साहित्य

कवि सौरभ कार्कीका दुई कविता, दुई प्रसंग

उनीहरुले जबरजस्ती मलाई विद्रोही प्रमाणित गरे

पुस १९, २०७६

    काठमाडौं : कविता के हो? ठ्याक्कै परिभाषा दिन सक्दैनन् कवि सौरभ कार्की। कयौं मञ्चमा कविता सुनाइसकेका छन् उनले। कविता कृति 'दृश्य बाहिर' प्रकाशित गरेका छन्।

    कसैले उनलाई कविता केहो भनेर सोधिदियो भने रन्थनिन्छन्। कविताको परिभाषा दिन नसकेकोमा क्षमा माग्छन्। केही दिनअघि यही घटना दोहोरियो। उनीसँग पंक्तिकारको भेट भयो। पंक्तिकारले सोध्यो कविता के रहेछ त? उनी चुपचाप बसे।

    समय बित्दै जाँदा परिभाषा फेरिँदै गएको अनुभव गरेकाले ठ्याक्कै परिभाषित गर्न नसकेको बताउँछन उनी। आज के लेखिएको छ? कस्तो कविता लेखिएको छ भन्‍ने हिसाबले हेर्दै जाँदा कविता विद्रोहको स्वर रहेछ भन्‍ने लाग्छ उनलाई। 

    'हरेक आन्दोलनमा कविता जोडीएका छन्। कविताबिना आन्दोलन भएका छैनन। हरेक आन्दोलनको  झिल्को नै कविता हो। यद्यपि कविता जीवन हो। प्रेम हो। लय  हो। संगीत हो। मौन पनि हो।  जब जब कविता कोर्छु वा देख्छु। तब तब मेरो दिमागमा विद्रोह जन्मन्छ', उनी थप्छन्। उनका दुई कविताबारे थाहाखबरकर्मी राजु पौडेलले कुराकानी गरेका छन्।

    ठेगाना

    हरेक व्यक्तिका लागि कोठा भाडामा बस्‍नुपर्ने कारण हुन्छन्। जसरी कोठा सर्नुको पनि आफ्नै कारण हुन्छन्।

    तर अधिकांश घरबेटी कोठा खोज्दै आउने व्यक्तिकाबारे अनेक सोधिखोजी गर्छन्। उनीहरुले आफ्नो घरमा बस्नुपूर्व आफ्ना नियम सुनाउँछन्। तिनै नियममा बसेर कोही व्यक्ति कोठा भाडामा बस्छ।

    घरबेटी आफ्नो नियम कोठामा बस्ने व्यक्तिमाथी लाद्छ। 'हरेक व्यक्तिले आफ्नो घरको नियम मान्‍नुपर्छ।' कोठामा बस्‍नेले पनि आफूलाई घरबेटीले राम्रो व्यवहार गरिदिए हुन्थ्यो भन्‍ने सोच्छ। यसमा  दुवैको अन्तरसम्बन्ध रहन्छ। 

    कोठामा बस्ने व्यक्तिका लागि तब मात्र त्यो घर आफ्नो हुन्छ। जब घरबेटीले आफ्नो जस्तो व्यवहार गर्छ। काठमाडौंका अधिकांश घरबेटीका लागि कोठा कोही व्यक्ति बस्‍ने ठेगाना वा बस्‍ने ठाउँ नभएर जम्माजम्मी पैसा कमाउने भाँडो बाहेक केही होइन। 

    घरबेटीले कोठामा बस्ने व्यक्तिको पनि वर्गीकरण गर्छन्। कसैले विवाह गरेकोलाई कोठा दिन्छन्। कोही विवाह नगरेकोलाई मात्र दिन्छन्। कोही बच्चासहित दम्पतीलाई मात्र कोठा दिन्छन्। कोही विद्यार्थीलाई कोठा नदिने, कोही केटालाई मात्र दिन्छन्। कोही केटी मात्रलाई कोठा दिन्छन्।

    देशभर कोठामा बस्‍नेहरूले पाउने घरबेटीको व्यवहार उस्तै उस्तै छ। उनीहरूले गर्ने व्यवहार देख्दा कार्की सोच्थे, 'आफू घरबेटी भएँ भने त्यस्तो व्यवहार गर्न नपरोस।' 

    सरकारले कस्तो घरलाई भाडाको लागि उपयुक्त हुन्छ भन्‍ने नीति ल्याएको छैन। घरमा बस्‍न चाहिने आधारभूत कुराको मापन गरेको छैन। कार्की ११ वर्ष कोठामा बसे। चरिकोट, झापा र काठमाडौंमा। उनी भाडाको कोठामा हुर्किएका हुन्।

    उनी जब कोठा सर्नेहरूको लर्को देख्छन्। मनमनै सोच्छन्,'पक्कै उसले बस्दै आएको घरमा अपनत्व महसुस गरेन।' भलै कारण अरू पनि हुन सक्छ। उनले कोठा भाडामा बस्नेहरूको नाममा चार वर्ष अघि कविता लेखे 'ठेगाना' शीर्षकमा। उनले यस कविताको पात्र रंगकर्मी सिजन दाहालको रूमबाट फर्किने भेटेका थिए।

    त्यसबेला दाहालको कोठा अनामनगरमा थियो। उनका आफ्नै दु:ख थिए। काठमाडौंमा आफ्नो अस्तित्व स्थापित गर्न उनी पौठाैजोरी खेलिरहेका थिए। त्यही पैठाजोरीसँग कार्की पनि कहिलेकाहीँ सामेल हुन्थे।

    दाहाल सधै भन्थे, 'कोठा सर्नुछ यार।'  जाडोको मौसम थियो त्यो। उनी सबेरै आफ्नो घर फर्किदैँ थिए। तीनकुनेबाट केही माथि लाग्दैगर्दा उनको आखाँमा ठोक्कियो, अन्‍नपूर्ण ग्यास टेम्पो। त्यो टेम्पोमा थिए एक भाडावाला व्यक्ति र तिनले दैनिक जीवनमा प्रयोग गर्ने आधारभूत सामग्री।

    कार्कीले सोचे, 'कोठा सर्ने बेला घरबेटीले सोध्यो कि सोधेन होला अब कहाँ जाने? हामीबाट कुनै गल्ती पो भयो की।' धेरैजसो व्यक्ति कोठा सर्नुको मूख्य कारण त्यो घरसँग अपनत्व महसुस गर्न नसक्नु हो।

    उनले जब त्यो विम्ब देखे। अनि यो कविता लेखे। तर उनी यसलाई कविताको नजरले हेर्न भन्दा पनि यथार्थको नजरबाट हेर्न रुचाउँछन्।

    - यो कविता होइन, दृश्य हो।

    यो सहरमा सधैँसधैँ दोहोरिरहने एउटा दृश्य।

    म अहिले कोटेश्वरको जाममा छु

    मेरो बाइकको ठीकअगाडि रोकिएको छ–

    पुरानो अन्नपूर्ण ग्यास टेम्पो।

    टेम्पोभित्र म देखिरहेछु

    –पुरानो ग्यास स्टोभ एक थान

    –एक थान ग्यास सिलिन्डर

    –एकएक थान मैलो सिरक–डस्ना

    –एउटा सानो जुत्ता राख्ने र्‍याक

    –ठाउँठाउँमा जाली च्यातिएको एउटा किचेन र्‍याक

    –खुट्टा भाँच्चिएको टेबल एउटा

    –एउटा स्टिलको बाटाभरि अटाउने भाँडाकुँडा

    –सायद कपडा कोचिएको दुई थान बोरा

    –र, एउटा कालो म्याट्रेस

    त्यही म्याट्रेसको आडमा

    लुगलुग काम्दै च्यापेर आफ्नो हात तिघ्राबीचमा

    कुचुक्क परेर

    झुस्स दाह्री पालेको

    एउटा टिठलाग्दो अनुहार।

    लमतन्न सुतेको यो सडकमाथि

    कत्तिचोटी गर्‍यो होला उसले ओहोरदोहोर

    आफ्नो झिटीगुन्टा बोकेर?

    किन सर्न लागेको होला ऊ कोठा?

    के मिलेन होला घरबेटीसँग?

    सोध्यो कि सोधेन होला घरबेटीले उसलाई

    ऊ पुग्ने नयाँ घरको ठेगाना?

    जसरी सोधेको थियो पहिले–

    ऊ आएको ठेगाना?

    उसले गर्ने कामको प्रकृति

    र, चासो उसको परिवारबारे?

    भेटिँदाखेरीजस्तो छुटिँदाखेरी सोध्ने

    हालखबर पनि त नहुँदो हो सायद।

    सोच्दैसोच्दै टाढा नियालिरहेथेँ

    झिलिक्क बल्यो हरियो बत्ती।

    हामीले पछ्यायौँ आआफ्नै ठेगाना। 

     

    मानी लिनुस  म झुट बोलिरहेछु 

    प्राइभेट इज पोलिटिकल नाटक गर्दै थिए उनी। जहाँ महिलामाथि हुने कयौं हिंसाबारे बोलिएको छ। परिवेश र समय अनुसार महिलामाथि कसरी र कस्तो खालको हिंसा हुन्छ देखाइएको थियो।  नाटकले नारीले घर, स्कुल, कलेज, विश्वविद्यालयदेखि आफूले काम गर्ने ठाउँमा हुने यौन दुर्व्यवहार, दुर्व्यवहारले नारीभित्र जन्माएको डर, चिन्तालाई संक्षिप्त र मर्मस्पर्श ढंगले देखाइएको थियो। नाटकमा वर्तमान नेपाली महिलाको अवस्था, पितृसत्तात्मक समाजले महिलालाई हेर्ने दृष्टिकोणलाई नियाल्ने प्रयास गरिएको छ।

    यो नाटक लेख्दै गर्दा कार्कीले एउटा अडियो टेप प्राप्त गरे। जुन अडियो टेपमा जनयुद्धमा माओवादी भनेर  सेनाद्वारा लगतार यौन हिसामा परेकी महिला थिइन्। 

    उनले त्यो अडियो सुन्दा यस्तो पनि भयो र? भन्‍ने खालको सोच्न नसकिने हिंसाबारे थाहा पाए। उनले त्यो घटनाको केही अंश नाटकमा हाले। 

    महिला भएकै कारण यौन हिंसामा पर्नु दुखद कुरा हो। यो बाध्यता र दैनिकी आज पनि महिलाहरुले भोगिरहनु परेको अवस्था छ। अहिले पनि महिलालाई गरिने यौन हिसांको प्रकृती युद्धमा गरिने हिंसा जस्तै छ। यस्तो विकराल रुप उल्लेख्य बढ्नुको पछाडि पुरुष हुनुको अहम र महिलालाई दोस्रो दर्जा सोचिनु नै हो। आफू भन्दा कमजोर देखाउन नै महिलामाथि प्रयोग गरिने अस्त्र हो बलात्कार। यौन हिंसा।

    तत्कालट्ठन अवस्थामा सत्ता र विद्रोहि पक्षले आफ्नो विचार भन्दा फरक मत राख्ने पुरूषको हत्या गरे। बेपत्ता पारे।  महिलामाथि यौन हिंसा गरे।  त्यही विद्रोहबाट उदाएकाहरू अहिले सत्ताको बागडोर सम्हालिरहेका छन्। त्यो विद्रोहले उनीहरूलाई सत्तामा पुग्न सहज बनाएको हो। 

    त्यो बेला कयौं व्यक्तिको घर उजाडियो। कयौँ व्यक्ति शहिद भए। शान्ती पक्रियामा आएपछि युद्धमा होमिएकाहरू अयोग्य पनि भए। त्यही युद्धको चपेटामा महिला पनि परे। जसले आफ्नो जिन्दगीभरका लागि पीडा बोकेर बसेका छन्।  

    मतलव उनीहरुको शरिरमाथी कसैले खेलेको छ। आफ्नो शरिरलाई बिनाकुनै अनुमति अरू कसैले बिना डरले ब्वासाँले लुछेको छ। लुछिएको एउटा कंकाल शरीर बोकेर उनीहरू हिँड्नुपरेको छ। 

    यौन हिसांमा परेका महिलाले जब न्याय माग्छन्। तब सरकार चुपचाप बसिदिन्छ। मानौं केही भएको छैन। कुनै आँधीबिना नै परिवर्तन भएको हो। 

    भोइसेस अफ वुमन मिडियाले द्वन्द्वकालमा यौन हिंसामा परेका महिलाहरूसँग ६ दिन बिताएको थियो। त्यो समयमा  उनीहरूले भोगेर आएको जिवनबारे लेख्‍न अनुरोध गरेको थियो। चित्रकलाको माध्यम होस् या कविताको माध्यम होस्। ती महिलाले भोगेको त्यो कहालीलाग्दो जीवनलाई कविता र चित्रको माध्यमले प्रस्तुत गरेका छन्। 

    त्यो पुस्तक कार्कीसम्म आइपुग्यो। तब यनले त्यहाँ भएका अनगिन्ती भोगाइहरू पढे। त्यहाँ भित्रको एउटा कविता अंशले उनलाई नराम्रो सँग झट्का हान्यो। त्यो कविताको अंश यस्तो थियो,

    'जब म तेह्र वर्षकी थिएँ। 

    बजारको रमजममा रमाइरहेका मेरा आँखा

     आर्मी र पुलिसको गाडीमा ठोक्किन पुग्यो। 

    मेरो सातो गयो। मेरो पाइन्ट मुतले भिझ्यो। 

    त्यसपछिको झण्टका कुनै खोरमा गएर ठोक्कियो। 

    आज पनि म मेरो गाला देख्दा सम्झन्छु।

    जुन दाग मलाई पुलिसको बुटले दिएको चिनो हो

    पुलिसको बुटमा आज मेरो गालाको छाप छ कि छैन।'

    जनयुद्ध गलत हो वा सहि यो समयले बताउँछ। तर तत्कालीन समयमा महिला माथी भएको अमानवीय हर्कत र उनीहरूले पाएको पीडाको लेखाजोखा हुनुपर्छ। उनीहरूले न्याय पाउनुपर्छ।

    आज पनि उनीहरू न्यायको आशामा बाँचेका  छन्। उनीहरु खुलेर आउन सकेका छैनन्। उनीहरुलाई समाजमा समानताको वातावरण  बनाउनुपर्‍थ्यो। तर सरकार समृद्धिको नारामा चिप्लिएर कोमामा छ। सरकारले रेल र पानीजहाजको कुरा गर्छ। ती हाम्रा आवश्यकता पनि होलान्। तर त्यो भन्दा पहिला शिक्षा, स्वास्थ्य, रोजगार र न्याय हो।

    यो कविता लेखिरहँदा बढो नमज्जाले दुखेको अनुभव छ कार्कीलाई। लेखिसकेपछिको दिनहरुमा पनि उस्तै दुखिरहे उनी।  'सँधै लाग्थ्यो, यस्तो कविता कहिल्यै लेख्नुनपरोस। तर जब बेपत्ता परिवारका ब्यक्तिहरुसँगै बसेर उनीहरुको अनुभव सुनेँ, उनीहरुका आम मानिसप्रतिको आशा सुने तब नलेखी बस्न सकिनँ। म चाहन्छु कमसेकम अब फेरी यस्तो कविता लेख्नु नपरोस्,' उनी थप्छन्।

    - र त्यसपछि तिनीहरुले
    मेरो मुखमा पिशाव फेरिरहे।

    तर त्यो भन्दा अगाडि
    उनीहरुले मेरो रातो कुर्तासँगै च्यातिदिए मेरो बालापन।
    जंगलको बीचमा कतै चप्पलसँगै छुटी गए मेरा सपना।
    लुछेर मेरो ओठ
    चिथोरेर मेरा गालाहरु
    कोपरेर मेरो छाती
    बलजफ्ती उनीहरुले प्रमाणित गरिरहे - आफ्नो पुरुषत्व।

    जब चिच्याउँथे म पीडाले
    मेरो रुवाई उनीहरुको लागि बिद्रोहीको गीत हुन्थ्यो।
    सहन नसकेर जब कस्थे म मुठ्ठी
    मेरो मुठ्ठी उनीहरुको लागि परिवर्तनको हुँकार बनिदिन्थ्यो।

    .... र त्यसपछि तिनीहरुले
    मेरो मुखमा पिशाव फेरिरहे।

    तर त्यो भन्दा अगाडि
    उनीहरुले बाँधिदिए - मेरो हात
    लगाइदिए - आँखामा पट्टी
    र घचेडीदिए मलाई खाल्डोभित्र।
    डामेर चुरोटका अनगिन्ती ठुटाहरु
    उनीहरुले जबरजस्ती मलाई बिद्रोही प्रमाणित गरे।

    म एक १४ वर्षे बालिका
    जसलाई न थियो कुनै आपत्ति यो देशको व्यवस्थासित
    न देख्नुथियो परिवर्तनका कुनै ठूलो सपना
    मलाई त बस्
    जानुथियो स्कूल
    सिक्नुथियो कखरा
    र हिँड्नुथियो जिन्दगीको आफ्नै गोरेटो।

    तर घुसारेर मेरो कलिलो योनीभित्र
    तातो बन्दुकको नाल
    उनीहरुले बडो शानले घोषणा गरे - विद्रोहीमाथिको जीत।

    .... र त्यसपछि तिनीहरुले
    मेरो मुखमा पिशाव फेरिरहे।

    कुनै दुस्वप्‍न जस्तो तर्साइरहन्छ
    हरक्षण ऐठन पारिरहन्छ, झस्काइरहन्छ।
    नसम्झु भन्छु .....

    हिँड्न खोज्छु - बाउँडिदिन्छन् खुट्टाहरु
    हेर्न खोज्छु - धूमिल बनिदिन्छन् आकृति
    न कसिन्छ मुठ्ठी, न जाग्छ कुनै साहस
    न भेट्छु ती दिनहरु
    जहाँ समेटेर बाँचु आफ्नै सपना।
    म त आफ्नै सास पनि किस्ताबन्दीमा फेरिरहेछु।

    मानिलिनुस, कि म झुट बोलिरहेछु
    तर त्यो झन्डा
    पोतेर मेरै रातो रगत
    बोकेर मेरो छातिभरी बर्सिएका ती सैनिकहरुका बुटको नीलडाम
    किन गिज्याइरहन्छ मलाई
    फर्फराउँदै बेगसँग कुनै चिल्लो गाडीमा ?

    .... र आज पनि तिनीहरु
    मेरो मुखमा पिशाव फेरिरहेछन्।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]