ए होइ
हामी गाउँले पो त गाँठे !
तिम्रो सहरमा कहाँ टिक्न सक्छौँ ?
सहरमा बनेको तिम्रो घरले
जग्गाको जति क्षेत्रफल ओगट्छ
गाउँमा त्यति नै क्षेत्रफलको जग्गा
जुठेल्नाको लागि छुट्याउछौँ हामी ।
ए होइ
हामी त गाउँले पो त गाँठे !
तिम्रो सहरमा कहाँ टिक्न सक्छौँ ?
'आज दशमुरेको मेलो छ होइ'
भनेर फुकाइदिएपछि
महाला चाहिँदैन
गोठालो लाग्नु पर्दैन
ठ्याक्कै खेतैमा पुगेर
हलि पर्खि बस्छन् गोरुहरु ।
हाम्रा वस्तुभाउ चराउन त
कुकुरलाई पठाउछौँ हामी
मान्छे जस्ता छन्,
गाउँका पशुहरु
तिनलाई पशु भन्न पनि
हामीलाई पो लाज हुन्छ ।
यो मान्छेलाई मान्छे भन्न
नसुहाउने सहरमा
हामी कसरी टिक्न सक्छौँ ?
ए होइ
हामी त गाउँले पो त ।
तिम्रो सहरमा
एउटा कोठाको भाडा
कैलेकाहिँ ढिलो तिरिएला
वचन लगाउनु अघि सोच
गाउँको एउटा सिङ्गै घरमा
वस्तुहरु बस्छन् हाम्रा
घरमै बसेर होला
मान्छे जस्तै छन् वस्तुहरु।
हप्तौंसम्म एउटै लुगा लगाउँदा
हामीलाई सुँघेर
मुख नबिगारिदिनु
बास्नामा भन्दा धेरै बिजुली
गन्धमा हुन्छ ।
सृष्टि फोहोरबाट हुन्छ
को छ हँ ?
आमाको गालाबाट जन्मिएको?
बुवाको निधारबाट जन्मिएको?
हाम्रो धैर्यमा जो बाँचिरहेका छन्
उनैका धाक धम्कीले
हामीलाई जिउन सिकाउँछन्
गाउँको औंलामा पलाएको
नङ्ग्रा हो सहर
सोच के हुन्छ ?
गाउँले मुठ्ठी कसिदियो भने ?
जब औंला भन्दा नङ्ग्राहरु
लामा पल्टिन्छन्
भाँचिन्छन् ।
हामीलाई 'पाखे' भनेर
नङ्ग्रा ठड्याउँदा
तिमी यत्ति पनि बिचार्दैनौ
हाम्रो गाउँको कुकुरले
तिम्रो सहर देख्यो भने
खुट्टा उचालिदिन्छ
ए होइ
हामी त गाउँले पो त ।
हो
गाउँमा अलि सुविधा छैन
तिमीले सोचेजत्ति दुविधा पनि छैन ।
अस्पताल गाउँबाट टाढा पर्छ
रोग पनि गाउँलेहरुको नजिक छैन
स्रोताहरु कम भए पनि
चराहरुको गीत बन्द छैन
कोही पनि कोहीसँग अपरिचित छैन ।
यो प्वाँख कसको कुखुराको हो ?
प्रश्न यस्तो पनि गर
गाउँले प्रत्येकलाई थाहा हुन्छ जवाफ
दायाँबायाँ शङ्कै छैन ।
घरमा जो आइपुग्छ
उसलाई नछुट्याइ खानु छैन
उकालो ओरालो भैरहन्छ
ज्यान लुते छैन
पँधेरो टाढा छ
तिर्खा टाढा छैन
विद्यालय टाढा भए पनि
गाउँ मूर्ख छैन।
हामी डाँडामा बसेर
बादलको टाउकोमा जुम्रा खोज्छौँ
तिमी सोचौला
गाउँसँग धरहरा छैन
सहरले उठेर गर्ने मर्निङ वाल्क
हामीले उठेर सु गर्न जाँदा पुरा हुन्छ
हामी घरलाई मन्दिर मान्छौँ
सुविधाको महत्व मानेर
मन्दिर भित्र सु गर्दैनौँ ।
ए होइ
हामी त गाउँले पो त ।
शहर त ठाउँ नै यस्तै छ
हरेक दिन एउटै ठाउँमा
नयाँ नयाँ सामानहरुको बजार लाग्छ
नौलो नौलो अनुहारहरुको भिड लाग्छ
जोगिएर हिँड्नुपर्छ हरेक पाइलामा
हामी
सपनामा हिँडेर सहर आएका हैनौँ
सपना लिएर सहर आएका हौँ ।
सपना लिएर हिँड्नेहरुले
सपनामा हिँड्नेहरुझैँ
खस्नु पर्दैन सपनाबाट
समस्या, अभावहरु खड्किरहन्छन्
शहरले एक जार पानी किनेर खाँदा
उता हामीले
एक ठेकी मोही खोलेमा खन्याउछौँ
तर हामीलाई कुनै चिन्ता छैन।
राम्ररी पढ्नुछ,
सपना पूरा गरेर एकदिन
अहिले पाखे भन्नेहरुलाई
विमानबाट खिचेर देखाइदिनुछ
आफु जन्मेको घर
आफुले पुजेको देवीथान
र भन्नु छ
'ए होइ
हामी त गाउँले पो त गाँठे
हामीलाई सपना देखाउने पाखो यही हो'
तपाईंको ईमेल गोप्य राखिनेछ ।