एक दशकयता रुकुमको विद्युतमा तीव्र विकास

|

र्षेणी बढ्दै विद्युत पहुँच

रुकुम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१३ का ८५ वर्षीय नैनसिंह खड्कालाई रातको समयमा घरमा उज्यालो गर्न सल्लाको झर्को (दियालो) बालेर धेरै समय गुजार्नुपर्‍यो। घरमा उज्यालो गर्नेदेखि कुनै लामो यात्रा गर्ने क्रममा समेत झर्को नै सहयात्री हुन्थ्यो।

उनी मात्र होइन धेरैको जिन्दगीको संघर्ष यसरी नै गर्नुपरिरहेको थियो। खड्काको गाउँमा एक वर्ष अघि नेपाल विद्युत् प्राधिकरणमार्फत विद्युत् सेवा पुग्दा उनलाई अचम्म लाग्यो। नयाँ संसारको अनुभूति भयो।

‘हामीले त शुरुमा झर्को र पछि मट्टीटेलको टुकी बालेर रातमा उज्यालो गर्थ्‍यौं’ उनले भने, ‘हिजोआज त विद्युत् आएर घरघरमा उज्यालो भएको छ, हाम्रो महत्वपूर्ण जिन्दगी अन्धकारमा बिते पनि पछिल्ला सन्तानका लागि निकै सहज भएको छ, हामी पनि त भाग्यमानी रहेछौं मर्नेबेला भए पनि उज्यालो देख्‍न पायौँ।’

रुकुम पश्चिमका धेरै ठाउँठाउँमा पछिल्लो समय विद्युतको पहुँच पुगेसँगै धेरै ज्‍येष्ठ नागरिकका लागि आश्चर्य र खुसीको विषय पनि बनेको छ। एक दशकयताको रुकुमको विद्युतको अवस्था हेर्ने हो भने निकै फड्को मारेको छ।

रुकुम पश्चिमको पहिलो र ठूलो विद्युत आयोजनाको रूपमा २०४५ सालतिर २ सय ५० किलोवाट क्षमताको स्यार्पु जलविद्युत् आयोजना बनेको थियो। लामो समय यही विद्युत् आयोजनाबाट सदरमुकाम खलंगा र बाँफीकोट आसपासमा विद्युत् सञ्‍चालनमा रहे पनि जिल्लाको अधिकांश बस्तीहरू अध्याँरोमा थिए।

तर, शान्ति स्थापनाको एक दशकको अवस्थामा हेर्दा जिल्लामा दुई दर्जन बढी साना तथा ठूला विद्युत् आयोजनाहरू सञ्‍चालनमा आउँदा जिल्लाको विद्युत् विकासमा ठूलो फड्को मारेको छ।

साढे आठ हजार प्राधिकरणका ग्राहक

जिल्लाभर नेपाल विद्युत् प्राधिकरणका साढे आठ हजार ग्राहकहरू विस्तार भएका छन्। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम पश्चिमका अनुसार कात्तिक महिनासम्म अपडेट भएको ग्राहक संख्या ८ हजार ४ सय ८२ छ।

कार्यालयका निमित्त प्रमुख होम बिकका अनुसार प्रधिकरणमार्फत जिल्लाका विद्युत पुग्न बाँकी ठाउँहरूमा पनि विद्युत् पुर्‍याउन तीव्र गतिमा कामहरु भइरहेको छ। ‘आगामी दुई वर्षभित्र जिल्लाका सबै ठाउँमा विद्युतीकरण गर्ने योजना कार्यालयको छ’ निमित्त प्रमुख विकले भने, ‘केन्द्रीय विद्युत् लाइनलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन सबस्टेशन निर्माणको काम पनि भइरहेको छ।’

कार्यालयका अनुसार रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित धैरेनीचौर र बाँफिकोट गाउँपालिकाको भेराखेतमा सब स्टेशनको काम भइरहेको छ। सब स्टेशन निर्माणपछि लो भोल्टेजको समस्या समाधानसँगै जिल्लाका उत्पादन विद्युतलाई केन्द्रीयलाइनमा जोड्न सहज हुने बताइएको छ।

केन्द्रीय विद्युत लाइनमार्फत जिल्लाको मुसिकोट नगरपालिकाको ८० प्रतिशतमा विद्युतलाइन पुगेको र अन्य नगर तथा नगरपालिकामा पनि पुर्‍याउने काम जारी रहेको कार्यालयको भनाइ छ।

जिल्लामा विद्युतको पहुँच

रुकुम पश्चिममा ६ स्थानीय तह रहेका छन्। जसमध्य जिल्ला सदरमुकाममा पर्ने भएका कारण पनि मुसिकोट नगरपालिकामा विद्युतको पहुँच बढी छ। नगरपालिकाको १४ वटा वडामध्ये १२ वटा वडामा विद्युत् पुगेको छ। यसमा केही वडा पूर्णरूपमा विद्युतको पहुँचमा छन् भने केही वडा आंशिक रूपमा भए पनि विद्युतको पहुँचमा छन्।

बाँकी रहेका २ वटा वडामा पनि विद्युत विस्तारको काम तीव्र गतिमा रहेको मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले जानकारी दिए। जसमा अधिकांश नेपाल विद्युत् प्राधिकरणको विद्युत पुगेको हो भने केही ठाउँमा स्थानीय जलविद्युत आयोजनामातहत काम भइरहेको हो। त्यस्तै, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको पनि करिब ७५ प्रतिशत क्षेत्रमा विद्युतको पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिए।

जिल्लाकै पहिलो विद्युत आयोजना स्यार्पु जलविद्युत् आयोजनासमेत त्यही गाउँपालिकामा पर्ने भएका कारण सबै वडामा विद्युत पुगेको छ। ‘केही गाउँगाउँमा पुर्‍याउन बाँकी रहे पनि वडागत हिसाबमा गाउँपालिकाका १० वटै वडामा विद्युत् पुगेको छ’ अध्यक्ष केसीले भने, ‘नपुगेका केही वडाहरुमा पनि आगामी २ वर्षभित्र पुर्‍याउने योजना गाउँपालिकाको रहेको छ।’

त्यस्तै, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा करिब ४० प्रतिशत विद्युतीकरण भएको गाउँपालिकाले बताएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलका अनुसार गाउँपालिकाका १० वडामध्ये ८ वटा वडामा आंशिक रूपमा विद्युतको पहुँच पुगेको छ। बाँकी ठाउँहरूमा विद्युत् पुर्‍याउन काम जारी रहेको र आगामी एक वर्षभित्र सबै वडा र गाउँहरूमा विद्युत् पुग्ने उनको भनाइ छ।

त्यस्तै, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पनि अधिकांश वडाहरूमा विद्युतको पहुँच पुगेको छ। १४ वडा रहेको नगरपालिकाको १० वटा वडामा विद्युतको पहुँच राम्रो रहेको नगरपालिकाले बताएको छ। केन्द्रीय विद्युत् लाइनमार्फत अधिकांश वडाहरूमा विद्युत् पुगेको र बाँकी वडाहरूमा पनि विद्युत् विस्तारको काम तीव्र गतिमा रहेको बताइएको छ।

अन्य स्थानीय तहको तुलनामा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा विद्युत् पहुँच कमजोर रहे पनि आगामी दशैँतिहारसम्म विद्युतको पहुँच उलेख्य मात्रामा वृद्धि हुने नगरप्रमुख गोर्खबहादुर केसीले बताए।

नगरपालिकामा विभिन्न साना जलविद्युत् आयोजनामार्फत १ सय ६० किलोवाट विद्युत् प्रयोगमा छ भने ६० मेगावाट विद्युत् उत्पादनको काम अन्तिम चरणमा पुगेको छ। स्थानीय विद्युत् उत्पादन र केन्द्रीय लाइन विस्तार गरेर एक वर्षभित्र सबै वडामा आंशिक रूपमा भए पनि विद्युतको पहुँच विस्तार हुने नगरप्रमुख केसीको भनाइ छ।

त्यस्तै, रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका-१० वडामध्ये ६ वडा वडामा विद्युतको पहुँच पुगेको छ। गाउँपालिकाका विभिन्न स्थानीय लघु जलविद्युत् आयोजनामार्फत १ सय १० किलोवाट बढी विद्युत् उत्पादन भएको छ।

दुई ठूला आयोजना बन्दै

रुकुम पश्चिमकै बाँफिकोटमा रहेको स्यार्पुतालबाट ३ मेगावाटको विद्युत् आयोजना निर्माणको तयारीसमेत गरिएको छ। २ वर्षभित्र निर्माण कार्य सक्ने लक्ष्य बनाएको उक्त आयोजना सम्पन्न भएमा रुकुम पश्चिमका सबै ठाउँमा विद्युत् पुगेर पनि राष्ट्रिय लाइनमा बेच्न सकिने बताइएको छ।

त्यस्तै, रुकुमपूर्वमा जिल्लाकै सबैभन्दा ठूलो ५ मेगावाटको रुकुमगाड विद्युत् आयोजनाको काम पनि एक वर्षदेखि भइरहेको छ। उक्त आयोजना सम्पन्न भएमा रुकुम पूर्व र रुकुम पश्चिमका सबै ठाउँमा विद्युतको काम पूरा भएर पनि राष्ट्रिय लाइनमा जोड्न सकिने छ। सिस्ने गाउँपालिका वडा नम्बर ५ देउराली ओडारनजिकै विद्युतगृह निर्माण गर्ने गरी त्यसका पूर्वाधार निर्माण थालिएको हो। सिस्ने गाउँपालिका ५ कै चोरखोलामा ड्याम निर्माण गरेर नहरलाई भूमे गाउँपालिका ४ हुँदै देउराली ओडारसम्म पुर्‍याइने निर्माणको जिम्ममा लिएको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जनाएको छ। 

कम्पनीले हाइड्रो पावरका लागि भौतिक पूर्वाधार निर्माण गर्नुपूर्वका सबै काम सकिसकेको जनाएको छ। २ वर्षभित्र निर्माण सक्ने लक्ष्‍य राखिएको उक्त आयोजनाबाट साबिकको रुकुम तथा हालका रुकुमपूर्व र रुकुम पश्चिमलाई एक मेगावाट क्षमताले पुग्ने देखिन्छ भने रुकुमगाडबाट उत्पादन हुने अन्य विद्युत् बाहिर पठाइने सम्भावना धेरै रहेको बताइएको छ। रुकुम पूर्वमा रुकुमगाड जस्तो ठूलो विद्युत आयोजना निर्माण हुनु जिल्लावासीसँगै देशकै लागि खुसीको कुरा भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन्। उनका अनुसार विद्युत उत्पादन भएपछि बत्ती नपुगेका रुकुम पूर्बमा सबै गाउँहरुमा विद्युत विस्तार  गरिने र बाँकी बाहिर पठाइने योजना छ।

तालिकामा विद्युतको अवस्था

स्थानीय तह    विद्युत् पुगेको वडा,  नपुगेको वडा संख्या   जम्मा वडा

मुसिकोट नगरपालिका      १२                         २                    १४

चौरजहारी नगरपालिका     १०                       ४                    १४

आठबिसकोट नगरपालिका     ५                    ९                    १४

सानीभेरी गाउँपालिका           ६                    ४                     १०

त्रिबेणी गाउँपालिका             ८                     २                     १०

बाँफिकोट गाउँपालिका        १०   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.