|

बागलुङ : आधारभूत शिक्षाको विकास भए मात्र माध्यामिक तह र उच्च शिक्षाको गुणस्तर सुधार हुन्छ भन्ने मान्यता विकास गर्न काठेखोला गाउँपालिकाले सुधारको अभियान थालेको छ।

आधारभूत तहमा प्रारम्भिक बाल विकाससहित कक्षा ३ सम्मका बालबालिकालाई न्यानो कार्पेटमा बसेर पढ्ने व्यवस्था गरिएको छ भने बालविकास र कक्षा १ को बीचमा अर्को कक्षा संचालन गरेर बालबालिकालाई अध्ययनमा रुची बढाउने काम थालिएको हो। यसरी पढ्न बस्दा बालबालिकाको सिकाइ गुणस्तरीय बन्नुको साथै निजी विद्यालय जाने क्रम घटेको लेखानीस्थित सरस्वती प्राविकी प्रअ दुर्गा गुरुङले बताइन्। बालविकासपछि सोझै कक्षा १ मा नलगी अर्को तयारी कक्षा पनि संचालन गरिएको छ।

यहाँका सबै विद्यालय र समुदायमा संचालित बालविकास केन्द्रमा पनि गाउँपालिकाले खाजा र स्टेशनरीमा लगानी गरेको छ। बालविकासबाट कक्षामा प्रवेश गरेपछि सबै कक्षामा अंग्रेजी माध्यममा पढाइन्छ। पढाइको तरिकामा सुधार र प्रशासनिक चुस्तता थपिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए।

प्रारम्भिक बालविकासको कक्षा सामुदायिक विद्यालयमा पढाएपछि अधिकांस अभिभावकले कक्षा १ मा भर्ना नगरी निजी बिद्यालयमा पठाएपछि सुधारको काम गर्नुपरेको थापाले बताए। ‘विद्यालय आउने बानी पार्न बालकक्षामा ल्याउने, त्यसपछि निजीमा किन गए भन्ने ठूलो अध्ययनपछि सामुदायिकमै बोर्डिङ सरहको पढाई थाल्यौँ’ थापाले भने, ‘कक्षा चढेर मात्र गुणस्तर बन्दैन भन्ने बल्ल बुझ्यौँ।’ गाउँपालिका र गाउँशिक्षा समितिको एक वर्षको अध्ययनले यो सूत्र पत्ता लगाएको उनले बताए।

काठेखोला गाउँपालिकाले ११ वटा माविसहित ५६ विद्यालयमा पढाइको विधि र पूर्वाधारसमेत सुधार गरेको छ। गत वर्ष १८ लाख खर्चेर ४२ विद्यालयमा सुधारको काम थालिएको थियो। उक्त प्रयास सफल भएपछि चालु वर्षमा सबै विद्यालयमा गुणस्तरीय शिक्षा र कक्षा व्यवस्थापन थालिएको हो।

कक्षा व्यवस्थापन थालेपछि शिक्षकको नियमितता, पढाइको विधि तथा प्रशासनिक चुस्ततासमेत अनुगमन गर्न थालिएको हो। ‘गुणस्तर सुधारका दर्जनबढी सूचक बनाएर नियमित अनुगमन थालिएको छ’ गाउँशिक्षा अधिकारी रामानन्द कँडेलले भने, ‘अहिले शिक्षकको नियमितता र प्रशासनिक सुधार समेत भएको छ।’ कक्षा कोठामा शिक्षक नभेटिने, चउरमा घाम ताप्ने र बालबालिका पनि धुलो खेलेर बस्ने अवस्था पनि अनुगमनले सुधार ल्याएको उनले बताए। उनका अनुसार अब बालविकास र कक्षा ३ सम्मका बालबालिकालाई खाजाको जोहो घरबाट गर्नु पर्दैन।

गाउँपालिकाले ‘सघन अनुगमन’ भन्ने अभियानै चलाएको छ। एकै वर्षमा त्यसको प्रतिफल पनि देखिन थालेको थापाले बताए। ‘टाढा टाढाका बोर्डिङले पनि बालबालिका टिपेर लैजान थालेका थिए, अहिले अभिभावकले सामुदायिकमै राख्न थाले’ थापाले भने, ‘अभिभावक, शिक्षक र विद्यार्थीको समेत भेला राखेर वास्तविकता बुझ्न थालेका छौँ।’

शिक्षकले नपढाएको, अभिभावकले चासो नराखेको वा बिद्यालयको वातावरण मन नपरेर कक्षा छाडेको भन्ने ती भेलाबाट पत्ता पाउन सकिएको उनले बताए। चिसो र धुलो कक्षामा बस्दा बालबालिकाले सिक्न नसकेको, कक्षा कोठाको वातावरण देखेर अभिभावकले बालकक्षापछि अन्यत्र लगेको जस्ता कारण पत्ता लागिसकेको कँडेलले बताए।

‘बाल कक्षामा न्यानो कार्पेट सहितको बसाई व्यवस्थापन, प्रयोगात्मक सिकाई अभ्यास हुनेगर्छ, तर बालकक्षापनि उपल्लो कक्षामा जानै नपरे हुन्थ्यो भन्ने बाल मनोबिज्ञानले निजी जाने धेरै देखिए’ कँडेलले भने, ‘केही सुधार भैसकेको छ, अझै सुधार्ने योजना छ।’

गाउँपालिकाले आन्तरिक रूपमा दरबन्दी मिलानको काम पनि थालेको छ। विद्यार्थी संख्याको आधारमा शिक्षक अनुपात मिलाउन चालु वर्ष लागेपछि दर्जनबढी बिद्यालयमा दरबन्दी मिलान गरिएको हो। साबिकको विद्यालयबाट तलब खाएर खटाइएको विद्यालयमा पढाउनुपर्ने व्यवस्थासहित काजमा पठाएपछि गुणस्तर सुधार र अभाव भएका बिद्यालयले शिक्षक कोटा पाएका छन्।

गाउँपालिकाले स्वास्थ्यचौकीमा गर्भवती जाँच गर्ने महिलालाई एकएक क्रेट अण्डासमेत दिन थालेको छ। समयमा गर्भ जाँच गर्न नआउने, घरमै सुत्केरी हुन अझै चाहनेका लागि आर्कषण गर्न यो व्यवस्था गरिएको थापाले जानकारी दिए। अण्डा दिएपछि गर्भ परीक्षण गर्न आउने क्रम बढेको उनले बताए।

गत साउनदेखि अण्डासँगै सबै गर्भवती महिलालाई आयो नुन पनि दिन थालिएको छ। चालु वर्षका लागि गाउँपालिकाले ५ लाख लगानी गरेर सबै स्वास्थ्य संस्थामा ल्याब स्थापनाको तयारी पनि गरिसकेको छ। ल्याब संचालनमा आएपछि वडा तहमै गर्भ परीक्षणसँगै रगत, दिशा पिशाव र खकार परीक्षण गरेर अन्य रोगको उपचारसमेत गर्न सकिने व्यवस्था मिलाएको थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.