|

बागलुङ : बागलुङ जिल्ला नेपालको एकमात्रै खुल्ला शिकार आरक्ष क्षेत्र ढोरपाटनको अधिकांश भूभाग रहेको क्षेत्र हो।

बागलुङले झोलुंगे पुलको जिल्ला भनेर पनि पहिचान बनाएको छ। जिल्लाका खोला-नाला र पहाड–पखेरा मात्रैको उचित सदुपयोग गर्ने हो भने पर्यटनका हिसाबले बागलुङ निकै महत्वपूर्ण र आकर्षक गन्तव्य हुन सक्छ। 

प्रशस्त पर्यटकीय क्षेत्र रहेको जिल्लाका धेरै ठाउँमा अहिलेसम्म पनि पर्यटक नपुगेकाले ‘भर्जिन’ गन्तव्यको रुपमा कयौं ठाउँमा पर्यटक पुर्‍याउन सकिने बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखाल बताउँछन्‌।

बागलुङका ६ गाउँपालिका र ४ नगरपालिकामा अथाह पर्यटकीय संभावना बोकेका ठाउँहरू रहेका छन्। जिल्लाका १० वटै पालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि यो वा त्यो ढंगबाट लगानी पनि  गर्न थालेका छन्‌। हरेक पालिकाको नीति तथा कार्यक्रम र बजेटमा पर्यटकीय क्षेत्रको विकासका लागि सम्बोधन भएकै छ।

बागलुङका सबै पालिकाहरूले आफ्नो क्षेत्रभित्रका एक/एक वटा क्षेत्रको मात्रै प्रचारप्रसार गर्ने हो भने जिल्लालाई धार्मिक तथा प्राकृतिक सौन्दर्ययुक्त गन्तव्यका रुपमा विकास गरी पर्यटक भित्राउन सकिने उद्योग बाणिज्य संघ बागलुङका महासचिव नरेश कँडेल बताउँछन्।

कला-संस्कृतिको धनी बागलुङमा पछिल्लो समय धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास पनि तीब्र गतिमा भइरहेको छ। बुधबार मात्रै केन्द्र तथा प्रदेश सरकारले बृहत कार्यक्रमको आयोजना गरेर भ्रमण वर्षको शुभारम्भ गरेका छन्। नेपाल सरकारले सन् २०२० लाई नेपाल पर्यटन भ्रमण वर्षको रुपमा मनाउन सुरु गर्दैगर्दा बागलुङमा भौतिक संरचना निर्माण तथा पूर्वाधारको विकास भएका केही गन्तव्यलाई प्रयोगमा ल्याउन सकिन्छ।

पर्यटकको रुची, पर्यटकीयस्थलको भौगोलिक अवस्था र त्यहाँ निर्माण भएका संरचनाले भ्रमण वर्षको सफलता र बागलुङको आर्थिक विकासमा टेवा पुर्‍याउन भूमिका खेल्ने पर्यटन व्यवसायी बताउँछन्। 

ढोरपाटन शिकार आरक्ष

भ्रमण वर्षको प्ररम्भमा नै पुग्नुपर्ने स्थान हो–ढोरपाटन शिकार आरक्ष। नेपालकै एकमात्र शिकार आरक्ष हुनुका साथै यो क्षेत्रमा पर्यटकले रुचाउने कयौं प्राकृतिक स्रोत साधनको उपयोग गर्न सकिन्छ। ढोरपाटन उपत्यका र त्यहाँको रहन-सहन शहरीया उपत्यका भन्दा भिन्दै आनन्द अनुभूति गर्ने क्षेत्र हो। उत्तरतर्फ बगिरहेको उत्तर गंगा नदीले पर्यटकलाई मनोरम दृश्यपान गराई तिर्खा मेटाउँछ।

शिकार आरक्षमा वर्षको दुई पटक हुने शिकार, यहाँ आउने विदेशी साहसिक शिकारी र त्यस क्षेत्रका स्थानीयको घुम्ती बसाइँ तथा रहन-सहन अर्को महत्वपूर्ण पाटो हो। बैशाखे पूर्णिमा र जनैपूर्णिमाका दिन ढोरपाटन उपत्यका प्रवेश द्वारमै रहेको मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ। यहाँ रहेको ढोर बराह मन्दिरमा पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ।

यातायातको सहजताले ढोरपाटनलाई अहिले सुगम गन्तव्य बनाएको छ। बागलुङ सदरमुकामदेखि करिब १२० किलोमिटर दुरी पार गरेपछि ढोरपाटन शिकार आरक्ष क्षेत्र पुग्‍न सकिन्छ। 

बागलुङ कालिका

साविकको पश्चिमाञ्चलमा नै चर्चित धार्मिक पर्यटकीय गन्तव्य हो–बागलुङ कालिका मन्दिर। पर्वतको सिमा काटेर कालिगण्डकी तर्नासाथ दर्शनार्थीले यो मन्दिरको दर्शन गर्न पाउँछन्‌।

धार्मिक गरिमासँगै मन्दिर क्षेत्रको प्रकृतिक मनोरम वातावरण पर्यटकको मन छुने अर्को आकर्षण हो। आफ्नै पौराणिक तथा धार्मिक महत्व बोकेको यस मन्दिरमा पूजा–आराधना गर्दा मनोकांक्षा पूजा हुने जनविश्वास छ। 

पछिल्लो समय बागलुङ कालिका मन्दिरमा धार्मिक पर्यटकसँगै मनोरम दृष्यमा रम्नेहरूको भीडभाड हुने गरेको छ। घना जंगलको बीचैमा रहेको मन्दिर, मन्दिर परिसरमै संरक्षण गरिएका पशुपंक्षी र मन्दिर छेउछाउबाट देखिने हिमश्रृंखला र बग्ने कालिगण्डकी नदीको दृष्यले जो कोहीलाई लोभ्याउने गर्छ।

विशेषगरी चैते दशैं र बडा दशैंका समयमा यहाँ भक्तजनको भीडभाड हुने गर्छ। सातैदिन खुल्ने मन्दिरमा भक्तजनको उपस्थिति उल्लेख्य रहने गरेको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्का बताउँछन्‌। 

शालिग्राम संग्रहालय

पौराणिक महत्वलाई जोगाई राख्न आधुनिक प्रविधिको प्रयोग र समन्वयकारी भूमिकाले बनेका संरचना महत्वपूर्ण हुन्छन् भन्ने उदाहरण हो शालिग्राम संग्रहालय। छोटो समयमा निर्माण भएर पनि यो संग्रहालय चर्चित पर्यटकीयस्थल बनिसकेको छ।

सम्भवत: जिल्लाभरिमा नै धार्मिक पर्यटकीय क्षेत्रमा प्रवेश गर्दा प्रवेश शुल्क लाग्ने गन्तव्य पनि यही हो। बागलुङ नगरपालिका ४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम संग्रहालय’ हालै मात्र खुल्ला गरिएको छ। निर्माण चरणमै त्यहाँ आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहने गरेको थियो।

६ करोड रुपैयाँ लागतमा एक वर्ष लगाएर यो संग्रहालय बनाइएको हो। संग्रहालयमा गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनी कक्ष बनाइएको छ। एकसय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भू-बनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना देखाइएको छ। बागलुङ सदरमुकामदेखि ४.८ किलोमिटरको दूरीमा अवस्थित संग्रहालयमा यातायातका साधनमार्फत १५ मिनेटमै पुग्न सकिन्छ।

सर्वसिद्धिधाम पञ्चकोट

पछिल्लो समय बागलुङका धार्मिक पर्यटकीय गन्तव्यको सूचीमा अग्रस्थानमा रहने क्षेत्र हो यो। पञ्चकोटमा पछिल्लो समय हरेक दिन आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ। 

बाहिरी जिल्लाबाट बागलुङ आउने जो–कोही पनि पञ्चकोट पुग्ने गरेका छन्। शान्त र मनोरम वातावरणमा अवस्थित पञ्चकोटमा पर्यटकलाई लोभ्याउनका लागि विभिन्न किसिमका मूर्ति, मन्दिरलगायतका पूर्वाधारहरू निर्माण गरिएको छ। यहाँबाट उच्च पहाडी क्षेत्र लगायत धौलागिरि हिमाल आँखै अगाडि उभिएको देख्दा पर्यटक मोहित हुने गरेका छन्। 

ठूलो पथ्थरमाथि कलाकृतिको सहायताले बनेका संरचना नै यहाँका सम्पत्ति हुन्। समुन्द्री सहतदेखि करिब एक हजार १ सय मिटरको उचाइमा रहेको यस क्षेत्र घुम्न लायक क्षेत्र हो। पञ्चकोट स्वामी कमलनयन आचार्यको पहलमा अझै निर्माण चरणमै रहेको छ।

यहाँ वि.सं.२०७१ सालदेखि हरेक वर्ष महायज्ञ संचालन गरी आर्थिक जुटाउँदै आइएको छ। 

गाजाको दह

बागलुङको पर्यटकीय गन्तव्य मध्येमा पर्छ गाजाको दह। गाजाको दह जैमिनी नगरपालिका ३ मा पर्दछ। गलकोट नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको संगमस्थलमा रहेको दह प्रचारप्रसारको कारण यसअघि ओझेलमा परेको थियो। गत वर्ष गण्डकी प्रदेश सरकारले यसलाई पर्यटकीय गन्तव्यको सूचीमा पारेको छ। 

पर्यटकीय गन्तव्यमा परेपछि यहाँ पूर्वाधार निर्माण लगायतका कामहरू हुन थालेका छन् भने प्रचारप्रसार पनि हुन थालेको छ। यहाँबाट उच्च पहाडी क्षेत्रलगायत धौलागिरि, माछापुच्छ्रेलगायत दर्जन हिमालको दृश्यावलोकन गर्न सकिन्छ भने आधा दर्जनभन्दा बढी जिल्लाहरू समेत देख्न सकिन्छ। 

रिगा ताल

पछिल्लो समयमा घुम्‍न इच्छुक मानिसको रोजाइमा पर्ने मध्येको एक ताल रिगा ताल हो। यद्यपि: पर्याप्त प्रचारको अभावले आम मानिसले यसबारे अझै जान्‍न पाएका छैनन्। निसीखोला गाउँपालिका ७ मा रहेको रिगा ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। बागलुङ र पूर्वी रुकुमको सिमानामा रहेको यो ताल उच्च पहाडी क्षेत्रमा पर्दछ। 

तालको संरक्षण पूर्वाधार निर्माणको लागि डिपीआर तयार पारिएको छ। यहाँबाट उच्च पहाडी मनोरम दृश्य अवलोकन गर्न सकिन्छ भने बागलुङ, रोल्पा, रुकुम, गुल्मी, प्युठानलगायतका जिल्लाहरू देख्‍न सकिन्छ। संरक्षणमा ध्यान नपुग्दा यसअघि तालको पानी सुक्दै जान थालेको थियो।

बागलुङ सदरमुकामदेखि करिब १२५ किलोमिटर भन्दा बढी दूरीमा रहेको यस तालमा सवारी साधनमार्फत ७ घण्टामा पुग्न सकिन्छ।

गाइघाट झरना

जिल्लाका पर्यटकीय क्षेत्रहरूको सूचीमा अग्रस्थानमा नै पर्ने क्षेत्र हो–गाइघाट झरना। झरनाको प्रचारप्रसार र आसपासका क्षेत्रमा भौतिक पूवाधारको विकासका लागि स्थानीय सरकारको समेत ध्यान केन्द्रित भएको छ। यो झरना बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा पर्छ। 

बागलुङ सदरमुकामदेखि पश्चिममा रहेको यो झरनाको विकासका लागि हरेक वर्ष ताराखोला गाउँपालिकाले बजेट विनियोजन गरेर पूर्वाधार निर्माण गर्दै आएको छ। गलकोटको हटिया बजारदेखि १ घण्टाको पैदल यात्रा गरी पुग्न सकिने यो झरनामा सवारी साधनमार्फत करिब २० मिनेटमा पुग्न सकिन्छ।

स्थानीय सरकार आउनुभन्दा पहिले ओझेलमा परेको झरना अहिले निकै चर्चामा आउन थालेको छ। करिब ५० मिटर लामो झरनाको विकासका लागि ताराखोला गाउँपालिकाले गुरुयोजना बनाएर काम थालेको गाउँपालिका अध्यक्ष प्रकाश घर्ति बताउँछन्। 

घुम्टेको लेक

जिल्लाको मध्यभागको पहिचान हो घुम्टेको लेक। जुन लेकलाई पृष्ठभूमिमा राखेर कयौं कलाकारले गीत बनाए। नेपालका कयौं ठाउँमा पुगेका यस क्षेत्रका स्थानीयले घुम्टेको सन्तान भनेरै आफ्नो परिचय दिए। आकर्षक पर्यटकीय स्थलमध्ये घुम्टे लेक पनि एक हो। गलकोट नगरपालिकामा पर्ने घुम्टे लेक समुद्री सतहदेखि १ हजार ३९३ फिट उचाईमा रहेको छ।

बागलुङ सदरमुकामदेखि करिब ५०.५ किलो मिटरको दूरीमा पर्ने घुम्टे लेक जान खास गरी ३ वटा बाटा प्रयोग गरिन्छ। 

गलकोट नगरपालिकाको पाण्डवखानी, हरिचौर र ताराखोला गाउँपालकाको हिलबाट घुम्टे जान सकिन्छ। घुम्टेबाट देखिने सुन्दर हिमश्रृंखला, विभिन्न प्रजातिका लालिगुराँस (लाली गुराँस फुल्ने मौसममा) देख्न पाइन्छ। घुम्टेको शिरमा शिद्ध र भैरवको मन्दिर पनि भएकाले धार्मिक आस्थावान समेत त्यस क्षेत्रमा पुग्ने गर्दछन्।

गलकोट दरबार

जिल्लाको अर्को आकर्षक पर्यटकीयस्थल मध्ये गलकोट दरबार पनि एक हो। प्राय: बागलुङ आउनेहरूले यस दरबारबारे चासो राख्‍ने गर्छन्‌। एक पटक गलकोट दरबार पुग्ने अभिलाषा राख्ने पर्यटकहरु बढ्न थालेका छन्‌। गलकोट नगरपालिकाको हरिचौरमा अवस्थित यो दरबार पुग्‍न बागलुङ सदरमुकामदेखि ४८.५ दुरी यात्रा गर्नुपर्छ। 

जीपमार्फत यो दरबार आइपुग्‍न २ घण्टा १५ मिनेट जति समय लाग्छ। इतिहासमा लेखिएअनुसार गलकोट राज्यमा राजा जितारी मल्लपछि क्रमशः पार्थिव मल्ल, विभू मल्ल, श्रीपति मल्ल, श्रीदत्त मल्ल, पृथ्वीपति मल्ल, नारायण मल्ल, श्रीनिवास मल्ल र जगत मल्ल राजा भएका थिए। 

विसं १८४४ मा गोर्खा राज्यमा एकीकरण भएपछि सत्ताच्यूत भएका राजा जगत मल्लले तत्कालीन नेपाल सरकारसँग अनुनय गरेर केही जग्गा बिर्ता पाएका थिए। यिनको निधनपछि वि.स १९६९ देखि छोरा भरतबम मल्लका नाममा जग्गा थामिएको थियो। 

विसं १९९७ वैशाख ९ गते राजा भरत बमलाई थप बिर्तासहित राजाको श्रीपेच लगाउन पाउने गरी प्रशासनिक, न्यायिक एवं आर्थिक अधिकार दिइएको थियो। उनै भरतबम मल्लको पालामा विसं १९७८ मा यो दरबार निर्माण गरिएको तत्कालीन राजपरिवारकै सन्तान मञ्जेश बम मल्लले बताए। दरबार हेर्न आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ।

हाँडीकोट

प्रशस्तै सम्भावना भएर पनि पर्यटक पुग्नै नसकेको ठाउँ हो हाँडीकोट। जैमिनी नगरपालिका १० राङखानीमा पर्ने हाँडीकोट समुन्द्री सतहदेखि २१ सय ९५ मिटर उचाइमा रहेकोछ। ९० हेक्टर जमिनमा फैलिएको हाँडीकोटबाट दर्जन बढी हिम श्रृंखलाहरू देखिन्छन्। 

हाँडीकोटमा आन्तरिक पर्यटक भने फाट्टफुट्ट मात्र पुग्ने गर्छन्। पूर्वाधार र प्रचारप्रसारको अभावले हाँडीकोटको खासै चर्चा हुने गरेको छैन। बागलुङ सदरमुकामदेखि हाँडिकोटसम्मको दूरी ५८.६ किलोमिटर दूरी रहेको छ। 

सवारीमार्फत ३ घण्टा १७ मिनेटमा राङखानी पुगिन्छ भने हाँडीकोट धुरीमा पुग्‍न १५ देखि ३० मिनेट समय पैदल हिँड्नुपर्ने हुन्छ। त्यस ठाउँमा सतुवा, विष्मा, भुत्केस, रक्तमुल, रक्तताल, पखण्डित, पहेँलेलगायतका दर्जनौ बहुमूल्य जडिबुटी पाइन्छन्।

हाँडीकोटबाट नांगो आँखाले नै बुटवल बजार देख्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.