|

पाल्पा : अग्लो पहाडको टाकुरो। जुन टाकुरोबाट टाढा टाढाका हिमश्रृंखला सहितका अन्य डाँडापाखाहरू सजिलै देखिन्छन्। त्यहाँबाट देखिने दृष्य अत्यन्तै मनमोहक छन्। जाडो मौसममा निकै चिसो हुन्छ भने गर्मी मौसममा भने शीतलताको महसुस हुन्छ। जुन ठाउँमा केही आधुनिक शैलीका घर छन् भने केही पुराना शैलीका घरले छाएका सानासाना झुपडी जस्ता घर पनि छन्। त्यही ठाउँ हो पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको खादर।

शहरतिर जन्मे हुर्केका मानिस त्यहाँ पुगे भने आश्चर्यमा पर्छन्। किनकि त्यहाँ अचम्मका घर छन्। हेर्दा जंगलमा भेटिने गुफा जस्तै। घुमाउरो शैलीमा माटोको गारो लगाएको। होचो अनि खरले छाएको। ढोका पनि निकै सानो, भित्र दुईवटा कोठा। जुन कोठामा एउटाबाट अर्कोमा आउन जान मिल्छ।

ढोकानेरको कोठा पाहुना आउँदा बस्ने सिकुवा हो भने भित्रतर्फको कोठा खाना बनाउने, खाने र परिवारका सदस्य सुत्ने कोठा हो। झ्यालको रुपमा गारोको बीचमा एउटा सानो गोलो प्वाल मात्र छ। त्यही घरमा मानिस बसिरहेका छन्।

परापूर्वकालमा जंगली अवस्थाबाट जब मानिसको चेतना बदलिँदै गयो। र घरमा बस्नुपर्छ भन्ने चेतनाको विकास हुन थाल्यो। त्यतिबेला निर्माण भएका घरका संरचना भएको हुनसक्ने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाल्पाका संस्थापक अध्यक्ष गमबहादुर थापाको अनुमान छ। ‘जुन बेला जहान परिवार धेरै हुने।

खान जेनतेन पुगे पनि शरीरमा लगाउने र ओढ्ने ओछ्याउने लत्ताकपडाको भने अभाव हुन्थ्यो’ उनले भने ‘न्यानोका लागि गुफा शैलीको गुपुक्क न्यानो घर बनाएर बसेका हुन्।’ जिल्लाको विकट गाउँका अधिकांश मगर समुदायका मानिस यस्ता प्रकारको घरमा बस्दै आएको उनले बताए। आधुनिक युगको सुरुवात भए पनि गरिबीका कारण उनीहरू यस्तो घरमा बस्न बाध्य भएको संस्थापक अध्यक्ष थापाको भनाई छ।

सानो ढोकामा नवदुलहीको साइनो

मगर समुदायले भगाएर नवदुलही घरमा ल्याउने चलन थियो। जुन दुलहीलाई घरमा घरमा ल्याएपछि भित्र प्रवेश गराउने क्रममा सानो ढोकाले महत्व राख्दो रहेछ। ‘नवदुलही कसरीभित्र जान्छिन् भन्नेमा सबैको ध्यान जाँदो रहेछ। 

भित्र जानेक्रममा ढोकाको माथिल्लो सँघारमा ठोकिन्छिन् कि ठोकिँदैनन् भनेर हेर्ने चलन थियो’ संस्थापक अध्यक्ष थापाले भने ‘सिधै हिँडेर ठोकिइन् भने सुवासकी रहिन्छन् र निहुरेर प्रवेश गरिन् भने सुवासकी रहिछन् भनेर बुझ्ने चलन थियो।’ उनका अनुसार गोलो र सानो प्वाल झ्यालको रुपमा बनाउनु हावा र चिसोबाट बच्नको लागि थियो।

साथै बाहिरबाट भित्रको सबै अवस्था नदेखियोस् भन्ने गरी सानो प्वाल बनाइएको हो। यस्ता प्रकारका घर प्रायः पहाडी भूभागमा निर्माण भएका थिए। जहाँ बढी हावाहुरी चल्ने, चिसो हुने कारणले यहाँका मानिस गुफा शैलीको घर निर्माण गरेर बस्दै आएका थिए। खरले छाएको कुँडुले घर झण्डै ३०/३५ वर्षसम्म छाउन नपर्ने गरी मजवुत हुने पनि उनले बताए। थापा आफू पनि कुँडुले घरमै जन्मिएको बताउँछन्। 

‘पछिल्लो समयमा मानिसको चेतनासँगै विभिन्न प्रविधिबाट आधुनिक घरहरू निर्माण हुँदै गएका छन्’ संस्थापक अध्यक्ष थापाले भने ‘कुँडुले घरको महत्व झन बढ्दै गएको छ। जुन घरहरू ऐतिहाँसिक दस्तावेजका रुपमा स्थापित भएका छन्।’

यस्ता घरको संरक्षण गर्नुपर्नेमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाल्पाका अध्यक्ष केहरसिंह रानाले जोड दिए। ‘यस्ता प्रकारका घर मगर संस्कृतिसँग जोडिएका छन्’ उनले भने ‘संरक्षणमा तीनै तहका सरकारले ध्यान दिनुपर्छ।’

तथ्‍यांक लिइँदै

कुँडुले घरको तथ्यांक लिने काम भइरहेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए। ‘यहि पुस मसान्तसम्म तथ्यांक बटुल्ने काम सकिन्छ’ उनले भने ‘त्यस लगत्तै विशेष खालको योजना बनाएर कुँडुले घर संरक्षणमा कार्यक्रम सञ्चालन हुनेछ।’

कुँडुले घर मात्र भएका परिवारलाई घडेरीको विकल्प दिएर संरक्षण गर्ने उनले बताए। अन्य घर तथा घडेरी भएका परिवारलाई आवश्यक सहयोग गरेर कुँडुले घरको संरक्षण गर्ने अध्यक्ष सारु बताउछन्। पर्यटकीय सम्भावना बोकेको निस्दी गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटकको लागि कुँडुले घर मुख्य आकर्षक बन्ने उनको ठम्याइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.