|

काठमाडौं : पूर्वमुख्य सचिव तथा क्यानडाका लागि पूर्वनेपाली राजदूत भोजराज घिमिरेको कथाकृति 'अन्तिम प्रश्न'माथि झापाको विर्तामोड र सुनसरीको इटहरीमा अन्तर्क्रिया सम्पन्न भएको छ।

विर्तामोडमा सम्पन्न अन्तर्क्रिया मा टिप्पणीकर्ता तथा समीक्षकले घिमिरेका कथाको शैली परम्परागत भए पनि विषयमा विविधता रहेको बताए। समीक्षक घनेन्द्र ओझाले घिमिरेका कथाले विगत केही दशकदेखि हालसम्मको नेपाली समाजको चित्र प्रस्तुत गरेको बताए। ओझाले घिमिरेका कथा नेपाली परिवेशमा सीमित नरही विश्व परिवेशमा पनि लेखिएका उल्लेख गरे।

समीक्षक केशव खनालले कृतिमा समेटिएका १६ वटै कथाको विभिन्न कोणबाट समीक्षा गरे। नेपाली कथा साहित्यमा उक्त कृति उल्लेखनीय रहेको उनको भनाइ थियो। शिरो सान्दाइले घिमिरेको व्यक्तित्व र साहित्यकारिताबारे विस्तृतमा प्रकाश पारे। अत्यन्तै इमान्दार र मिहिनेती स्वभाव भएका घिमिरे प्रशासनिक क्षेत्रको उच्च तहमा पुगेका, कूटनीतिक क्षमता पनि प्रदर्शन गरिसकेका र हाल साहित्यको विकास र समृद्धिमा केन्द्रित भएका सान्दाइले उल्लेख गरे।

समालोचक महेश पौड्यालले विश्व साहित्यको माहोलमा नेपालमा पनि नयाँनयाँ प्रयोग भइरहेका उल्लेख गदै भोजराज घिमिरेले आफूलाई कतै परम्परागत धारमा त कुनै कथामा आधुनिक शिल्पसहित नयाँ प्रयोगतर्फ उन्मुख गराएको बताए ।

यसरी नै १९ पुसमा इटहरीमा सम्पन्न कार्यक्रममा समीक्षक डा. इन्दिरा मिश्र र शरणकुमार राईले टिप्पणी गरिन्। डा. मिश्रले घिमिरेका कथा नेपाली ग्रामीण परिवेशका चित्र भएको उल्लेख गर्दै केही विषयमा कथाकारले परिमार्जन गर्नुपर्ने बताइन्। उनले लैंगिक समानताका विषयलाई अलिक प्रभावकारी रुपमा प्रस्तुत गरिएको भए राम्रो हुने सुझाव दिइन्।

समीक्षक राईले विश्वविद्यालयका पाठ्यक्रममा राख्न योग्य केही कथा संग्रहमा रहेका भन्दै प्रस्तुति शिल्प र विषय निकै सुन्दर रहेको बताए।

कथाकार घिमिरेले आफूले देखेका, भोगेका र अनुभव गरेका विषय नै साहित्यमा आउने उल्लेख गर्दै आफूले पनि आफ्ना कथामा त्यस्तै विषय र सन्दर्भ प्रस्तुत गरेको हुन सक्ने बताए। कतिपय विषय सन्दर्भमा अझै परिष्कार गर्ने उनको भनाइ थियो। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.