|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले पुलिस क्लबलाई बराबरीमा रोकेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कप्तान सन्तोष साहुखलको उत्कृष्ठ प्रदर्शनसँगै च्यासलले पुलिसलाई २-२ गोलको बरावरीमा रोकेको हो। 

सन्तोषले आफ्नो करियरको शतकिय गोल पुरा गर्नुका साथै टिमलाई बरावरीको नतिजा दिलाएका हुन्। पुलिसविरुद्धको खेलको १८ औं मिनेटमा व्यक्तिगत गोलको सतक पूरा गरेका उनले टिमका लागि दोस्रो गोल ४९ औं मिनेटमा गरे। 

आजको खेलमा म्यान अफ दी म्याच घोषित सन्तोष ए डिभिजन लिगमा एक सयौं गोल गर्ने पहिलो खेलाडी बनेका छन्। च्यासलसँगको प्रतिस्पर्धा सुरु भएको पाँचौ मिनेटमै निरकुमार राईको गोलबाट सुरुवाती अग्रता लिएको पुलिस दोस्रो हाफमा खासै चम्कन सकेन। 

पुलिसका लागि सुमन लामाले ४० औं मिनेटमा दोस्रो गोल गरे। दुवै टोलीले बरावरीसँगै एक-एक अंक बांडेका छन्। योसँगै पुलिस पाँच खेलबाट ८ अंक बनाउँदै तालिकाको छैठौं स्थानमा उक्लिएको छ भने समान खेल खेलेको च्यासल एक खेलमा जित, दुई बरावरी गर्दै पाँच अंकसहित नवौं स्थानमा छ। 

आजै उपाधि दावेदार थ्रीस्टार क्लव ब्रिगेड ब्वाईजलाई ३-१ को गोलअन्तरले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। थ्रीस्टार ब्रिगेडमाथि खेलको अन्तिम समयसम्म हावी भयो। 

खेल सुरु भएको १५ मिनेटमै सुशान्त श्रेष्ठले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। ४१ औं मिनेटमा म्यान अफ दी म्याच अनन्त तामाङले अर्को गोल थपेपछि थ्रीस्टारले पहिलो हाफमै २-० को अग्रता बनायो। 

दोस्रो हाफमा पनि उसले गोल थप्न धेरै समय लगाएन। ५८ औं मिनेटमै विदेशी खेलाडी वासी हजमतले टिमका लागि तेस्रो गोल गरे। ब्रिगेडका रोशन रानामगरले ९० औं मिनेटमा सान्त्वना गोल फर्काए। 

तुलनात्मक रुपमा कमजोर ब्रिगेड ब्याइज दोस्रो हाफको ६६ औं मिनेटमा दिपेनराज सिंह रातो कार्ड खाँदै मैदानबाट बाहिरीएपछि १० खेलाडीमा सीमित भएको थियो। 

थ्रीस्टारका अशोक खवासलाई लडाएपछि दीपकले रातो कार्ड खाएका थिए। आजको जितसँगै थ्रिस्टारले पाँच खेलबाट १० अंक बनाएको छ। थ्रीस्टारले अहिलेसम्म ३ खेल जित्दा एक खेलमा बरावरी गरेको छ भने एक खेलमा हार बेहोरेको छ। समान खेल खेलेको ब्रिगेड ६ अंक सहित सातौं स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.