्ञानतासँगै लाजका कारण सुविधासम्पन्‍न स्थानमा बस्ने महिलासमेत पाठेघरको समस्या लुकाउने गर्छन्। जसका कारण यसकोे भयावह अवस्था देखिएको पातारासी गाउँपालिका-३ का रामकली बुढाको भनाइ छ। 

त्यस्तै छुई भएको समयमा गोठमा बस्नु, उमेर नपुग्दै बिहे गर्ने, गर्भवती तथा सुत्केरी भएको बेला गह्रौ भारी बोक्ने सरसफाइमा ध्यान नदिने, कुपोषण लगायतका कारणले पाठेघर खस्ने समस्या हुने गरेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख प्रेम केसीले बताए। गरिबी तथा जनचेतनाको अभावले धेरै महिलाहरूमा पाठेघर खस्ने समस्या हुने गरेको उनको भनाइ छ।

विशेषगरी पिछडिएका समुदाय, दलित, अशिक्षित र गरिबीको चपेटामा परेका महिलाहरूमा पाठेघर खस्ने समस्या विकराल देखिन्छ। सामाजिक अपहेलनाका भयले तथा लाजका कारण रोग लुकाएर बस्ने महिलाको संख्या अझ विकराल छ। 

स्थानीय सरकारले विभिन्न कार्यक्रम मार्फत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरेर तथा सचेतना फैलाएर सावधानी अपनाउने कामलाई निरन्तता दिदै आएका छन्। तर प्रभावकारी भने हुन सकेको छैन्।

डर, त्रास र बाध्यता

जाजरकोटको जुनिचाँदे गाउँपालिका-४ लहादहकी १९ वर्षीया सावित्रा केसी महिनावारीका बेला गोठमा बस्दा मृत्यु भएको समाचार सञ्चारमाध्यममा  सुन्दा प्रत्येक महिनावारीमा डर लाग्ने गर्छ। उनी भन्छिन्, 'म पनि चिसोको कारण कतै केही हुने त होइन भन्‍ने त्रासले सधै मुटु काँप्छ।'

त्यस्तै जुनिचाँदे गाउँपालिका मजकोटकै कौशिला कार्की भन्छिन्, 'बर्सेनि महिनावारीका समयमा ७ दिनसम्म घरको आँगनसम्म छुन पाउँदिन, घरको काम भने सबै गर्नुपर्ने बाध्यता छ।'

कार्कीले थपिन्, 'महिनावारीका समयमा पोसिलो खाना, तातो पानीलगायतका कुरा खानुपर्छ भन्‍ने जानकारी रेडियो टिभीलगायतका संञ्चारमाध्यमबाट सुन्छौँ। तर देवता रिसाउँछन् भन्ने मान्यताका कारण घरका अगुवाले दही, दूध, घिउ खानदिने त के हेर्नसम्म नपाउने अवस्था छ।

यदि देउता रिसाए आँखा, कान, फुटाउँदै घर अनिष्ट हुने भन्ने मान्यताले किशोरीहरूमा त्रास फैलिएको छ। अर्कोतिर महिनावारीका बेला चिसोले ज्यान जाने त्रासका साथै यौन दुर्व्यवहारमा परिन्छ भन्‍ने पिरलो पनि छ। 

दुर्गम जिल्लाका गाउँहरूमा महिनावारी र सुत्केरी हुँदा घरभित्र नबस्ने, सरसमान छुनु हुँदैन भन्ने चलन कायम हुँदा यहाँका महिलाहरूले महिनापिच्छे पीडा भोग्नुपरेको छ। सामाजिक दवाबका कारण छाउपडीलाई निरन्तरता दिन महिलाहरू बाध्य छन्। यस्तो समस्या ग्रामीण भेगका शिक्षित र अशिक्षित महिलामा धेरै रहेको जुनीचाँदेका  रेशम खड्का बताउँछन्। 

विशेषगरी जुम्लामा सुत्केरी हुँदा छुट्टै छाउगोठ नभएपनि गाई, भैंसी वाँध्ने ठाउँमा एक कुनामा राख्ने चलन छ। सुत्केरीदेखि महिनावारी हुँदा सम्म गोठको एक कुनामा राख्ने चलन अहिले पनि कायम रहेको ग्रामीण क्षेत्रका महिलाहरू बताउँछन्। सुत्केरी भएको बेला १ महिना र महिनावारी भएको बेला ७ दिनसम्म घरबाहिर छाउगोठ वा छाप्रोमा बस्छन्।

महिनावारी हुँदा कम्तीमा ७ दिन सम्मको महिलाहरूको खाना भनेको नुनको धुलो र सुक्‍खा रोटी मात्र हो। दुई तलाको घरमा तल्लो तला गाई, भैसी बाँध्ने गरिन्छ भने माथिल्लो तलामा मानिसहरू बस्ने गर्दछन्। 

गाई, भैंसीको मलमूत्र रहेको ठाउँमा बस्दा दुर्गन्धका कारण स्वास्थ्यमा समस्या आउने गरेको बारेकोट गाउँपालिका - ७ की पार्वती विकले बताइन्।  पढेलेखेका विद्यार्थी पनि परिवारको दबाबमा छाउ बार्न बाध्य छन्। नेपाल सरकारले छाउपडी प्रथा एक अन्धविश्वास होे भन्दै छाउपडी प्रथा उन्मुलन निर्देशिका २०७४ ले हिंसा ठहर गरेको छ। यदि यस्ता काम गरेमा वा गराएमा दण्ड जरिवाना तोकेको छ। 

छाउपडीविरुद्ध हत्तपत्त कसैले उजुरी नै गर्दैन। यसैले, कानुनको कार्यान्वयन पनि मुश्किल छ। जुम्लाका निमित प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठ भन्छन्, 'उजुरी नै आउँदैन, कसलाई समात्ने? कसलाई कारबाही गर्ने?’

छाउगोठमा राख्ने घरपरिवारकै सदस्य हुन्छन्। उनीहरूविरुद्ध उजुरी गर्ने आँट गाउँका प्रायः महिलामा हुन्न। आफनै दाजुभाई, श्रीमान, सासु—ससुराविरुद्ध कसैले उजुरी नै दिँदैनन्। उजुरी नै नआउँदा कानुन छ भन्दै समातेर सजाय गर्न मिल्दैन, उनको तर्क छ। 

हुम्लाका महिलामा छुई पीडा 

हुम्ला जिल्लामा महिनावारी भएका महिलाको  पीडा अझ कष्टकर छ। विशेषगरी हिउँदको समय सुरु हुँदा हुम्ला जिल्लाको तापक्रम माइनस १० देखि १५ डिग्री सेल्सियससम्म पुग्ने गर्छ। चिसो बढ्न थालेपछि तापक्रम घटेर माइनस २० डिग्री पुग्दासमेत महिलाले देवता रिसाउने भन्दै महिनावारी हुँदा घर बाहिरको आँगनमा आगोको सहायतामा खुल्ला आकासमुनि रात  कटाउँदै आएका हुन्छन्।

हुम्लामा ७५ प्रतिशत महिलाहरू खुल्ला आकाशमुनि आगोको भरमा महिनावारी भएको समयमा ३ देखि ५ दिनसम्म घरवाहिर बस्नुपर्ने बाध्यता रहेको सर्केगाड गाउँपालिका वडा ३ उनापानी गाउँकी सविता थापाले बताइन्। उनले आफूहरू महिनावारी हुँदा पुस, माघ महिनाको कठ्याङ्गग्रीदो चिसोमा खुल्ला आकाशमुनि बस्दैै आएको बताइन्। 

महिनावारी हुदा सामाजिक मान्यता र वर्षौदेखि जरो गाड्दै आएको कुसंस्कारले गर्दा घरवाहिर बस्नुपरेको बाध्यता रहेको वडा ३ कै अलैँची फडेराको दुखेसो छ। 

महिनावारी (छुई) हुँदा घरको जग छुन नपाए पनि गोठमा बस्दै आएका छन् भने त्यस क्षेत्रका महिलाहरू घरको आँगनमा बस्दै आएका छन्। शिक्षित महिलाहरू पनि महिनावारी हुँदा घर बाहिर बस्दै आएका छन्। 

महिनावारी हुँदा छाउपडी (छुई) प्रथा घरबाहिर बस्ने चलन सर्केगाड गाउँपालिकामा मात्र नभएर हुम्लाको सातवटै गाउँपालिकामा रहेको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताइन्। अनमी बोहराका अनुसार चिसोका कारण हुम्लाका अधिकांस महिलाहरू बाथ, दम, निमोनिया र अन्य चिसोबाट लाग्ने रोगको मारमा पर्दै आएका छन्।

उनले भनिन्, ‘जिल्लाका दक्षिणी गाउँपालिकामा पनि महिनावारी हुँदा घरबाहिर गोठमा बस्ने चलन छ। महिनावारी हुँदा घर बाहिर बस्नुपर्ने कुप्रथा उनापानी गाउँमा मात्र नभई जिल्ला स्तरबाटै अन्त्य हुनेगरी जनचेतना फैलाउन आवश्यक रहेको अनमी बोहराको भनाइ छ।

लामा सामुदायले बार्दैनन् छुई  

छुई बारेर गोठमा बस्ने चलन भौगोलिक क्षेत्र विशेष कर्णाली र सुदूरपश्चिम प्रदेशमा भए पनि सबै जातिमा भने यो प्रवृत्ति पाइन्न। मुगु ,जुम्ला, हुम्लाका जारकोट लगायका सबै ठाउँमा बस्ने लामा बौद्धमार्गी समुदायले भने महिनावारीलाई सामान्य प्रक्रिया जस्तै मान्दै आएका छन्।

हुम्ला जिल्लाको नाम्खा गाउँपालिकामा एकदेखि पाँच वडासम्म सबै लामा समुदायको बसोवास रहेको छ। त्यस्तै, सिमकोट गाउँपालिका वडा तीन र चारमा लामा समुदायको बाक्लो बस्ती रहेको छ।  एउटै ठाउँमा बस्ने लामा समुदायमा महिनावारी हुँदा पनि घर बाहिर बस्ने चलन नभएको सिमकोट तीनकी माया लामाले बताइन्। 

आफूहरू महिनावारी हुँदा सामान्य प्रक्रिया जस्तै ठान्दछौँ। जुन समय महिनावारी हुन्छौँ त्यतिखेर नै सफा भएर बस्छौँ घर बाहिर नै बस्नु नपरेको निमा लामाले बताइन्। उनी भन्छिन- सुत्केरी हुँदा पनि फरक घर नभएर परिवारसँगै बस्ने गर्दछौँ। 

महिनावारी महिलामा हुने सामान्य प्रक्रिया हो। तर, अन्य समुदायले यसलाई संस्कारको रूपमा लिएका कारण महिलाहरूले दु:ख पाएको उनले बताइन्। हुम्लाकी १२ पास गरेकी उर्मिला रावत भन्छिन् यो कुसंकार, अन्धविस्वास हो। तर, समाजले यसै प्रथालाई निरन्तरता दिँदै आएका कारण माइनस १३ डिग्रीको चिसोमा पनि खुला अकाशमुनि बस्न हामी बाध्य छौँ।  

पहिलेको तुलनामा केही सुधार 

संघीय संरचनापछि देश तीन तहमा विभाजित भएको छ। स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार। पहिलेको तुलानामा स्थानीय सरकारले छाउपडी न्यूनीकरणकाविरुद्ध योजनाबद्ध काम गरिरहेका छन्। महिनावारी अर्थात छुई हुँदा कम्तीमा ७ दिन छाउ गोठमै बस्दै आएकी महिला तथा किशोरीहरू आजभोलि ३ दिनपछि घरभित्रै जाने गरेका छन्। जुम्लाको तिला गाउँपालिकाले  ५,८,४,७ वडामा छाउगोठमुक्त घोषणा गरेको छ।

सन् २०२१ सम्ममा छाउगोठमुक्त गाउँपालिका बनाउने लक्ष्यराखेको तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले बताइन्। उनले भनिन्, महिनावारी हुँदा आमा गोठमा बस्दा बच्चाको समेत स्वास्थ्यमा असर पर्नेे भएका कारण  महिनावारी हुँदा गोठमा होइन सुरक्षित कोठामा राख्ने अभियानमा गाउँपालिका लागि परेको छ।

गाउँपालिका, महिला तथा बालबालिको हितमा काम गर्ने संस्थासंँग समन्वय गरी छाउपडी मुक्त गाउँपालिका बनाउन लागी परेको छ।
धेरै संघ संस्थाबाट जनचेतनालगायत क्षमता अभिबृद्धिका अवसर पाए पछि अहिले छाउ मान्न पनि छोडेका छन्। 

महिलाले गाउँमै पटकपटक महिनावारी स्वच्छता व्‍यवस्थापनसम्बन्धी तालिम पाएसंँगै घरमै प्याड बनाउन सिकेका छन्। हरेक महिना आमा समूहमा हुने औपचारिक छलफल र मेलापातमा दिदीबहिनीबीच हुने अनौपचारिक छलफलपछि छाउप्रथा मान्ने महिलाहरूको संख्या विस्तारै घट्दै गएको छ। 

छाउ हुँदा घरभित्र बसे देवी देवताले सराप्‍ने, बोटविरुवा छोए पाप लाग्ने वा सुक्ने र गाईभैंसीको दूध दही खान नहुने लगायतका अन्धविश्वासका कारण महिलाहरूको  स्वास्थ्य निकै कमजोर भएको तर अहिले छाउ नमान्दा स्वास्थ्य अवस्था सुध्रिएको जुम्लाको हिमा गाउँपालिका ४ कि ४० वर्षीया सिद्धा शाही बताउँछिन्।

आफूले महिनावारीको बेला गोठमा बसी सुक्‍खा खानेकुरा खाने, प्याड प्रयोग नगर्ने, पातलो ओछ्यानमा सुत्ने, चिसोले सताउने जस्ता कारणले धेरै रगत बगेर कैयौँपटक  स्वास्थ्य अवस्था बिग्रिँदै गएको पनि सिद्धाले बताइन्। परम्परागत रुढीवादी छाउप्रथा हटाउन, छाउलाई प्राथमिकता दिने समाज र महिला तथा किशोरी आफै परिवर्तन हुन जरुरी रहेको शाहीको भनाइ छ।

कानुनको पालना हुँदैन

सर्वोच्च अदालतले २०६२ वैशाख १९ गते छाउपडीलाई कुप्रथाका रुपमा ब्याख्या गर्दै यसको अन्त्य गर्न सरकारलाई आदेश दिएको थियो। त्यसपछि सरकारले छाउपडी प्रथा उन्मुलनसम्बन्धि निर्देशिका २०६४ जारी गरेको थियो। 

त्यसैमा टेकेर नयाँ मुलुकी अपराध संहिता २०७४ मा पनि रजस्वला वा सुत्केरी भएकी महिलालाई छाउगोठमा राख्न नपाइने व्‍यवस्था गरिएको छ।

संहिताको दफा १६८ को उपदफा ३ मा भनिएको छ, 'महिनावारी वा सुत्केरी अवस्थामा महिलालाई कुनै किसिमको भेदभाव गर्नु हुदैन। उपदफा ४ मा यस्तो किसिमको भेदभाव गर्नेलाई तीन महिना कैद र तीन हजार जरिवाना वा दुवै सजायको ब्यवस्था गरिएको छ। त्यस्तै सरकारी कर्मचारीले यस्तो अपराध गरेमा थप तीन महिना कैदको ब्यवस्था उपदफा ५ मा गरिएको छ।'  

तर पनि कर्णाली प्रदेशका जिल्लामा अधिकांश शिक्षितका घरमा नै महिनावारी हुँदा छाउ वार्ने चलन कायम रहेको छ। जनप्रतिनिधिदेखि शिक्षक राजनीतिक दलका परिवारमासमेत महिनावारी हुँदा बाहिर सर्ने चलनमा विश्वास गर्छन्। अब सबै यसकोविरुद्ध डटेर लाग्नुपर्ने नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.