|

बागलुङ : आफ्नै बन्दुक पड्केर मृत्यु भएको भन्ने सूचना निराधार भएको भन्दै मृतकका छोरा मेघबहादुरले गाउँलेबिरुद्ध किटानी जाहेरी दिएका छन्। किटानी जाहेरी (उजुरी) का आधारमा तमानखोला गाउँपालिका १ बुंगादोभानका मृतक ओमबहादुर बुढाका छोराले स्थानीयबिरुद्ध उजुरी दिएपछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शिकारीहरू दुर्गाबहादुर घर्ती, देवबहादुर पुन, लोकबहादुर बुढा, भेषबहादुर बुढा, खड्कीन दमाई, हिमबहादुर नेपाली, प्रेमबुहादुर पुन, पृथ्वीबहादुर घर्ती र फर्सबहादुर बुढा रहेका छन्। पक्राउ पर्नेहरूको अनुसन्धान  भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए। 

बुधबार तमानखोला १ को बुंगादोभानमा बाँदरको सिकार गर्न गएका बुढामगर बन्दुकको छर्रा लागेर घाइते भएका थिए। गम्भीर घाइते बुढाको गाउँले सिकारीले नै उपचारका लागि बागलुङ ल्याएका थिए। धौलागिरी अञ्चल अस्पतालले राति ११ बजे बुढामगरलाई मृत घोषण गरेको थियो।

स्थानीय १० जना मिलेर बाँदर धपाउने भन्दै बन्दुक बोकेर जंगलतर्फ गएका थिए। बाँदर धपाउने क्रममा मृतक ओमबहादुरको पिठ्युँ, गोलीगाँठा र खुट्टामा गोली लागेको थियो। तर मृतकका छोरालाई बाबु भीरबाट लडेर घाइते भएकोले उपचारकालागि ल्याएको भन्दै स्थानीयले खबर गरेका थिए। मृतकका छोरा मेघबहादुरले बाबु भीरबाट लडेको प्रकति नदेखेपछि स्थानीयविरुद्ध उजुरी दिएका थिए। मृतकको पोष्टमार्टमपछि शव परिवारका सदस्यलाई बुझाइएको थियो।

घटनाबारे प्रहरीले आइतबार म्याद थप गरेर अनुसन्धान थालेको छ। अनुसन्धानका क्रममा  प्रहरीले विनालाइसेन्सका ४ थान भरुवा बन्दुक बरामद गरेको छ। त्यसमा ३ थान बन्दुक नपड्काएको अवस्थामा छन् भने अरु बन्दुक नपड्केकाले स्थानीयको हत्या गर्ने नियत भने नभएको प्रहरी भट्टले बताए। 

तर नेपालको फौजदारी अपराध संहिताले भने घटना घटाएको अवस्थामाबाहेक अबैध रुपमा हतियार राख्नै नपाउने व्यवस्था गरेको छ। भट्टका अनुसार यसरी अबैध अर्थात लाइसेन्स नलिइकन हतियार राख्दा ५ वर्ष जेल सजाय र ५० हजार जरिबाना लाग्नेछ। उनीहरूले घरेलु रुपमा सिकार खेल्नका लागि ती बन्दुक प्रयोग गरिरहेको समेत बताइन्छ। घटनास्थलबाट प्रहरीले छर्रा र अन्य केही गोली तथा बरुद पनि बरामद गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.