|

बैतडी : दुई दिनदेखि मौसममा आएको परिवर्तनले बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी र हिमाली जिल्लाहरुमा यस वर्ष दोस्रोपटक भारी हिमपात भएको छ। यसअघि मंसिर अन्तिम साता पनि हिमपात भएको थियो।

बैतडी, दार्चुला, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लामा भारी हिमपात भएको हो। बैतडीको दशरथचन्द राजमार्गको मुस्याचौर, अनारखोली, खोडपे,  सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीको खोडपे–बझाङ–जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ। 

यस्तै, बझाङको साइपाल गाउँपालिका, सुर्मा गाँउपालिका, छबिसपाथीभेरा गाउँपालिका र बुंगल नगरपालिकाको माथिल्लो भेगमा हिमपात भएको छ।  दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङ्करलगायतका ठाउँमा हिमपात भएको छ। 

डडेल्धुराको भिमदत्त राजमार्गको शाहुखर्क, हगुल्टेलगायतका स्थानमा हिमपात भएको प्रहरीले जनाएकोे छ। हिमपात भएसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ। 

भारी हिमपातले सुदूरपहाडका राजमार्ग शुक्रबार रातिदेखि नै अवरुद्ध बनेका प्रहरीले जनाएको छ। बैतडीको अनराखोली, खोडपे क्षेत्रमा दुई फिटसम्म हिउँ जमेकाले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। यस्तै, श्रीभावर, बित्थड, ढोल्यामोड क्षेत्रमा पनि हिउँ जमेकाले खोडपे–बझाङ जयपृथ्वीराजमार्ग अवरुद्ध छ। डडेल्धुराको हगुल्टे क्षेत्रमा भारी हिमपात हुदाँ भिमदत्त राजमार्ग अवरुद्ध बनेको हो। अवरुद्ध राजमार्ग खुलाउन डोजर प्रयोग गरिएको छ।

 

किसानलाई राहत 

वर्षासँगै हिउ परेर चिसो बढे पनि बाली सप्रिने भन्दै किसानहरु खुसी भएका छन्। सिंचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिंचाइको काम गर्ने भएकाले किसानहरु खुसी भएका हुन्।  हिमपातले विभिन्न कीराहरु समेत नष्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। 

हिमपात भएपछि बिहीबार रातिदेखि बैतडीमा विद्युत सेवा अवरुद्ध भएको छ। राती चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रमा लाइनमा समस्या आएको नेपाल विद्युत प्राधिकरण बैतडीले जनाएको छ। विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन्। 

दाउरा वितरण

हिमपातसँगै चिसो बढेपछि जिल्ला प्रहरी कार्यालय बैतडीले ठाउँठाउँमा दाउरा वितरण गरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका २५ ठाउँमा दाउरा वितरण गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए।

सामुदायिक वन उपभोक्ता महासंघ, डिभिजन वन कार्यालय र स्थानीय तहसँगको सहकार्यमा २५ ट्रयाक्टर दाउरा वितरण गरेको डिएसपी पाण्डेयले बताए। 

चोकचोकमा आगो बाल्नका लागि दाउरा वितरण गर्नु निकै सराहनीय कार्य भएको दशरथचन्द नगरपालिका–२ का स्थानीय सूर्यबहादुर बोहराले बताए। 

यता, जिल्ला प्रशासन कार्यालयले लेकाली भेगमा चिसोबाट वच्न सतर्कता अपनाउन आग्रह गरेको छ। सूचना जारी गरी औषधि आपूर्तिका लागि स्थानीय तहलाई निर्देशन दिइसकेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रजिअ आनन्द पौडेलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.