सुदूरपश्‍चिमका पर्यटकीय गन्तव्यको प्रचार हुन सकेन

|

कञ्चनपुर : नेपाल भ्रमणमा आएका पर्यटकहरु नौला अनुभव लिएर स्वदेश फर्कन थालेका छन्। पर्यटकप्रति नेपालीको सद्भाव र मैत्रीपूर्ण व्यवहारको उनीहरु प्रशंसा गर्न चुक्दैनन्।

पश्चिमी सीमा नाका गडडचौकी भएर भारततर्फ जान लागेका जर्मन पर्यटक गेलहार्ड अलफ्रिड नेपालको बसाई निकै सुखद भएको बताउँछन्।

पैंतालिस दिनको प्रवेश आज्ञा लिएर पोखरा, बर्दिया राष्ट्रिय निकुञ्ज र काठमाडौंका प्राचीन सम्पदाको अवलोकन गरेर फर्केका उनले जुन ठाउँमा गए पनि भातृत्वको भावना पाएको बताए।

‘सौन्दर्यले भरिपूर्ण देश हेर्न पाउँदा नौलो अनुभूति लिएर फर्कँदै छु’, उनले भने, ‘मेरा लागि यो नौलो अनुभव थियो। हिमाल, नदी, मठ मन्दिर र अलग्गै स्वादका परिकार खान पाउँदाको मज्जा नै बेग्लै भयो।’ 

अलफ्रेडका साथी मार्टिन वेन्जेल जोहन्स बुचिङ्गर नेपाली कला संस्कृति र प्राचीन सम्पदाको बनावट र त्यसबाट कुँदिएका चित्र देखेर निकै प्रभावित भएको बताउँछन्। 

प्राचीन कला संस्कृतिको अध्ययन र अनुभव लिन नेपाल र काठमाडौं आउनै पर्छ’, उनले भने, ‘यो शहर कला संस्कृतिले समृद्ध छ। यसलाई नेपालीले बचाइराख्नु पर्छ।’

केही पर्यटकले नेपाललाई स्वर्गको टुक्राको संज्ञा दिए। ‘नेपाल स्वर्गको टुक्रा नै हो। यस्तो सौन्दर्य अरु ठाउँमा देखिनँ’, दक्षिण अमेरिकी देश पेरुकी पर्यटक मेलिसा रेस्टोगीले भनिन् ‘पद्यात्रामा घुम्दा र होमस्टेमा खानाको बेग्लै स्वादले मन लोभ्याएको छ। अझै एक पटक नेपाल घुम्न आउने इच्छा छ।’

उनले अर्को पटक आउँदा साथीहरु पनि ल्याउने बाचा गरिन्। ‘म मात्र हैन मेरा साथीलाई पनि नेपालको सौन्दर्य र घुम्नुपर्ने ठाउका बारे बताउँछु,’ उनले सुनाइन्। 

जापानी पर्यटक टोमिहितो कोमात्सुले नेपाल र जापानको अतिथि सत्कार गर्ने तरिका मिल्दो जुल्दो रहेको बताए।

विदेशी पर्यटकका लागि पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधार, यातायात सेवा र अन्य सेवा सुविधा प्रयाप्त उपलव्ध गराउनु पर्नेमा उनी जोड दिन्छन्। 

‘प्रकृतिले सबै कुरा दिएको छ। यसको उचित प्रयोग गर्न सक्नु पर्दछ,’ इटालियन पर्यटक टोलासी डयासीले भनिन्, ‘नेपालले पर्यटकीय क्षेत्रकै विकास गरे अन्य देशको तुलनामा समृद्ध बन्न सक्दछ। पर्यटकलाई दिइने सेवा सुविधामा अझै ध्यान दिनु पर्छ। एक पटक नेपाल घुमेकाले पुनः आउने इच्छा जगाउन सक्नु पर्छ।’ 

सदूरपश्चिमका पर्यटकीय क्षेत्रको छैन जानकारी

पश्चिमी सीमा नाकाहुदै पुर्व तफै जाने र सीमा नाका हुँदै फर्कने विदेशी पर्यक भने सुदूरपश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रका बारेमा भने जानकारी नभएको बताउँछन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, खप्तड, सैपाल हिमाल, रामारोसन, बडिमालिका, शैलेश्वरी, उग्रतारा, घोडाघोडी लगायत क्षेत्रको प्रचार प्रसारमा ध्यान नदिँदा विदेशी पर्यटकहरुले यी गन्तव्यहरुलाई घुम्ने सुचिमा राख्दैनन्।

कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सांसद डा. दीपकप्रकास भट्ट विदेशी पर्यकसँग कुरा गर्दा सुदूरपश्चिम भन्दा अन्य क्षेत्रबारे पर्यटकलाई जानकारी भएको बताउँछन्। देशका अन्य निकुञ्ज भन्दा आकर्षक शुक्लाफाँटाबारे धेरै पर्यटकलाई जानकारी नै नभएको उनले बताए।

‘सुदूरपश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा जोड दिन काम अगाडी बढाउनु पर्ने देखिएको छ’, उनले भने, ‘त्यसका लागि हामी काम अघि बढाउँछौँ।’

सुदूरपश्चिमका धेरै पर्यटकीय क्षेत्रलाई पर्यटकीय गन्तव्यको सूचीमा राखेको उनले बताए। ‘अब यसका लागि सबैले पूर्वाधार निर्माणामा जुटनु पर्छ,’ उनले थपे। रेमिट्यान्सपछिको अर्थतन्त्र टिकाउने क्षेत्र पर्यटन भएकाले यसको प्रर्वद्धनमा जोड दिनुपर्ने उनले बताए।

उनले पश्चिमी सीमानाका गड्डाचौकी देश प्रवेश गर्ने प्रमुख नाका भएकाले सरकारले त्रिदेशीय नाका बनाउन पहल सुरु गरेको जानकारी दिए। ‘महाकाली कोरिडोर, महाकाली नदीमा चार लेनको पुल, सुख्खा बन्दरगाह लगायतका संरचना निर्माण भइरहेका छन्’, उनले भने, ‘यो नाकालाई त्रिदेशीय नाका बनाउने काम अघि बढेका छन्।’

अतिथिलाई सत्कार गर्ने देश नेपाल : भारतीय विधायक 

 भारतको उत्तराखण्डका विधायक पुष्कर सिंह धामी नेपाल भारतको वर्षौँ पुरानो ‘रोटी बेटी’ सँगै धार्मीक सम्बन्ध रहेको बताउँछन्। 

‘अतिथिको सत्कार गर्ने देश भनेर चिनिएको नेपालले भारतका पर्यटकीय क्षेत्रमा यहाँका पर्यटकीय क्षेत्रबारे प्रचार प्रसार सामग्री राख्ने देखि प्रचार गरे मात्रै धेरै पर्यटक भित्राउन सक्छ’, उनले भने, ‘भारतीय पर्यटकीय क्षेत्रमा नेपालबाट बस सेवा सञ्चालनका लागि सहयोग गर्न तयार छु। यसका लागि भारतीय परिवहन कार्यालयक निर्देशकसँग कुरा भइसकेको छ।’

सरकारी–गैरसरकारी क्षेत्र सहकार्य

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले निजी, सरकारी र गैर सरकारी क्षेत्रसित सहकार्य र समन्वय गरी भ्रमण वर्ष सफल बनाउनु पर्ने बताउँछन्।

‘पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएर अघि बढेका छौँ’, उनले भने, ‘समृद्धि ल्याउन पर्यटन व्यवसायलाई  आय आर्जनसित जोड्न र बासिन्दालाई स्वरोजगार बनाउन भीमदत्त नगरपालिका प्राथमिकताका साथ अघि बढेको छ।’

नेपाल भ्रमण बर्षका क्रममा पर्यटक भित्राउनका लागि सहकार्य गर्न तयार रहेको कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले बताए। 

‘निजी क्षेत्र पर्यटन व्यवसायमा लगानी गर्न तयार छ। यसका लागि वातावरण कायम गरिनु पर्दछ’, उनले भने। अध्यागमन कार्यालय गडडाचौकीका अनुसार एक वर्षको अवधिमै पश्चिमी सीमा नाका भएर दुई हजार पर्यटक भित्रिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.