ठेकेदारसँग उपमहानगरका अधिकारीको मिलेमतोले बस्ती नै जाेखिममा

|

बारा : पसाहा खोलामा मनपर्दी अवैध उत्खनन्‌ गरेको भेटिएपछि बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फणिन्द्रमणी पोखरेलले शुक्रबार दुईवटा एकजाभेटरको चाबी नै जफत गरे। तर शनिबार बिहानैदेखि पसाहामा फेरि दोहन शुरु गरेको भेटिएको छ।

जथाभावी उत्खनन्‌ गरेको भेटिएपछि दुईवटा ओटा एक्साभेक्टरका चाबी खोसेको जानकारी बाराका प्रजिअ पोखरेलले दिएका थिए। खोला उत्खनन्‌ गरिरहेको ना १ क ४९७७ र बा १ ग ६७९० नम्बरका दुईवटा एक्जाभेक्टरका चाबी सिडिओले खोसिदिएका थिए। तर जीतपुरसिमरा उप-महानगरपालिकाले नै अनुमति दिएपछि दोहनकर्ताले फेरि दुईवटा एक्जाभेटर ल्याई खोला उत्खनन्‌ शुरु गरेका हुन्।

पसाहा खोला बाराको चुरे क्षेत्रबाट बग्छ। यो खोलाको बगरमा अहिले चरम उत्खनन भइरहेको छ। ठेकेदारले ठूला–ठूला खाल्डा बनाएर नदीजन्य सामग्री दोहन गरिरहेका छन्।

उप-महानगरपालिकाले मंसिर १६ मा मूल्य अभिवृद्धि कर बाहेक तीन करोड रुपैयाँमा ओम सप्लायर्स नामक ठेकेदार कम्पनीसँग पसाहा खोलावाट गिटी, ढुङ्गा, बालुवाजस्ता खोलाजन्य पदार्थ उत्खनन्‌, घाटगद्दी संकलन तथा विक्री सम्झौता गरेको थियो। तर ठेकदारले सम्झौता विपरीत मनोमानी ढंगले ठूला–ठूला खाल्डो बनाएर उत्खनन्‌ गरिरहेको भेटिएको छ। 


जीतपुरसिमरा उप-महानगरपालिकाले ठेकेदारसँग गरेको सम्झौता।

खोलामा जथाभाबी उत्खनन्‌ हुँदा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चार किलोमिटरको तटबन्ध समेत जोखिममा परेको छ। यसअघि पनि बाढीले ३० मिटर तटबन्ध भत्काईसकेको छ। खोलामा थप उत्खनन्‌ हुँदा आसपासका बस्ती नै जोखिममा परेका छन्। 

प्रारम्भिक वातावरणीय परिक्षण (इआईए) अनुसार खोलाको सतहबाट बढीमा तीन फीट मात्रै गहिराई बनाएर गिटीबालुवा निकाल्न मिल्छ। उत्खनन्‌का लागि तीन फिटको गहिराई बनाएमा पछि खोलाको धार मिलाएर पुर्नुपर्ने प्रावधान छ। तर ठेकेदारले नदीजन्य पदार्थ निकाल्न एक्जाभेक्टरको प्रयोग गरी नौ फीटसम्म गहिरो खाडल खनेको छ। ठेकेदारले कानूनको उल्लंघन रिरहँदा नियामक निकाय उप–महानगरपालिकाले अहिलेसम्म कुनै कदम चालेको छैन।

‘कटान नरोकियोस् भन्नका लागि खोलामा ३ फिट गहिरो खाडल बनाएर २५ देखि ५० मिटर चौडाको खाल पन्छाउन मिल्छ, तर अनुगमनका क्रममा ठेकदारले जथाभावी खाल्टो खनेको भेटियो’ जितपुरसिमरा उपमहानगरका राजस्व महाशाखाका प्रमुख रामेश्वर बञ्जाराले भने, ‘मेशिनले खोला च्यानालाईजेशन गर्नेगरी सहमति गरेको भएपनि ठेकेदारले दुवै एक्साभेक्टर मेशिन एकैपटक खोलामा उत्खनन्‌ प्रयोजनका लागि सञ्चालन गरिरहेको भेटिएको छ।’

तर उप–महानगर र ठेकेदारबीचको सम्झौतामा नदीजन्य पदार्थ संकलन गर्नका लागि एउटा मेशिन प्रयोग गर्ने र च्यानालाईजेशनका लागि दोस्रो मेसिन प्रयोग गर्ने उल्लेख छ। यस्तो सम्झौताले दोहोरो अर्थ लाग्ने भन्दै यही पौष २ गते नगरले एउटा मेशिन मात्रै प्रयोग गर्ने र त्यो मेशिन बिग्रिए वा काम गर्न नसक्ने अवस्थामा मात्र अर्को मेशिन चलाउनुपर्ने भनि ठेकदारलाई पत्र काटेको छ। 

२४ घन्टा नबित्दै चाबी फिर्ता 

खोला उत्खनन्‌मा ठेकदारले चरम लापबाही गरेको सुचना पाएपछि बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले खोला अनुगमन क्रममा एक्साभेक्टरको चाबी खोसिदिए। तर, प्रजिअले चावी खोजेको २४ घन्टा नबित्दै पुन खोलामा एक्साभेक्टर प्रयोग भयो। 

‘मैले एक्साभेक्टरको चावी खोसेर ठेकदारलाई कारवाही गर्न जिल्ला समन्वय समितिमा लेखिपठाएँ, तर उहाँहरुले चाबी फिर्ता दिनुभएछ’ प्रजिअ पोखरेलले भने ‘अहिले सबै अधिकार स्थानीयतहमा गएकोले जिल्ला प्रशासनमार्फत कारबाही प्रकृया अघि बढाउन समस्या परेको छ।’

ठेकेदारले खोला उत्खनन्‌मा चरम लापरबाही गरेको देख्दादेख्दै छानबीन नै नगरी पुनः सञ्चालन गर्न दिईएको भन्दै स्थानियबासीले गुनासो गरिरहेका छन्। 

बेखबर उपमहानगर

नगरक्षेत्रभित्र रहेका खोलाजन्य पदार्थ उत्खनन्‌मा चरम लापरबाही भएको विषयमा स्थानीयले लिखित निवेदन दिदाँसमेत जीतपुरसिमरा उपमहानगरले चासो देखाएकोे छैन।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाइले खोला अनुगमनको क्रममा ठेकदारले सम्झौता बिपरित काम गरेको भेटिएपनि उत्खनन्‌ कार्य रोक्न नसकिएको बताए। ‘हामीले वडाध्यक्षको संयोजकत्वमा गठन भएको अनुगमन समितिलाई प्रतिवेदन बुझाउन भनेका छौं,’ सेढाईले भने, ‘लापरबाही भएको देख्दादेख्दै पनि हामीले काम रोकर कारवाही प्रकिया अगाडी बढाउन सकेका छैनौं।’

जिल्ला अनुगमन समितिको चरम लापरबाहीको कारण समयमै अनुगमन र कारबाही नहुँदा बर्खायाममा खोलामा आउने बाढीले धार परिवर्तन गरेमा बाराको दक्षिणतर्फका दर्जनौं बस्तीहरु जोखिममा पर्ने देखिएको छ। 

यसअघि पसाहा खोला आसपासका स्थानीयहरुले ठेकदारले खोलाको चरम दोहन गरेको भन्दै वडा कार्यालयमा नियम उल्लंघन गर्नेलाई कारबाहीका लागि लिखित निवेदन दिएका थिए। 

जितपुरसिमरा उपमहानगर वडा नं १६ का वडाध्यक्ष केदार बजगाईंले ठेकदारले अवैधानिक ढंगले खोला उत्खनन्‌ गरिरहेको बताए। ‘अहिले गरिएको जथाभाबी उत्खनन्‌ले अन्तर्राष्ट्रिय विमानस्थलको तटबन्ध क्षेत्र सबैभन्दा बढी जोखिममा परेको छ, त्यसपछि आसपासको बस्ती’ उनले भने ‘कारबाहीका लागि अनुगमन समितिका तर्फबाट हामीले नगरपालिकालाई लेखिपठाईसकेका छौं, तर पालिकाले मौखिक स्पष्टीकरण मात्रै सोध्ने काम गर्‍यो।’

अहिले दुधौरा, बालगंगा, पसाहा, धन्सार र बकैया गरी बाराका पाँचवटा खोलामा उत्खनन भइरहेको छ। जसमध्ये दुधौरा, बालगंगा र पसाहा खोला जीतपुरसिमरा उपमहानगरअन्तर्गत पर्छ। यी तीन खोलाका लागि नगरपालिकाले छुट्टाछुट्टै वातावरणिय प्रभाव मूल्यांकन गरेर प्रतिखोला ३ करोड रुपैयाँका दरले छुट्टाछुट्टै ठेकदारलाई उत्खनन्‌ गर्न दिएको छ। 

दूईवटा एक्साभेक्टर चलाउने अनुमति लिएको छु : ठेकदार

पसाहा खोलाको उत्खनन्‌ ठेक्का लिएको ठेकदार कम्पनी ओम सप्लार्यसका सञ्चालक ओम शंकरले जितपुरसिमरा उपमहानगरवाट दुईवटा एक्साभेक्टर चलाउने अनूमति लिएको दाबी गरेका छन्। ‘मैले कुनै अनियमित काम गरेको छैन, नगरपालिकाबाट वकाइदा दुईवटा एक्जाभेटर मेशिन सञ्चालनको ईजाजत लिएको छु।’ उत्खनन्‌‌का क्रममा ठूला खाल्डाखुल्डी बनाएको विषय जिज्ञासा राख्दा ठेकदार ओमशंकरले खोलामा ३/४ फीट गहिराईसम्म माटो भएकोले त्यसलाइ हटाउँदा खाडल बनेको तर्क गरे। 

साथै, वातावरणीय प्रभाव मूल्यांकनमै खोलामा प्रयोग हुने एक्जाभेटरको संख्या किटान नभएकाले आफ्नो आवश्यकताअनुसार मेसिन प्रयोग गरिएको उनले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.