टाँगियावस्ती रौतहटका वन तस्करको अखडा

|

बारा : रौतहटका तस्करको गिरोह बाराको साझेदार वन र टाँगिया वस्तीस्थित राष्ट्रिय वन क्षेत्रको काठ तस्करीमा सक्रिय भएका  छन्। बाराको केही साझेदारी वन र चर्चामा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको टाँगिया वस्ती क्षेत्रमा स्थानीयकै संग्लनतामा रौतहटका वन तस्कर सक्रिय भएको डिभिजन वन कार्यालय बाराले जनाएको छ।

‘बाराको काठ तस्कर गर्ने मुख्य नाइके रौतहटका हुन्, यिनीहरूले केही साझेदारी र टाँगिया वस्ती आसपासको वनलाई आफ्नो केन्द्र बनाएका छन्’ डिभिजन वन कार्यालय बाराका प्रमुख वन अधिकृत मञ्जुर अहमद्ले भने, ‘केही स्थानीयले वन तस्करलाई सूचना दिने र तस्करीका काठ आफ्नो घर, गोठमा लुकाएर राख्‍ने अनि रातारात रौतहटतर्फ 'सप्लाई' गर्ने गरेको पनि भेटिएको छ।’

डिभिजन वन कार्यालय बाराले सोमबार मात्रै टाँगिया वस्ती क्षेत्रका स्थानीयको घर र गोठमा लुकाइछिपाइ राखेको अवस्थामा ठूलो परिणाममा काठ बरामद गरेको छ। वन रक्षक, सशस्त्र प्रहरी बल र वन कर्मचारीको टोलीले टाँगिया वस्तीका घर र गोठमा लुकाइ राखेको अवस्थामा २५ वटा ठूला कडी, ३३ क्यिुफिट काठ र ६ वटा ठूला गोलाई सोमबार बरामत गरेको हो।

काठ लुकाई राखेको घरमूलीको भने परिचय खुल्न नसकेको सशस्त्रले जनाएको छ। ‘काठ तस्करका नाइकेलाई सूचना दिने र सहयोग गर्ने सबै टाँगिया वस्तीका स्थानीय नै हुन्’ सशस्त्र प्रहरी बल, प्रहरी नायब उपरीक्षक (डिएसपी) मनहरी कुइँकेलले भने, ‘स्थानीयको सहयोगबिना काठ तस्करी हुनै सक्दैन्, हामीले घरभित्र लुकाएको काठका गोलाइ बरामद गर्दा त्यो घर कसको हो भन्नेसम्मको सूचना दिँदैनन् स्थानीयले।’

टाँगिया वस्तीमा मात्रै वनको झण्डै सात सय हेक्टर जमिन स्थानीयले भोगचलन गरिरहेका छन्। वनको बीचमा वस्ती रहेको छ। तस्करहरूको पनि आउजाउ बाक्लै हुने गरेको यसक्षेत्रका स्थानीय संग्लनता भएकोले अधिकांश सूचना बाहिर नआउने गरेको सुरक्षाकर्मीले जनाएका छन्। ‘वस्ती जंगलको बीचमा छ टेलिफोनको सुविधा छैन्, यसले गर्दा पनि तस्कर पक्राउ गर्न हामीलाई समस्या छ’ डिएसपी कुइँकेलले भने।

टाँगिया वस्तीको अधिकांश घर, गोठ तस्करहरूको काठ लुकाउने थलो बनेको भन्दै डिभिजन वन कार्यालयले केही दिनअघि सो क्षेत्रमा छापा मारेर केही काठमिलसमेत बन्द गराएको छ। ‘त्यहाँका घरभित्रबाट काठ बरामद हुन्छ। तर घरमूली को हो? भनेर छिमेकीले पनि बताउँदैनन्’ वन अधिकृत मञ्जुरले भने।

वन कार्यालयको गरेको एक अध्ययनले काठ तस्करहरूले बारा र रौतहटका सीमाको वन क्षेत्रका स्थानीयबासी तथा मजदुरहरूलाई जासुसको र काठ चिरानको लागि प्रयोग गर्ने गरेको भेटिएको थियो।

‘वन तस्करको नाइके रौतहतको हो। तर, मजदुरहरू बारा, रौतहट जताको स्थानीयलाई पनि प्रयोग गरेको भेटियो’ वन अधिकृत मञ्जुरले भने ‘उनीहरूले काठ चिरान मजदुरहरूलाई दोब्वर/तेब्बर पारिश्रमिक, रक्सी र मासु खुवाएर गोलाई चिराउने र कडी बनाएर सप्लाई गर्ने गरेका छन्।’

उनका अनुसार बाराको  तामागढी,  हलखोरिया  मधुवन साझेदारी  र राष्ट्रिय वनको टाँगिया वस्ती  क्षेत्रबाट सबैभन्दा धेरै काठ तस्करी हुने गरेको छ।

डिभिजन वन कार्यालय रौतहटले गत आर्थिक वर्षमा ३० जना काठ तस्करलाई पक्राउ गर्‍यो। तीमध्ये अधिकांश बाराबाट काठ तस्कर गरेर रौतहटतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका थिए।

पक्राउ परेका ३० जनामध्ये २३ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। चालु आवको पाँच महिनामा थप २० जना पक्राउ परे। चाल आवमा पक्राउ परेका २० जनामध्ये १३ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ भने सातजनाविरुद्ध डिभिजन वन कार्यालयले अनुसन्धान गरिरहेको छ।

‘हामीले सुरक्षाकर्मीसहित बारा र रौतहटको दुइटा छुट्टाछुट्टै टोली बनाएर रातभरि गस्ती खटाएका छौँ’ डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत विनोद सिहंले भने, ‘जावाइन्ट अपरेशनले गर्दा तस्करी अब विस्तारै शून्यमा पुग्दैछ, तस्करहरू पनि अलि हच्किएका छन्।’

रौतहटका वन अधिकृत सिंहले वन तस्करका जासुसहरू पथलैया-निजगढ  सडकखण्ड र निजगढको  बजार  बसेर  वनका कर्मचारीहरू कता गएका छन् भनेर सूचना दिने र सोही आधारमा तस्करहरू परिचालन हुने प्रवृत्ति रहेको बताए। बारामा ३२ हजार हेक्टर वन क्षेत्र रहेको छ जसमा १० हजार हेक्टर सामुदायिक, ८ हजार हेक्टर साझेदारी र १४ हजार हेक्टर राष्ट्रिय वन क्षेत्र रहेको छ। 

‘जंगल यताको भयो तर तस्कर यहाँबाट काठ लिएर निस्कने बित्तिकै रौतहट पुग्छन्, बाराको वन रौतहटसँग जोडिएको छ,  दुई जिल्लाको धन्सार खोला, विजयपुर सीमा क्षेत्रमा तस्करहरूको लुक्ने अखडा पनि हो’ बाराका वन अधिकृत मञ्जुरले भने।

बारा-रौतहटमा तस्करी शून्यमा झार्ने अभियान

दुई जिल्ला बीचको तस्करहरूको संजाल तोड्न बारा र रौतहटका वन रक्षक, वन सुरक्षाकर्मी र वनका कर्मचारीले अभियान चलाएका छन्।

‘पछिल्लो समय हामीले दुवैतिरको टोली मिलेर प्रत्येक रात 'जोवाइन्ट अपरेशन'मा गरेर तस्करहरूको संजाल केही हदसम्म तोड्न सफल पनि भएका छौँ’ मञ्जुरले भने ‘संस्थागत रूपमा हुने चोरीलाई हामीले धेरै नियन्त्रण गरेका छौँ। तर, अहिले हाम्रो मुख्य समस्या साइकल, मोटरसाइकल र टाउकोमा  बोकेर  ल्याइने  गोलाई तस्करी हो।’ 

बाराको हलखोरिया, जैतापुर, काटँगाउ, मधुवन, बोधवन र कोहल्वीको सपही क्षेत्रका स्थानीयले टाउमा बोकेर गोलाई लैजाने प्रवृत्ति धेरै रहेको वन कार्यालय बाराले जनाएको छ।

काठ तस्करीमा  साना जिपको प्रयोग

डिभिजन वन कार्यालय बाराले विगतमा काठ तस्करीमा ठूला  ट्रकहरूको प्रयोग हुने गरेकोमा पछिल्लो समय साना जिपको प्रयोग बढ्दै गएको जनाएको छ। ‘पहिला तस्करीमा  ठूला ट्रकहरू प्रयोग हुन्थ्यो, अहिले साना जिपहरूको प्रयोग बढेको छ’ बाराका डिभिजन वन अधिकृत मञ्जुरले भने, ‘त्यसलाई पनि हामीले धेरै नियन्त्रण गरिसकेका छौँ।’ हाल वन कार्यालयले काठ तस्करीमा प्रयोग गरिएका तीनवटा ओटा, १२ चक्के ट्रक नियन्त्रणमा छ।

‘पहिला वन कर्मचारीको मिलेमतोमा ठूला ट्रकमा तस्करी हुन्थ्यो  अहिले त्यो प्रचलन ठ्याकै रोकिएको छ। तर, अहिले साना जिपहरूमा लुकाएर लैजाने प्रवृत्ति छ’ वन अधिकृत मञ्जुरले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.