पैदलयात्री भन्छन् : ज्यान बचाउनै मुस्किल

|

सुर्खेत : ‘साधन छैन, पैदल नै हिँड्छु, एकपटक वीरेन्द्रचोकमा बल्लतल्ल ठूलो दुर्घटनाबाट बाँचे, स्पिडमा गाडी चल्छन्। अहिले जेब्राक्रस राखेपछि मैले त्यसैको प्रयोग गर्छु। तर, सबैलाई जानकारी भएको देखिँदैन।’

यो भनाइ कुनै सामान्य नागरिकको नभई स्थानीय सरकारका जनप्रतिनिध एक जिम्मेवार व्यक्तिको हो। उनी हुन्, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ की दलित महिला सदस्य कमला नेपाली।

'वडा बैठकमा यो विषय उनले पटकपटक उठाए पनि समस्याको हल हुन सकेको छैन, बरु बढ्दै गएको छ', उनले भनिन्, 'स्थानीय सरकारले एक्लैले मात्रै पनि सम्भव छैनन्।' विशेष गरी स्कुले विद्यार्थी यसको जोखिममा रहेको उनको भनाइ छ।

यस्तै वीरेन्द्रनगर-६ भगवती टोलकी स्थानीय पूर्णकुमारी चालिसेले हिँड्दा ठोकौला जसरी अटो चलाउने गरेको गुनासो गरिन्। ‘कहिलेकाहीँ साह्रै डर लाग्छ, आफैँ दुर्घटनामा नपरे पनि बजार क्षेत्रमा दुर्घटना भने देखिरहेकी हुन्छु’ उनी भन्छिन्, ‘बाटो क्रस गर्न मुख्य समस्या लाग्छ, बजारमा।’

यस्तो समस्या भोग्ने वडा सदस्य नेपाली र चालिसे त प्रतिनिधि पात्र मात्रै हुन्। अहिले सुर्खेतको वीरेन्द्रनगरमा उचित पार्किङको अवस्था हुन नसक्दा सडक नै पार्किङस्थलका रूपमा परिणत भइरहेका छन्।

कर्णाली प्रदेशको राजधानी बनिसकेपछि वीरेन्द्रनगर बजार क्षेत्रमा पुग्दा नागरिकलाई कुन बेला बजारबाट छुट्कारा पाउ जस्तो लाग्न थालेको छ।

एक त सवारी साधनको घुइँचो, त्यसैमाथि अव्यवस्थित पार्किङ। साधन हुने मानिस त जेनतेन हिँडिरहेका हुन्छन्। साधन नहुने ज्येष्ठ नागरिक, महिला तथा बालबालिका तथा अपांगता भएकालाई भने पैदल यात्रा जोखिमपूर्ण बन्दै गएको छ।

त्यसमाथि स्कुले बालबालिकालाई कार्यालय समयमा हिँड्नुपर्ने भएकोले बढी जोखिम रहेको छ। कार्यालय समय र स्कुल जाने समय एउटै परेकोले बालबालिका सडक दुर्घटनाको उच्च जोखिममा रहेका छन्। स्थानीय पसलअगाडि यत्रतत्र पार्किङ गरेका सवारीसाधनबाट आजित बनेका छन्।

तीव्र गतिमा मोटरसाइकल चल्ने गरेका त छन नै साथमा ठूला सवारी साधनको पनि गति समिति देखिदैन। सवारी साधनको आवाज र हर्नले वातावरण कोलाहल पूर्ण त छँदैछ। सँगै दुर्घटनाको जोखिम पनि उत्तिकै छ।

मुख्यतः वीरेन्द्रनगरको मुख्य क्षेत्र (लाइफ लाइन) को रूपमा रहेको बुलबुलेदेखि एरिचौकसम्मको फोरलेन सडकर बजार क्षेत्रको अवस्था विकराल रहेको छ।

फोर लेन सडकमा सावरी आवागमनमा भने खासै समस्या छैन। तर, सडक वरपर पार्किङ गरी राखिएका साना तथा ठूला सवारी साधनले भने सडक हो वा पार्किङस्थल छुट्याउन गाह्रो भएको छ। बेला बेला ट्राफिक प्रहरीले चालकलाई हप्काइरहेको दृष्य त सामान्य नै हुन थालेका छन्।

शहरमा पार्किङको पैसा उठाउने र पार्किङको व्यवस्था गरेको हुन्छ तर वीरेन्दद्रनगर नगरपालिकाले नत पार्किङ गर्ने ठाउँको व्यवस्थापन नै गरेको छ नत पार्किङलाई आयश्रोत बनाउनेबारे नै केही सोचेको देखिन्छ।

वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले पनि आफू गाडी चढ्ने भए पनि समस्या हुने गरेको बताइन्। ‘समयमा भनेको कार्यक्रममा पुग्न सकिदैन’ उनी भन्छिन्, ‘पार्किङ व्यवस्थापन गर्ने जिम्मेवारी भए पनि नगरपालिका एक्लैले यो सबै काम गर्न सक्दैन। हामीसँग पर्याप्त श्रोत नहुँदा व्यवस्थापनमा चुनौती थपिएको छ।’

यसका लागि आम नागरिक पनि सचेत बन्न आवश्यक रहेको उपप्रमुख ढकालको बुझाइ छ। ‘पहिलो कुरा नै बजार क्षेत्रको प्लानिङ नै समस्या हो, अहिले बस्ती विकासले बजार सडक दुवै कुरूप बन्न पुगेको छ’ उनले भनिन, ‘यसको व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग हामीले छलफल चलाइरहेका छौँ। यो समस्या समाधान गर्न नगरपालिका लागिरहेको छ।’

जिल्ला ट्राफिक कार्यालयले भने नगरपालिकाले ट्राफिक व्यवस्थापनमा आवश्यकताअनुसार सहयोग नगरेको बताउँदै आएको छ। शहरको भित्री सडकमा पनि जेब्राक्रस राख्नु पर्ने र अव्यवस्थित पार्किङका सन्दर्भमा कडा कानुन बनाउनु पर्ने ट्राफिक प्रहरीको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सरोकारवाला निकायसँग सडक, र सवारी व्यवस्थापन बारे छलफल गरिने बताए। प्रजिअ अधिकारीले माघ १५ गतेभित्र सडक सप्ताह मनाइनेसमेत जानकारी गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.