श्रमिक अगुवाबाटै पराया भूमिमा यसरी ठगिए भट्टराई

|

-अर्जुन काफ्ले

मोरङ्ग : तीन वर्षअघि मलेसिया पुग्दा मोरङ्ग उर्लाबारी २ सुन्झोडाका दिपेश भट्टराईसँग धेरै सपना थिए। बाबुआमाको पालन–पोषण र भाइबहिनीहरुका एउटै भरोसा भट्टराईका सपनामा तब बिराम लाग्यो–जब पोट्रकेलाङको कम्पनीमा म्यानपावर कम्पनीले पठाउँदा आश्वासन दिएजति तलब पाएनन्। कम्पनी छाडेका उनी अवैधानिक बने र मलेसिया प्रहरीले पक्राउ गरेपछि तीन बर्ष जेल बसे। 

प्रवासी भूमीमा नेपालीहरु अलपत्र पर्दा या दुःख पाउँदा सामान्यताः संगठित नेपालीहरुको संघसंस्था या व्यक्तिले सहयोग गर्छन्। तर भट्टराईका हकमा यस्तो भएन। विदेशमा विचल्ली भएका उनलाई उल्टै नेपाली संघसंस्थाका अगुवा भन्‍नेले नै ठगी गरे। 

मलेसियामा दुःख पाएपछि स्वदेश फर्कन क्वालालाम्पुरस्थित नेपाली दुतावास जानुअघि नै नेपाली श्रमीकका पक्षमा काम गर्छु भन्ने वेदकुमार खतिवडाले उनलाई ठगे। दुतावास जानु नपर्ने, बरु आफैंले फर्काइदिने भन्दे खतिवडाले पीडित भट्टरार्यबाट ४५ सय मलेसियन रिङ्गेट अर्थात करिब १ लाख ५० हजार नेपाली रुपैयाँ मागे। पराया भूमीमा बिल्लीबाठ परेका भट्टराईले यो समस्या नेपालस्थित परिवारलाई जानकारी गराए। 

छोरालाई स्वदेश फर्काउन भट्टराईका बुबाले पैसा जोरजाम गरे। मलेसियामा पैसा पठाउन पथरी बजार पुगे। तर रेमिट कारोबार गर्ने व्यवसायीले नेपालबाट पैसा पठाउँदा समस्या पर्ने बताएपछि मलेसियामा नै काम गर्ने एक व्यक्तिको परिवारलाई उता सोधभर्ना लिनेगरी यहीँ एक लाख रुपैयाँ रकम थमाए। 

मलेसियामा कार्यरत ती व्यक्तिले भट्टराईलाई चङ्गुलमा पारेका खतिवडालाई उतै ३ हजार रिङ्गेट बुझाए। रकम पाएपछि खतिवडाले पीडित भट्टराईलाई क्वालालाम्पुरको कोतराया बोलाए र अर्का एक जनाको जिम्मा लगाए। भट्टराईको जिम्मा लिने व्यक्ति थिए– नेपाली कांग्रेसको भातृसंस्था ट्रेड युनियन कांग्रेस मलेसियाका सभापति योगेन्द्र कोइराला। कोइरालाले अरु ४/५ जना युवालाई पनि घर फर्काउने जिम्मा लिएका थिए। ती सबै युवालाई खतिवडाले नै जिम्मा लगाएका थिए। 

कोइरालाले यी अलपत्र युवाहरुलाई केहि दिनसम्म कोतरायाका केहि रेष्टुरेन्टमा सञ्चालित लजमा राखे। तर दुर्भाग्य, रेष्टुरेन्टमा खाना खाएर त्यहिँ बसिरहेका बेला भट्टराईलगायतलाई मलेसियन अध्यागमन विभागले पक्राउ गर्‍यो। देश फर्कने आशमा ठग खतिवडालगायतलाई रकम बुझाएका नेपालीहरुले उल्टै ६ महिनासम्म मलेसियाको जेल सजाय पो भोगे।

भट्टराईलाई मलेसियन प्रहरीले पहिले काजाङ जेलमा हाल्यो र चरम यातना दियो। कुट्दा–कुट्दा प्रहरीले उनको दाँत नै भाँचिदियो। ‘मलेसियाको जेल निक्कै कष्टकर थियो,’ भट्टराईले भने ‘समयमा खान त पाइएन नै, निकै कडा सजाय भोग्नुपर्‍यो।’ 

जेलमा अथाह पीडा भोग्दै गर्दा आफुलाई ठगेर फसाउने वेदकुमार खतिवडालाई भट्टराईले झल्झली सम्झिए। तर खतिवडा भने सम्पर्कमै आएनन्। जेल सजायको अवधि सकिएपछि भट्टराईलाई वुकित जलिलको बन्दी फिर्तीगृहमा राखियो। त्यहाँबाट उनलाई नेपाल फर्कन हवाई टिकट काट्नुपर्ने भयो। तर घर फर्काइदिन्छु भनी ठगी गरेका र श्रमिकको नाममा मलेसियामा राजनीति गर्नेहरुले कुनै वास्ता गरेनन्। बरु त्यहीँ जेल परेका एकजना नेपाली भेट्न पुगेका मिलन लिम्बूले टिकट काटिदिए।

घर फर्किने तयारीमा लागेका उनी त्यहीँ बिरामी परे। तर उपचारका लागी खर्च थिएन। त्यहीँ रहेका केही नेपालीहरुले नै उपचार खर्च ब्यहोरे। आफु बिरामी भएको र घर फर्काइदिन पटक–पटक आग्रह गरेपनि दिपेशको आग्रह न रकम ठग्ने खतिवडाले सुने, न त नेपाली कांग्रेसका ट्रेड युनियन सभापति कोइरालाले नै। ‘उहाँहरुले मतलव नै गर्नुभएन, बरु उहाँहरु त बाख्रा बेचेजस्तो मान्छे बेच्न पो सक्रिय हुनुहुँदो रहेछ, खतिवडा र कोइरालाका कारण झनै दुःख पाइयो।’

जसोतसो उनी मलेसियाबाट काठमाडौं त फर्किए, तर फर्किएकै रात सडकमा सुत्‍न बाध्य भए। रातको समयमा नेपाल आइपुगेका भट्टराईसँग न पैसा थियो, न त केही खानेकुरा नै। रातभर भोकै सडकमा सुतेपछि बिहानपख आफन्तलाई फोन गरेर परिवारको सम्पर्कमा आए। मानसिक रुपमा बिछिप्त भई नेपाल फर्किएका भट्टराईको काठमाडौंमा थप उपचार गर्नुपर्‍यो।

मलेसियाको जेल सम्झिँदै भट्टराई अहिले पनि सुस्काइरहन्छन्–‘कुकुरले नपाएको दुःख पाइयो, भुइँमै सुत्नु पथ्र्याे, कार्टुन ओच्छाएर पनि सुत्न दिएनन्, बलिया र स्थानीयले अह्राएको नमान्दा बुटै बुटले शरीरमा हान्ने गर्थे, प्रहरीको दुर्व्यवहार त झन् खपिसाध्य नै थिएन, कमाउन गएको मान्छे नर्क भोगेर आएँ।’ 

को हुन् दीपेशलाई ठग्‍ने वेदकुमार खतिवडा ? 

घर फर्काइदिने भन्दै भट्टराईलाई ठग्ने वेदकुमार खतिवडा मलेसियाको नेपालीमाझ चिनिएका तथाकथित श्रमिक नेता हुन्। उनले भट्टराईसँगै अन्य नेपालीलाई पनि घर पठाइदिने भन्दै रकम असुलेर कोतयारा ल्याएका थिए।


मलेसियामा बिचल्ली परेका मोरङका दीपेश भट्टराईसँग करिब एक लाख ५० हजार रुपैयाँ ठगी गरेका वेदकुमार खतिवडा।

खतिवडालाई रकम बुझाएका सबै नेपालीको वेहाल देखेका भट्टराईले भने,‘मलेसियाको जेलपर्नु दुई महिनाअघि एक साथीसँग भेट भयो, उनै साथीले विश्वासिलो मान्छे भन्दै वेदकुमारसँग भेटाएका हुन्, तर ती साथी पनि वेदकुमारकै समूहका रहेछन् क्यार, जेल पर्दा पनि सम्झेनन्।’ 

काठमाडौंमा उपचार गरेर घर फर्किएका भट्टराई विस्तारै तङ्ग्रिँदैछन्। वेदकुमारलाई घरबाट मागेर दिएको १ लाख र मलेसियामै दिएको ५ सय रिङ्गेट फिर्ता पाउने आशा भट्टराईले राखेका छन्।  तर उनलाई नेपाल फर्काउन उनका बुबाले लिएको ऋणको ब्याज भने बढेको बढ्यै छ। मलेसिया जान लागेको ऋण चुक्ता भइनसक्दै छोरो घर फर्काउन त्यती नै पैसा लागेपछि उनका बुबा निकै तनावमा परेका छन्।

‘नेपाली अगुवाको विश्वास गर्दा धेरै दुःख पाइयो’ भट्टराईले भने ‘कसैगरी खतिवडाले लगेको पैसा फिर्ता लिन पाए साहुको ऋणबाट मुक्ती हुने आश छ उनलाई।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.