व्यापारीका टोली उद्योग मन्त्रालय धाउँदै

|

काठमाडौं : भारतले गत बुधबारबाट पाम तेललाई प्रतिबन्धको सूचीमा राखेपछि नेपालले यसबारे विशेष चासो देखाएको छ। पामको निर्यात रोकिएपछि तत्कालीन र दीर्घकालीन विकल्पको खोजीमा सरकारले कूटनीतिक पहल थाल्न लागेको हो। 

कूटनीतिक छलफल अगाडि बढाउनु पहिले नेपालले आफ्नो गृहकार्यलाई प्राथमिकता दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीले बताएका छन्। 

निजी क्षेत्रका छाता संगठनहरूले पनि यस विषयलाई विशेष प्राथमिकता दिएका छन्। निर्यातमा पाम तलेको योगदान २४ प्रतिशत रहेको छ। देशगत रुपमा भारतको योगदान ६८ प्रतिशत छ।

अन्य देशमा जम्मा ३२ प्रतिशत योगदान रहेको अवस्थामा भारतसँग निर्यात सहजीकरणमा नेपालको सक्रियता आवश्‍यक देखिएको व्यवसायीले बताएका छन्। 

पछिल्लो दुई दिनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रका प्रतिनिधीमुलक संस्था (नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, तेल उत्पादक संघ, निर्यातकर्ता संघ), नेपाल सरकारका विभिन्‍न निकाय (अर्थमन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, भन्सार विभाग, राजस्व विभाग) सँग छलफल गरिसकेको वाणिज्य मन्त्रालयसका सहसचिव नवराज ढकालले बताए।

मन्त्रालयले अहिले विवरण संकलनको काम गरेको ढकालको भनाई छ। 'कति पाइपलाइनमा होला, कति ट्रान्जिटमा होला, कतिको एलसी खुलाइएको छ,' ढकालले थाहासँग भने, 'यी सबै विवरण संकलन गरेपछि मात्रै हामी अघि बढ्छौँ।'

शुक्रबार साझ पनि उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले पुनह: व्यापारीहरूसँग छलफल गरेका छन्। उनले पाम आयल प्रतिबन्ध फुकाउने प्रतिबद्धता जनाएको सहभागी एक व्यापारीले बताएका छन्। 

पाम आयल व्यापारीसँग आफ्नै कार्यकक्षमा कुराकानी गर्दै दुगडले भारतसँग निरन्तर कुराकानी भइरहेको जनाउँदै केहीदिनमै निर्यात खुल्ने आश्वासन दिएको सहभागी एक उद्योगीले बताए । 

भारत सरकारले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि नेपाली लगानीकर्ताको अर्बौ रुपैयाँ जोखिममा पर्ने अवस्था आएको गुनासो गरेका थिए।  

नेपाली लगानीकर्ताले मलेसिया तथा इन्डोनेसियाबाट पाम आयल ल्याएर भ्यालू एड गरेर भारत निकासी गर्दै आएका थिए। पछिल्ला केही महिनायता पाम आयलको निर्यात तथा आयातमा वृद्धि भएको थियो।

त्यही अनुसार उद्योगीले पनि नयाँनयाँ उद्योग पनि लगाउँदै गएका थिए। तर, भारतले एकाएक आयातमा रोक लगाएपछि सरकारी तवरबाट यसलाई खुलाउने प्रयास भइरहेको छ।

‘राज्यमन्त्रीज्यूले यस विषयलाई गम्भीर रुपमा लिएर कुराकानी गर्नु भएको महशुस भएको छ,’ शुक्रबारको छलफमा सहभागी एक व्यापारीले भने, ‘उहाँको कुराबाट हामी विश्वस्त छौं, छिटै निर्यात खुल्छ ।’ 

उद्योग राज्यमन्त्री दुगडले छिटो भन्दा छिटो निर्यात प्रतिबन्ध फुकुवा गराउन भारतसँग कुरा गरिरहेको बताए। ‘सम्बद्ध उद्योगीहरु आउनु भएको थियो,’ उनले भने ‘नेपालमा उत्पादित पाम आयल छिनै भारत पठाउन सकिन्छ।’

नेपालले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नै तेस्रो बजारबाट करिब १० अर्ब रुपैयाँको पाम आयात गरेको छ भने ११ अर्ब १५ करोड रुपयाँ बराबरको प्रशोधित पाम तेलको निर्यात गरेको छ। चालु आर्थिक वर्षमा अधिकांश बस्तुको निर्यात घटेको अवस्थामा पामको निर्यात सरकारको प्रतिष्ठा पनि भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.