भीम रावल र रामकुमारी झाँक्री पनि थुनिन्छन्

|

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्‍य गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई श्री ६ बडामहारानी भएको आरोप लगाएका छन्।

सूचना प्रविधि विधेयकको विरोधमा बिहीबार माइतीघर मण्डलामा नेपाल विद्यार्थी संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिलगायत केही नेताहरूलाई पुरानै राजामहाराजाको शैलीमा नागरिकको अधिकार खोस्न लागेको आरोप लगाएका हुन्।  

‘श्री ६ बडामहारानी विद्या भण्डारीकी जय, श्री ५ महाराज धिराज केपी ओलीकी जय, श्री ३ महाराजधिराज प्रचण्डकी जय भन्‍ने मान्छे बाँच्यो, बाँकी मान्छे गयो,’ थापाले भने, ‘अहिलेको सूचना प्रविधि विधेयकले गर्न खोजेको यही हो। सरकार आलोचना सहन नसक्ने काँतर छ।’ 

उनले नागरिकलाई तर्साउन सरकारले सूचना प्रविधि विधेयक ल्याएको आरोप पनि लगाए। ‘नागरिकले नेकपालाई बहुमत दिएको नागरिकलाई बलियो बनाउन हैन?’ उनले सरकारका प्रवत्ता गोकुल बाँस्कोटालाई प्रश्‍न गरे। 

त्यस्तै, उनले सूचना प्रविधिको विधेयकको विरोध गरिरहेका नेकपाका नेता भीम रावल र रामकुमारी झाँक्री पनि सरकारको निसानामा रहेको बताए। ‘हामीले हाम्लाई पनि आलोचना गर हामी सहन सक्छौँ सच्चिन्छौँ भनेका छौँ,’ उनले भने, ‘यो विधेयक बन्यो भने हामी मात्रै होइन भीम रावल, रामकुमारी झाँक्री पनि थुनिन्छन्।’  

सरकारले संसदमा ल्याएको विधेयक भनेको जनताको लागि नभएको उनको टिप्पणी छ। थापाले सदनलाई सरकारले पहिलेदेखि नै थुरथुर बनाएर राखेको आरोप पनि लगाए। ‘सरकारले सदन त पहिलेदेखि थुरुथुरु बनाएको छ।

संसदको सभामुख प्रधानमन्त्रीको छाया बनेर लामो समय बस्नु भो,’ उनले भने, ‘सभामुख छान्ने विषय अब आउने तिथिमितिमा पनि हुनेवाला छैन। पार्टीको विभागको प्रमुख छान्ने विषय जस्तो सभामुखलाई बनाइरहेका छन्।’ 

त्यस्तै, उनले अदालतलाई पनि थुरथुर बनाएर तर्साइएको आरोप लगाए। ‘अख्तियारको नंग्रा, हात दाँत सबै निकाल्न खोजिएको छ। मानव अधिकार आयोगलाई पंगु बनाइएको छ,’ उनले थपे, ‘यो सबै कुरा गरेर अधिकार जम्मा एउटा प्रधानमन्त्रीमा लिएर गएर नागरिकको स्वतन्त्रताको हक कुण्ठित पार्न खोजिएको छ।’

विशेष सेवा विधेयक, प्रेस काउन्सिलको विधेयक अरू सबै विधेयक प्रधानमन्त्रीमा ल्याउने र प्रधानमन्त्री राजा बन्ने रणनीतिअनुसार अघि बढेको उनको आरोप छ।

संसदमा सरकारको आलोचना गर्नेहरू थोरै रहेको भन्दै उनले सडकबाट जनताले दबाब दिन अनुरोध गरे। ‘संसदमा हामी थोरै छौँ। संसदीय व्यवस्था टाउको गनेरै चल्नेहो। हामीले विरोध गरिरहँदा पनि संसदबाट उसले यी सबै विधेयकहरू पारित गर्न सक्दछ,’ उनले भने, ‘किनकि ऊसँग संख्याको तागत छ। हामी थोरै भए पनि लड्छौँ। हाम्रो संख्यालाई लागत सडकबाट चाहिएको छ। सडकको आवाजले संसदमा केपी ओलीलाई घुँडा टेकाउनुपर्छ।’ 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.