साहित्य

शुभ मुकारुङलाई एकलाख राशिको प्रतिभा पुरस्कार

पुस २०, २०७६

    काठमाडौं : ‘मैले किन तिमीजस्तो पत्थर हुन नसकेको, सधैँ तिम्रो सम्झनामा पग्लिरहेँ हिउँजस्तो’ बोलको चर्चित गीतका रचनाकार एवं संस्कृतिकर्मी शुभ मुकारुङ एक लाख राशिको नगद ‘प्रतिभा पुरस्कार’ द्वारा पुरस्कृत भएका छन्।

    नेपाली गीतिकाव्य तथा संस्कृतिका क्षेत्रमा खोज अन्वेषण गरी उल्लेखनीय योगदान दिएबापत उनलाई नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले उक्त पुरस्कार प्रदान गरेको हो। यसै गरी समारोहमा नगद पच्चीस हजार राशिको ‘प्रतिभा सम्मान’ द्वारा प्रयोगवादी धाराका वरिष्ठ स्रष्टा कवि गोपाल पराजुलीलाई पनि सम्मान गरेको छ।

    नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ बैरागी काइँलाले मुकारुङ र पराजुलीलाई टोपी, माला, नगद, दोसल्ला र सम्मानपत्र अर्पण गरी पुरस्कृत तथा सम्मान गरे।

    स्रष्टा सम्मान कार्यक्रमका प्रमुख अतिथि काइँलाले विदेशमा क्रियाशील संघ संस्थाले नेपालका रहेका स्रष्टा र नेपालमा क्रियाशील संघ संस्थाले विदेशमा रहेका स्रष्टालाई सम्मान गर्ने परिपाटीले अन्तरदेशीय सम्बन्धमा वृद्धि हुने बताए। उनले भने,'पुरस्कार तथा सम्मानले स्रष्टामा हौसला थप्ने काम गर्छ। कला, साहित्य तथा संस्कृतिको क्षेत्रबाट पनि राष्ट्र निर्माणमा विशिष्ट योगदान पुग्ने भएकाले यो क्षेत्रको महत्वलाई सबैले बुझ्न जरुरी छ।'

    प्राडा गोविन्दराज भट्टराईले नेपाली साहित्यको श्रीबृद्धिमा डायास्पोरामा रहेका संघ संस्था र स्रष्टाको उल्लेखनीय योगदान रहेको बताए। उनले भने,'नेपाली प्रतिभा प्रतिष्ठान बेलायत यस्तै एउटा अग्रणी वाङ्मयिक संस्था हो। जसले नेपाली भाषा, साहित्यको उन्नयनमा प्रशंसनीय कार्य गरिरहेको छ।'

    नेपाल प्रज्ञा-प्रतिष्ठानका काव्यविभाग प्रमुख प्राडा हेमनाथ पौडेलले डायास्पोरिक साहित्यको प्रवर्द्धनका लागि प्रज्ञा-प्रतिष्ठानले योजना बनाएरै काम गरिरहेको सुनाए। उनले भने,'डायास्पारोका स्रष्टाहरूको सम्मानका लागि प्रज्ञा-प्रतिष्ठानले प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार स्थापना गरेको छ।'

    प्रतिभा प्रतिष्ठानका नेपाल संयोजक तथा मानार्थ सदस्य प्राज्ञ शशी लुमुम्बूले संस्थाको गतिविधिमा प्रकाश पार्दै सन् २००८ मा बेलायतमा स्थापना भएको प्रतिभा प्रतिष्ठानले अहिलेसम्म २४ जना स्रष्टालाई सम्मान गरेको जानकारी दिए। पौवादुङमा गाउँपालिका भोजपुरका अध्यक्ष किरण राईले नेपालको मौलिक कला-संस्कृति  तथा अनुपम संस्कृतिको प्रवर्द्धनका लागि स्रष्टाले साहित्य सिर्जना गरेमा मुलुकको समृद्धिमा टेवा पुग्ने बताए।  

    प्रतिभा प्रतिष्ठानका महासचिव एवं समारोहका सभापति मिजास तेम्बेले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि बेलायतमा स्थापित प्रतिभा प्रतिष्ठानले निरन्तर काम गरिरहेको बताए। उनले भने,' स्रष्टालाई सम्मानित र पुरस्कृत गर्दै उनीहरूको योगदानको कदर गर्नु पनि यस संस्थाको अर्को उद्देश्य हो।आज सोहीअनुसार यो समारोह आयोजना गरिएको हो।'

    कार्यक्रममा गीतकार संघ, नेपालका अध्यक्ष समेत रहेका गीतकार चुडामणि देवकोटाले पुरस्कृत स्रष्टा गीतकार मुकारुङका बारेमा र कवि तथा समालोचक सुरेश हाचेकालीले सम्मानित कवि पराजुलीका बारेमा सपरिचय व्यक्तित्वको प्रकाश पारेका थिए। कार्यक्रमको सञ्चालन गीतकार टीका चाम्लिङले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]